बालिका शिक्षा कार्यक्रमबारे प्रधानाध्यापक, सम्पर्क शिक्षक र लेखापालसँग परिचयात्मक कार्यक्रम सम्पन्न

कपिलवस्तु,१४ जेष्ठ ।
बालिका शिक्षाको सशक्तीकरण र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न पिस नेपालको आयोजनामा र रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा, कपिलवस्तु नगरपालिका, बुद्दभुमी नगरपालिका र मायादेवी गाउँपालिकाको समन्वयमा प्रधानाध्यापक, बालिका शिक्षा कार्यक्रमका सम्पर्क शिक्षक र लेखापालसँग परिचयात्मक कार्यक्रम बुधबार सम्पन्न भएको छ।

कार्यक्रममा बालिका शिक्षा कार्यक्रम सञ्चालन भएका तीन पालिकाका १५ विद्यालयबाट सहभागी प्रधानाध्यापक, सम्पर्क शिक्षक र लेखापाल गरी ४५ जनाको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोख्रेलले बालिका शिक्षा कार्यक्रमको उद्देश्य, संरचना, गतिविधि र प्रभावकारिताबारे स्पष्ट जानकारी दिनुभयो। उहाँले कार्यक्रमअन्तर्गत प्रधानाध्यापक, सम्पर्क शिक्षक र लेखापालको भूमिकालाई पनि स्पष्ट पार्नुभयो।

पिस नेपालका कार्यक्रम प्रबन्धक योगेन्द्र बुढाले संस्थाको परिचय, उद्देश्य र हाल सञ्चालन भइरहेका साक्षरता र बालिका शिक्षा कार्यक्रमहरूबारे जानकारी दिँदै, बालबालिकालाई जीवन उपयोगी सीप, आत्मविश्वास, यौनजन्य हिंसा रोकथाम, र शैक्षिक योजना निर्माणजस्ता विषयमा सचेत बनाउने गतिविधिबारे प्रकाश पार्नुभयो।

रुम टु रिडका कार्यक्रम अधिकृत निरोज कोइरालाले आगामी दिनमा तीन पालिकामा सञ्चालन हुने कार्यक्रमका योजनाहरूबारे जानकारी गराउँदै, जीवन उपयोगी शिक्षा बालबालिकामा आत्मबल अभिवृद्धि गर्न सहायक हुने बताउनुभयो। साथै उहाँले बालिका शिक्षा कार्यक्रमले बाल बालिकाको समस्याको पहिचान गर्दै पढाईमा निरन्तरता दिन सहयोग गर्ने बताउनु भयो।

पिस नेपालका बालिका शिक्षा कार्यक्रम अधिकृत भोज सिंह खड्काले विद्यालय छनोट मापदण्ड र सहभागीहरूको जिम्मेवारीबारे प्रस्ट जानकारी दिनुभयो।

मायादेवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरेले आफ्नो पालिकामा कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले बालिका शिक्षा कार्यक्रम संचालनले सरकारी विद्यालयमा हुने ड्रफ आउट कम गर्न यस कार्यक्रमले टेवा पुग्ने बताउनु भएको छ। साथै उहाँले बालिका शिक्षा कार्यक्रम संचालन हुने सबै विद्यालयका प्रधानाध्यापकहरुलाई आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध समेत गर्नुभएको छ।

बुद्दभुमी नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले बालिका शिक्षा कार्यक्रमले शिक्षामा समान पहुँच, गुणस्तर, र अभिभावकको चेतनास्तर वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै पालिकाको जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रमको समापनमा सहभागी सबैले कार्यक्रम सफल र प्रभावकारी बनाउन निरन्तर सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमको सञ्चालन पिस नेपालका साक्षरता कार्यक्रम प्रमुख देव ढेङ्गा मगरले गर्नुभएको थियो।











