फलाटे–रानीघाट सडक शिलान्यास : तराई–पहाड जोड्ने ५५ वर्षदेखिको सपना पुरा हुँदै

सुर्खेत, १२ जेठ ।
कर्णाली प्रदेश सरकारले मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गत सुरुवाती बिन्दु फलाटे–रानीघाट खण्डको झण्डै सात किलोमिटर सडकको स्तरोन्नति गर्ने प्रक्रिया थालेको छ ।

आइतबार कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले एक समारोहका बिच कर्णालीलाई दक्षिणको तराईसँग जोड्ने छोटो मार्गको पहिलो खण्ड स्तरोन्ती कार्यको सुभारम्भ गरेका हुन् ।

पूर्वाधार निर्देशनालय सुर्खेतले पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । निर्देशनालयले ३२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी पहिलो खण्डको स्तरोन्नती कार्यका लागि ठेक्का आह्वान गरेको थियो ।

कुल १० किलोमिटर सडकमध्ये ७ किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत निर्माण कार्यको थालनी भएको हो । आगामी ३० पुस २०८३ मा सम्पन्न गर्ने कार्यदेशसहित १८ करोड ५२ लाख २३ हजार आठ सय ५१ रुपैयाँ (भ्याटसहित) लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्यूना कालिकोट बिच सम्झौता भई काम अघि बढेको हो । मूलपानी–रानीघाट सडकको दूरी १० किलोमिटर मध्ये मूलपानीदेखि फलाटेसम्मको तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ ।

आर्थिक वर्ष २०७६/०७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राख्दै आएको छ । तर प्रगति भने निराशाजनक छ । २०७६/७७ मा दुई खण्डमा विभाजन गरेर सडक निर्माणको ठेक्का भएको थियो ।

पहिलो खण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मूलपानीबाट रानीघाटसम्म १० किलोमिटर सडक स्तरोन्नतिका लागि ९ पुस २०७६ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शंकर कन्स्ट्रक्सनबीच १० करोड २६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

८ फागुन २०७८ सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको भए पनि सडकले अझै पूर्णता पाउन सकेको छैन । यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नति गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । १३ मंसिर २०८० सम्ममा काम पूरा गर्ने सर्त भए पनि हालसम्म सात सय मिटर मात्र कालोपत्र भएको छ ।

प्रदेश सरकारले उक्त खण्डको निर्माण कार्य अघि बढाएसँगै रानीघाटमा पुल निर्माणका साथै रानीघाट–तेलपानी खण्डको सडक निर्माणमा आएको अवरोधलाई समाधान गर्न सरोकारवाला निकायलाई दबाब पुग्ने जनाइएको छ ।

सडक स्तरोन्ती कार्यको सुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले पहिलो खण्ड स्तरोन्तीको सुभारम्भ भएसँगै दोस्रो खण्डको जग्गा भोगाधिकार, रुख कटान तथा रानीघाटको पुल निर्माणमा दवाव पुग्ने बताए ।

कर्णालीका नागरिकले सदियौदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँ पन थपिने उल्लेख गर्दै यस मार्गलाई पूर्णता दिएरै छाड्ने दावी गरे ।

‘तेलपानी–भुरीगाउँ सडक सिङ्गो कर्णालीले हाट जादा प्रयोग गर्ने बाटो हो,’ कँडेलले भने, ‘यसलाई पूर्णता दिन सकिएको खण्डमा बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई छिन भरमै कर्णालीमा ल्याउन सकिन्छ । यसले यहाँको समृद्धिमा ठुलो टेवा पुग्छ ।’

यो सडकलाई पूर्णता दिएर चितवनको देवघाटपछि सुर्खेतको रानिघाटलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने गरी प्रदेश सरकार अघि बढेको उनले बताए । तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै मुख्यमन्त्री कँडेलले आयोजनालाई पूर्णता दिन स्थानीयस्तरमा अनावश्यक विवाद सिर्जना गर्न नहुने बताए । दोस्रो खण्ड रानिघाट–तेलपानी–भुरीगाउँ खण्डमा जग्गा भोगाधिकार, रुख कटान र रानिघाटस्थित भेरी नदीमा पुल बनाउने विषयमा प्रदेश सरकार लागि परेको उनले बताए ।

दोस्रो खण्डलाई निकुञ्जको अनुमती
कर्णाली प्रदेशलाई दुई प्रदेशसहित तराईसँग जोड्ने छोटो सडकमार्ग मूलपानी–तेलपानी–भुरीगाउँ सडकले रुख कटानको सहमति पाएको छ । झण्डै १३ करोड लागतमा ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढेको ६ वर्षपछि बर्दिया राष्ट्रिय निकुञ्जले रुख कटान गर्न सहमति दिएको हो ।

जग्गा भोगाधिकार र रुख कटानको कानुनी प्रक्रिया पूरा नगरी निर्माण थाल्दा अलपत्र परेको सडकलाई अन्ततः निकुञ्जले अनुमति दिएपछि आयोजनाले पूर्णता पाउने आशा जगाएको छ । निकुञ्जले पहिलो खण्डमा पर्ने बराहताल गाउँपालिका–१ को श्रीचौरदेखि तेलपानीसम्म पर्ने रुखको लगत संकलन प्रतिवेदन पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा पेस गरेको छ ।

निकुञ्जले मध्यवर्ती क्षेत्रमा पर्ने सडक किनाराका रुख कटानको सहमति नदिँदा निर्माण कार्य रोकिँदै आएको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रमा पर्ने चार हजार एक सय रुख कटान गर्नुपर्ने रायसहितको प्रतिवेदन निर्देशनालयमा पेस गरेको छ । निकुञ्जले तयार पारेको प्रतिवेदनमाथि आवश्यक प्रक्रिया पूरा गरी संघीय वन तथा वातावरण मन्त्रालयमा पेस गरिनेछ ।

मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि रुख कटानको प्रक्रिया सुरु हुने पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ । ‘सडक क्षेत्राधिकारभित्र पर्ने चार हजार चार सय ८४ रुखको प्रतिवेदन फाइल वन विभागमा पठाइसकेका छौँ,’ निर्देशनालयका निर्देशक सूर्यबहादुर शाही भन्छन्, ‘सामुदायिक र राष्ट्रिय वन क्षेत्रका तीन सय ८४ र निकुञ्जको मध्यवर्ती क्षेत्रका चार हजार एक सय रुख काट्नुपर्ने हुन्छ ।’

रुख कटानबाहेक अन्य अल्झन नआए अबको एक वर्षभित्र आयोजनाले पूर्णता पाउने शाहीको दाबी छ । मूलपानी–रानीघाट–भुरीगाउँ–तेलपानी सडक विस्तारको मुद्दा अहिलेको भने होइन । १६ असार २०७७ मा रानीघाट–तेलपानी सडकअन्तर्गत दोस्रो खण्ड रानीघाटदेखि तेलपानीसम्मको सडक स्तरोन्नति गर्न पूर्वाधार निर्देशनालय सुर्खेत र थोदुङ/जागृति जेभीबीच ठेक्का सम्झौता भएको थियो । तर सम्झौता मिति समाप्त हुन लाग्दा सडकको १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

२२ माघ २०८२ सम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड २६ लाखमा सम्झौता भए पनि हाल रुख कटान र जग्गा भोगाधिकारको अनुमति प्राप्त नहुँदा काम अघि बढ्न सकेको छैन । भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको दूरी ५१ किलोमिटर छ ।

यो सडक विस्तार भएको खण्डमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टाभित्रै पुग्न सकिन्छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२, भुरीगाउँको अम्रेनीदेखि कर्णाली प्रदेशको बराहताल गाउँपालिकाको तेलपानीहुँदै कर्णालीसम्म चिट्ठीपत्र पुरयाउन तत्कालीन जिल्ला पञ्चायतले २०२५ सालमा हुलाकी सडकका रूपमा ट्र्याक खोलेको थियो ।

सुर्खेत–भुरीगाउँ जोड्ने यो सडक स्तरोन्नति हुन सके यहाँको बजार विस्तार हुनुका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेश कर्णालीसँगको छोटो दूरीमा जोडिन्छ । हाल कर्णालीका नागरिकलाई बर्दिया तथा सुदूरपश्चिम जान बाँकेको कोहलपुर पुग्नुपर्ने बाध्यता छ ।

फलाटे–रानीघाट सडक शिलान्यास : तराई–पहाड जोड्ने ५५ वर्षदेखिको सपना पुरा हुँदै

सम्पादकीय : सडक दुर्घटना न्यूनिकरणको सवाल

फलाटे–रानीघाट सडक शिलान्यास : तराई–पहाड जोड्ने ५५ वर्षदेखिको सपना पुरा हुँदै

“किसान आफैंले बनाए जैविक बाँध, कर्णालीको पानी

Leave a comment

Your email address will not be published. Required fields are marked *