विहेपछि पनि जागिर खाने सपना त्यागिएन

निर्मला गौली
लेखाअधिकृत, मुख्य न्यायाधिवक्ताको कार्यालय
जीन्दगी प्यास हो । यसबाट सन्तुष्टि कति लिने, त्यो आफैमा भरपर्छ । सुख, दुःख त सबैले भोग्नैपर्छ । फरक यतिमात्रै हो, लढेपछि ढल्ने वा पुनः दौडने प्रयास गर्ने । यस्तै उतारचडाव व्यहोर्दै जीवनलाई सही गोरेटोमा दोहोरयाउने मध्ये एक हुन् निर्मला गौली । बुवा प्रेमप्रसाद र आमा हरिदेवी गौलीबाट २०३८ साल चैत्र १२ गते उनको जन्म भएको हो । वीरेन्द्रनगर–१४ गढीमा जन्मिए पनि जीवनको जगभने वीरेन्द्रनगरको इत्रामबाट सुरु भयो । जीवनको चार दशक लामो यात्रा उनको लागि संघर्षशिल तर सफलतापूर्ण छ । हाल कर्णाली प्रदेश अन्तर्गत मुख्यन्यायाधिवक्ताको कार्यालयमा लेखाअधिकृत पदमा कार्यरत उनै निर्मलाले आफ्नौ जीवन भोगाइ र निजामति क्षेत्रको अनुभव हामीसँग व्यक्त गरेकी छन् । प्रस्तुत छ कुराकानीको शारांस :-

सानैछँदा जागिर खाने सपना
बालापन गढीमा वित्यो । विशेषगरी हजुरआमाको छत्रछहारीमा हुर्किएँ । हजुरआमाबाट आमाबुवा जतिकै माया पाएँ । उसो त म घरकी एक्ली छोरी हुँ । दाजु र भाईको माया पनि कमी छैन । बुवाआमाको माया हुने नै भयो । बालापनमा मात्रै होइन, जीवनका हरेक मोडमा बाआमा र दाजुभाइको साथ र मायाले यहाँसम्म आइपुगेकी छु । उबेला छोरीहरुलाई पढाइमा खासै महत्व दिने चलन थिएन । म स्कूल जानुमा स्व. डिल्लीप्रसाद पौडेलको विशेष प्रेरणा छ । उहाँले औधि माया गर्नुहुन्थ्यो । छोरीलाई जागिर खुवाउने त बाआमाको सपना थियो । बढ्दै जाँदा मैले सरकारी जागिर खाने सपना बोकेँ ।

विहानै मेलामात गरेर स्कूल जानुपथ्र्याे । विस २०४४ सालदेखि श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामबाट कखरा पढ्न सुरु गरेकी हुँ । कक्षा १ र २ को अध्ययनपछि कक्षा ३ र ४ को पढाई पुरा गर्न मेहलपानी स्कूल गढीमा गएँ । त्यसपछि पुनः वीरेन्द्रनगरमै फर्किएँ । बजारको माविबाट कक्षा ५ र ६ पुरा भएपछि पुनः इत्राम स्कूलमै फर्किएँ । कक्षा ७ देखि एसएलसीसम्म पढाई इत्राम स्कूलबाटनै पुरा भयो । २०५४ सालको एसएलसीपछि तत्कालिन वीरेन्द्रनगर बहुमुखि क्याम्पसबाट उच्च शिक्षालाई अघि बढाएँ । ब्याचलर र मास्टर्सको अध्ययन भने सुर्खेत क्याम्पस शिक्षाबाट पुरा गरेको छु । सानैदेखि मेरो पढाइ मध्यमखालको थियो । तर कहिले पनि असफल हुनु परेन । मेहनत गरे हरेक विषय सहज हुन्छ भन्ने मान्यता राख्थेँ ।

करारले स्थायी हुने बाटो खुल्यो
हरेक सपनामध्ये सरकारी जागिर खाने मेरो पहिलो सपना थियो । त्यो सपना पुरा गर्न धेरै संघर्ष र त्याग गरेकी छु । एसएलसी दिएपछि विहे भयो । विहेपछि पनि जागिर खाने सपना त्यागिन । म घरकी बुहारीमै सिमित हुन सकिन । मेरा लागि पढाइ र जागिर महत्वपूर्ण बन्यो ।  बिहेपछि उच्च शिक्षालाई रोक्न सकिन । बरु थप संघर्ष गरेँ । उबेलादेखि नै छोरीहरु आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने लाग्थ्यो र लाग्छ । बरु अस्थायी जागिर गरेँ । बुवाआमाको साथ र सहयोग थियो । बुवा आफूले धेरै पढ्न नपाएका कारण छोराछोरीलाई धेरै पढाउनुपर्छ भन्ने सोच्नु हुन्थ्यो ।  समाजले के भन्ला भन्नेतर्फ सोचिन । विहान ३ बजे नै उठेर अध्ययन गर्थे । बालबच्चा हुर्काउँदै पढाईलाई निरन्तरता दिएँ । कोष तथा लेखा नियन्त्रण कार्यालयमा अस्थायी जागिर गर्दा धेरै संघर्ष गर्नुपरयो ।

छोराको स्याहारसुहार, विहान क्याम्पसको पढाई, आयोगको तयारी र जागिर भ्याउँदा रतिभर पुर्सद हुन्थेन । तर हिग्मत हारिन । जसोतसो पढाइलाई निरन्तरता दिएँ । फलस्वरुप यो स्थानमा आइपुगेकी छु ।  मैले २०६६ साल साउन २० गतेबाट निजामति सेवामा प्रवेश गरेकी हुँ । तत्कालिन जिल्ला विकास समिति अछाममा मेरो पहिलो पोष्टिङ भयो । लेखापालको रुपमा २०६७ पुसबाट जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा फर्किएँ । बिचमा विशेष अदालत काठमाडौंमा पुगेँ । हाल मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतमा लेखा अधिकृतको रुपमा कार्यरत छु ।

छोरालाई छोडेर जागिरमा जाँदा…
कुनै पनि पेशा व्यवसायमा आफ्नो तिता मिठा अनुभवहरु हुन्छन् । जुन पेशामा पनि संघर्ष हुन्छ नै । मेरा पनि पहिलो पटक जागिरमा जाँदा त्यस्तै तिता क्षणहरु छन् । अछामको बसाई सुखद थिएन । गाविस सचिवको रुपमा काम गर्दा नरमाइला घटनाहरु छन् । अछामको पुरानो सदरमुकाम बयलपाटा पुग्न घण्टौं लाथ्यो । त्योभन्दा अझै दुर्गमका गाउँबस्तीमा जाँदाका दुःख झनै पीडादायक थिए । बर्खामा झनै दुःख हुन्थ्यो । त्योभन्दा ठूलो दुःख सन्तानलाई दिनुपर्ने माया दिन सकिन ।

छोरा सानै भएका कारण साथमा लिन पनि सकिन । छोराको रेखदेखको सम्पूर्ण जिम्मेवारी बुवाआमाले गर्नुभयो । म जागिरीका लागि अछाम दौडिएँ । उसै त महिलाहरुलाई निजामति क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्न सहज छैन । हरेक महिला कर्मचारीले ९८ दिनको सन्तानलाई छोडेर डिउटी निभाउनुपर्छ । सबैको हकमा यो लागु नहोला । तर अधिकांश दिदीबहिनीले सन्तान हुर्काउदै आफ्नो डिउटी निभाउनुको विकल्प हुँदैन । अहिलेसम्म अधिकांस अफिसमा स्तनपान कक्ष समेत छैन । र पनि जिम्मेवारी निभाउनुपर्छ ।

