नरैनापुरमा कुष्ठरोगको उच्च जोखिम, एउटै वडामा ९ कुष्ठरोगी भेटिए

बाँके,८ असार ।
बाँकेको सबैभन्दा पछाडि परेको मानिने नरैनापुर गाउँपालिका कुष्ठरोगको उच्च जोखिममा परेको देखिएको छ। हालै नरैनापुर–१ मा आयोजित छाला तथा कुष्ठरोग शिविरमा ९ जना कुष्ठरोगी र २६६ जना छालाका रोगीहरू भेटिएपछि पालिका नै जोखिममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले एउटै वडाबाट यस्तो संख्या भेटिनु गम्भीर विषय भएको बताउँदै अन्य वडाहरूमा पनि यस्ता बिरामीहरू रहेका हुनसक्ने हुँदा सम्पूर्ण पालिकाभर परीक्षण आवश्यक भएको बताउनुभयो।
कुष्ठरोग फोकल पर्सन रविन्द्रकुमार शाहले परीक्षणको नतिजाले सम्पूर्ण गाउँपालिका नै उच्च जोखिममा रहेको सङ्केत गरेको जानकारी दिनुभयो। उहाँका अनुसार, पुष्टि भएका बिरामीहरूको परिवारका सदस्यहरू तथा छरछिमेकको समेत परीक्षण गरिनेछ।
स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठले नरैनापुर सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रमा पछाडि परेको पालिका भएको हुँदा कुष्ठरोगीहरूको संख्या बढ्नु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। उहाँले सबै वडामा खोज तथा परीक्षणको दायरा बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो।
नरैनापुर–५ स्थित स्वास्थ्य चौकीका अहेब दिनेश कुमार मौर्यले चौकीमा दैनिक आउने बिरामीमध्ये धेरैजसो छाला सम्बन्धी समस्या लिएर आउने गरेको जानकारी दिँदै अवस्था सामान्य नरहेको बताउनुभयो।
स्वास्थ्यकर्मीहरूको भनाइअनुसार समयमै पहिचान र उपचार नहुँदा यो रोग समुदायमा फैलने सम्भावना उच्च रहेकोले जनचेतना र नियमित स्वास्थ्य परीक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds