भिसा रोकिँदा विदेशी मुलुकमा रहेका नेपाली समस्यामा, समाधानका लागि परराष्ट्र मन्त्रालय सक्रिय

काठमाडौं ,१३ असोज ।
पछिल्लो समय विभिन्न श्रम गन्तव्य मुलुकहरूले नेपालीलाई भिसा नवीकरण वा जारी गर्ने प्रक्रिया रोक्दा विदेशमा कार्यरत नेपालीहरू समस्यामा पर्न थालेका छन्। संयुक्त अरब इमिरेट्स, मलेसिया, कतारलगायत मुलुकमा कामदारको भिसा रोकिँदा हजारौँ नेपाली मजदुर असहज अवस्थामा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यससँगै गैरनेपाली नागरिकहरूले अवैध नेपाली राहदानीमार्फत विदेश जाने, कामदारले गएका मुलुकमा विरोध प्रदर्शन गर्ने, युद्ध तथा द्वन्द्वका कारण उद्धारमा कठिनाइ हुने, नियोगमा बजेट कमी हुँदा सेवा प्रभावित हुनेजस्ता समस्याले थप चुनौती सिर्जना गरेको छ।
यी विषयको समाधानका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा हालै नौ वटा विदेशस्थित दूतावासका राजदूतसहित भर्चुअल बैठक सम्पन्न भएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार बैठकमा भिसा रोकिँदा उत्पन्न चुनौती, भिजिट भिसामा गएर रोजगारी गर्ने प्रवृत्ति, अध्यागमन नियमन, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुपर्ने उपायलगायतका विषयमा गहन छलफल भएको थियो।
सचिव राईले बैठकमा सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको मर्मअनुरूप उपलब्ध स्रोतसाधन भ्याएसम्म छिटो, मितव्ययी र प्रभावकारी ढंगले सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार श्रम आप्रवासनसम्बन्धी समस्या समाधानका लागि परराष्ट्र, गृह, श्रम मन्त्रालय र विदेशस्थित नियोगबीच अझ बलियो समन्वय आवश्यक छ।
भिसा रोकिँदा कतिपय कामदारहरूको भिसा सकिएको, कतिपय अन्तिम चरणमा रहेकाहरू रोकिएका कारण नेपाली परिवारमा समेत ठूलो असर परेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो। साथै, हालै म्यान्मारका करिब दुई सय रोहिङ्गियाले नेपाली राहदानी प्रयोग गरी साउदी अरब पुगेको घटनाबारे पनि विस्तृत छानबिन भइरहेको छ।
बैठकमा राजदूतहरूले दीर्घकालीन रणनीति बनाउन, सम्बन्धित मुलुकसँग सम्झौता तथा समझदारी गर्ने, मानव तस्करी नियन्त्रण, उद्धार तथा फिर्ती प्रक्रियालाई सहज बनाउन, आपत्कालीन उद्धार कोष र द्रुत प्रतिकार्य टोलीको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
यस्तै, भिजिट भिसामा गएर रोजगारी गर्ने प्रवृत्ति नियन्त्रण गर्न जनचेतना अभियान, तथ्याङ्क आदान–प्रदान प्रणाली र संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्नेमा पनि जोड दिइएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार दूतावासहरूले प्राथमिक बुझाइमा नेपाल मात्र नभई समग्र विश्व परिस्थितिलाई ध्यानमा राखेर श्रम गन्तव्य मुलुकहरूले भिसा रोक्ने वा थाँती राख्ने निर्णय गरेको अनुमान गरिएको छ। मन्त्रालयले कूटनीतिक माध्यमबाट निरन्तर कुराकानी गरिरहेको र समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेको छ।