हाकिमले विल पास गर्न दबाव दिन्थे
म जागिरको दौरानमा गाविस, जिविस, निर्वाचन र अदालत हुँदै अहिले न्यायाधिवक्ताको कार्यालयमा छु । लेखाफाँट सम्हालेको धेरै भइसक्यो । हिजोआज होइन, पहिले त प्रक्रिया नपुगेका बिलहरु पनि पास गर्न दवाव आउँथ्यो । कतिपय कार्यालयका हाकिमले नै मिलाएर काम गर भन्थे । तर अपुरा र प्रक्रिया नपुगेका बिलहरु कहिले पास गरिन र गर्दिन पनि । किनकी विशेष अदालतमा हुँदा भ्रष्टाचारका धेरै केसहरु देखेको छु । कतिपय कर्मचारीहरु साना–साना विषयमा चुक्दा अदालतसम्म पुगेका घटनाहरु हुन्थेँ । स्वभावले पनि मलाई त्यस्तो भ्रष्टाचार मानसिकता कहिलै पलाएन । हुन त लेखा फाँटमा सधैं प्लस, माइनसको काम गरिरहनु पर्छ । ठूला–ठूला कार्यालयहरुमा त फुर्सद नै पाइदैन । मलाइ पनि सधै विजी भइरहदा कहिले कसो प्रशासनकै जागिर खान पाए हुन्थ्यो जस्तो लाथ्यो । तर अहिले बानी परिसकेको छु । हिजोआज त धेरै व्यवस्थ हुनु परेको छैन ।

त्यो वियोगान्त क्षण…
दुःख सोच्ने हो भने जीवन दुःखकै पहाड हो । पहाडमा कतिसम्म पार गर्ने त्यो आफैमा निर्भर रहन्छ । पहाडको यात्रालाई रमाइलो सोचेर रमाउँदै जीवन विताउने हो भने पनि जीन्दगीमा छुट्टै आनन्द छ । किनकी मानिस संघर्ष गर्न नै धर्तिमा पाइला टेकेको हुन्छ । जो संघर्षदेखि डराउँदैन, उसले सधै जीवनलाई रमाएर विताउँछ । म पनि घरमा एक्ली छोरी हुँ । एउटा छोरी भएरै होला, दाजु, भाई र बुवाआमाले सानैदेखि धेरै माया गर्नुहुन्छ । मलाई अहिले पनि याद छ, परिवारमा सबैभन्दा धेरै नयाँ कपडा लगाउन पाउने म नै हुँ । स्कुल, कलेजमा पनि धेरै साथीहरु बनाउन रुचाउँथे । समय परिस्थितिले ति साथीहरुसँग भेटघाट पातलो बन्दै गएको छ । तर जीवन सधै एकनासको कहाँ हुदो रहेछ र ? विहे भएको छोटो समयमै जीवनसाथी गुमाउनु परयो ।

तर जीवनदेखि हार खाइँन । जुनसुकै परिस्थितिमा जन्मदिने आमावुवा र दाजुभाई सुख, दुखका सहयात्री बने । उहाँहरुकै छत्रछहारीमा आफ्नो गन्तव्यमा दौडिरहेको छु । अन्त्यमा छोरी (महिला) हरुलाई मेरो एउटै सुझाव, यदी तपाइँ सही काम गर्द हुनुहुन्छ भने समस्यादेखि नभाग्नोस् । छोरीहरुका आफ्नै बाध्यताहरु छन् । तर संघर्ष गर्दै जानुभयो भने सफलताले तपाइलाइँ खोज्दैखोज्दै आउँछ । (२०७७ जेष्ठ १८ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा साताको राष्ट्रसेवक स्तम्भमा प्रकाशित)

विहेपछि पनि जागिर खाने सपना त्यागिएन

डोल्पाली युवाले दिए क्वारेन्टाइनका लागि निशुल्क घर

पदीय दुरुपयोग गर्दै वडाध्यक्षको दादागिरी

Leave a comment

Your email address will not be published. Required fields are marked *