पानीको पर्खाइमा बाँकेका किसान: साउनको दोस्रो हप्ता लाग्दा रोपाइँ अधुरै

बाँके,८ साउन ।

साउन महिनाको पहिलो साता सकिँदा पनि पर्याप्त वर्षा नहुँदा बाँके जिल्लाका किसान गम्भीर चिन्तामा परेका छन्। माछा खाएर मुरी फलाउने भनाइले जनाउने रोपाइँको मुख्य समयमा पानी नपरेपछि किसान आकाश ताकेर बसेका छन्।

बाँकेको कोहलपुरका कृषक अनिल यादब भन्नुहुन्छ “आकाशमा बादल हेर्दै छौं, तर पानी परेको छैन। रोपाइँ गर्न सकेका छैनौं।” उनले खडेरीको चिन्ता झन् बढेको बताउनुभयो।

साउन भइसक्दा पनि अझैसम्म ठूलो पानी नपरेको कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले बताउनुभयो। रोपाइँका लागि सिक्टा सिँचाइ आयोजनाले केही क्षेत्रमा पानी उपलब्ध गराए पनि बोरिङ, मोटर र पम्पसेटको भरमा अहिलेसम्म ७५ प्रतिशत मात्र रोपाइँ भएको उहाँले जानकारी दिनुभयो।

पानीको अभावका कारण केही ठाउँमा खेतमै धूलो उडिरहेको छ भने कतिपय ठाउँमा रोपेका धानहरू सुकिसकेका छन्। खेतमा चिरा परेको, धान ओइलिएको देखिन थालेको किसानहरू बताउँछन्।

घिमिरेका अनुसार सिँचाइको राम्रो सुविधा भएको राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा रोपाइँ बढी भएको छ भने नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा रोपाइँ न्यून रहेको छ।

बर्षेनी बाँकेमा धान खेतीको क्षेत्रफल घट्दै गएको तथ्यांकले देखाउँछ। गत वर्ष ३४ हजार ७११ हेक्टरमा मात्र धान खेती भएको थियो, जुन अघिल्लो वर्षको ३६ हजार ५ सय हेक्टरको तुलनामा घटेको हो।

धानको प्रतिहेक्टर उत्पादन पनि घट्दो क्रममा छ। आर्थिक वर्ष २०७९/८० मा प्रतिहेक्टर ३.६५ मेट्रिक टन धान उत्पादन भएकोमा २०८०/८१ मा भने ४.२ मेट्रिक टन उत्पादन भएको थियो। पछिल्ला वर्षहरूमा समयमा वर्षा नपर्ने, वा असिनपातले पाक्दै गरेका बालीहरूमा क्षति पुर्‍याउने क्रम बढ्दो छ।

बाँकेमा अहिले ४० डिग्री सेल्सियस आसपासको तापक्रम रहेकाले चर्को गर्मीले जनजीवन मात्र होइन, खेतबारीको जीवन पनि प्रभावित पारेको छ।

२०६१/६२ सालदेखि सुरु भएको गौरवको योजना सिक्टा सिँचाइ आयोजना अझै पूर्ण रूपमा सम्पन्न नहुँदा बाँकेका किसान पानीको अभाव झेल्न बाध्य छन्। आयोजना ढिलाइ हुँदै जाँदा लागत बढ्दै गएको छ भने किसानको पर्खाइ अझै लामो भएको छ।

बाँकेका किसान अहिले वर्षाको प्रतीक्षामा रोपाइँ अधुरो राखेर चिन्तित छन्। सिक्टा सिँचाइ जस्तो ठूला आयोजना समयमै सम्पन्न नहुँदा र जलवायुको अनियमितता बढ्दै जाँदा, खाद्य सुरक्षामा समेत असर पर्ने खतरा बढ्दै गएको छ। किसानको पीडा अब योजनाको कार्यान्वयन र समयमै वर्षामाथि भर पर्न थालेको छ।

पानीको पर्खाइमा बाँकेका किसान: साउनको दोस्रो हप्ता लाग्दा रोपाइँ अधुरै

थारू संस्कृति जगेर्नाका लागि लुम्बिनी प्रदेशको पहल:

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds