दसैं–तिहारमा जुम्लाबासीका लागि सुपथ राहत

गोल्डेन बुढा
जुम्ला,१३ असोज ।
जुम्लामा दसैं–तिहार लक्षित सुपथ मूल्य पसलको सञ्चालनले स्थानीय बासिन्दालाई आर्थिक रूपमा उल्लेखनीय राहत पुर्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाद्वारा गतभदौ २० गतेदेखि सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलबाट दैनिक ९० क्विन्टल चामल बिक्री भइरहेको छ।बढ्दो महँगीबीच सुपथ मूल्य पसल ग्रामीण तथा शहरी उपभोक्ताका लागि आशाको केन्द्र बनेको छ। सुपथ मूल्य पसलमार्फत प्रतिकेजी ५ रुपैयाँ छुटसहित बिक्री गरिँदा हजारौं परिवारले सस्तोमा गुणस्तरीय चामल पाउने मौका पाएका छन्।खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला शाखाका सूचना अधिकारी श्रीराम ठाकुरका अनुसार, “सुपथ मूल्य पसलको मुख्य उद्देश्य दसैं–तिहारको चापलाई सहज बनाउनु हो। हालसम्म ७ सय क्विन्टल चामल बिक्री भइसकेको छ र ११ सय क्विन्टलको लक्ष्य लिएको छौँ।” उनका अनुसार दैनिक उपभोग्य वस्तुहरूमा देखिएको मूल्यवृद्धिले सर्वसाधारणलाई थिचिरहेको अवस्थामा सुपथ मूल्य पसलले राहत पुर्याएको छ।
सुपथ मूल्य पसलमार्फत बिक्री भइरहेका चामलका २५ किलो बोराहरूमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ, जसअनुसार एक बोरा चामलमा उपभोक्ताले सीधै १ सय २५ रुपैयाँको छुट पाउँछन्।अरुवा मध्यम चामल १ हजार ५ सय, एफआर अरुवा मोटा १ हजार ४ सय २५ रुपैयाँ, अरुवा मध्यम चामल १ हजार ५ सय, एफआर अरुवा सोना मन्सुली १ हजार ५ सय, स्टिम जिरा मसिनो चामल २ हजार १ सय २५ रुपैयाँ र एफआर स्टिम जिरा मसिनो चामल २ हजार १ सय २५ रुपैयाँमा बिक्री हुने उल्लेख छ। चामलका प्याक २५ किलोका छन्। बजारमा सोही गुणस्तरको चामल २ हजार देखि २ हजार ५ सय सम्म पर्छ, जसले गर्दा उपभोक्ताले प्रतिबोरा औसत ३ देखि ४ सयको लाभ लिइरहेका छन्।सस्तो मूल्यमा मात्र होइन, गुणस्तरीय खाद्यान्नको सुनिश्चितता पनि सुपथ मूल्य पसलको प्रमुख विशेषता बनेको छ। चन्दननाथ नगरपालिका–८, जातिभिड गाउँकी खुमेनी थापा ले भनिन्, “बजारको चामल निकै महँगो छ।

यहाँ सस्तो पाएपछि हामीले नुन, तेल, चिनी किन्न पनि सक्ने भयौँ। सस्तो चामलले निकै राहत दिएको छ।”त्यस्तै, गुठिचौर गाउँपालिका–५, कुम्डी गाउँकी निरु दमाई ले चामलको गुणस्तरबारे प्रशंसा गर्दै भनिन्, “बजारको भन्दा कम छैन यो चामल। सफा छ, स्वादिलो छ र पाक्दा पनि राम्रो गन्हाउँछ।”तातोपानी गाउँपालिका–५, लाम्रा बासिन्दा जुनमाया डाँगी को भनाइ छ, “दसैं–तिहारको बेला यस्तो सुविधा पाउँदा हामीजस्ता ग्रामीण परिवारलाई साँच्चिकै राहत मिलेको छ। वर्षौंदेखि यस्तो सेवा पाइएन।”जुम्लाका आठै स्थानीय तहका उपभोक्ताहरू सुपथ मूल्य पसलबाट लाभ लिँदै आएका छन्।“सुपथ मूल्य पसल आगामी कार्तिक १० गते सम्म सञ्चालन हुनेछ,” ठाकुरले भने। “यो अवधिभर जुम्लामा खाद्यान्न अभाव हुने छैन भन्ने सुनिश्चितता हाम्रो हो।”उनले थपे, “दसैं, तिहार, छठ लगायत चाडपर्वमा उपभोक्तालाई सस्तो दरमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउनु सरकारको दायित्व हो। हामी त्यो दायित्व निर्वाह गर्दैछौँ।”जुम्लाको भौगोलिक विकटता, बजारमा मौजुद मूल्यवृद्धि र पहुँचको समस्या बीच सञ्चालनमा आएको सुपथ मूल्य पसल केवल सरकारी कार्यक्रम नभई ग्रामीण जनजीवनका लागि ठूलो राहतको श्रोत बनेको छ।
दसैं–तिहारको बेला जहाँ खर्च र उपभोग बढ्ने गर्छ, त्यस्तो समयमा उपलब्ध सस्तो चामल र अन्य खाद्यान्नले जुम्लाका थुप्रै चुल्होमा खुसीको उज्यालो ल्याएको छ।





