दोस्रो बजारमा सूचीकृत १६ कम्पनीको लाभांश घोषणा, बैंकदेखि हाइड्रोपावरसम्म लाभांश वितरण गर्ने निर्णय

काठमाडौं ,१३ असोज।
दोस्रो बजारमा सूचीकृत १६ कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेका छन्।
माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सानिमा बैंक लगायतका वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेका छन्।
कम्पनी ऐन २०६३ अनुसार ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने र आर्थिक ऐन अनुसार ३ महिनाभित्र लेखापरीक्षण प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था छ।
काठमाडौं । दोस्रो बजारमा सूचीकृत १६ कम्पनीले लाभांश घोषणा गरेका छन् । दसैँ बिदा सुरु हुनुअघि आइतबारसम्म यी कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।
यसरी लाभांश घोषणा गर्ने कम्पनीहरूमा चारवटा वाणिज्य बैंक छन् । त्यस्तै, दुईवटा विकास बैंक, एउटा फाइनान्स कम्पनी, चारवटा हाइड्रोपावर कम्पनी छन् भने अरू विभिन्न समूहका कम्पनीहरू छन् ।
वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले लाभांशको निर्णय गरेका छन् । त्यसमध्ये माछापुच्छ्रेले ४ प्रतिशत बोनस सेयरसहित ८ प्रतिशत दिएको छ ।
त्यस्तै, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयरसहित २० प्रतिशत, सानिमा बैंकले ७.३६८५ प्रतिशत नगद लाभांश, सिटिजन्स बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने घोषणा गरेको छ । विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कामना सेवा विकास बैंकले भने १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
फाइनान्स कम्पनीतर्फ एकमात्र लाभांश घोषणा गरेको मञ्जुश्री फाइनान्सले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, हाइड्रोपावरतर्फ लाभांश घोषणा गर्ने कम्पनीहरूमा अरुण भ्याली, युनिभर्सल पावर, मिड सोलु र सिक्लेस हाइड्रोपावर प्रमुख रहेका छन् । हाइड्रोपावरतर्फ अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर र यसमा लाग्ने करबापत नगद लाभांशको प्रस्ताव गरेको छ । युनिभर्सल पावरले ९ प्रतिशत, मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस र सिक्लेस हाइड्रोपावरले १५ प्रतिशत बोनस र नगद लाभांश वितरण निर्णय गरेको छ ।
त्यसबाहेक नेपाल इन्फास्ट्रक्चर बैंकले ६.३१५८ प्रतिशत नगद, हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस सेयर र करबापतको नगद लाभांश, युनिलिभर नेपालले १८.४२ प्रतिशत नगद लाभांश, नेपाल ल्युब आयलले २० प्रतिशत बोनस सेयरसहित यसमा लाग्ने नगद लाभांश तथा गुराँस लघुवित्त वित्तीय संस्थाले १४।२५ प्रतिशत बोनस सेयरसहित कुल १५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।






