प्रचण्डको माल्यार्पणपछि पत्नी लक्ष्मी भन्छिन्, हामीलाई थाहै दिइएन

सुर्खेत, ६ जेठ ।

२०८१ फागुनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैलेख पुगे । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा उनले दैलेख बजारस्थित डेकेन्द्र चोकमा रहेको पत्रकार डेकेन्द्र थापाको सालिकमा फूलमालासहित माल्यार्पण गरे । माल्यार्पणअघि उनी थापाको घर पुगे, आमासँग भेटघाट गरे । उनले हत्या प्रति आत्मालोचना जनाउँदै गल्ती स्वीकारे ।

तर, सामाजिक सञ्जालमा तीव्र आलोचना भयो– के केवल माल्यार्पणले पीडाको मलम लगाउँछ ? के आत्मालोचना पर्याप्त हो ? धेरैले प्रश्न उठाए– दश वर्षे जनयुद्धका घाउहरू अझै ताजा छन् । द्वन्द्वका पीडितहरू अझै न्यायको प्रतीक्षामा छन् ।

यता थापाको श्रीमतीलाई एकपटक पनि नसोधेर नै प्रचण्डले माल्यार्पण गरेको मृतक थापाको श्रीमती लक्ष्मी थापाले जानकारी दिइन् । उनले भनिन्, ‘उहाँले एकपटक उहाँको श्रीमती छोराछोरी कहाँ छन् भनेर सोध्नु भयो कि भएन ? थापाका छोराछोरी कत्रा भए भनेर सोध्नु भयो कि भएन ? उनीहरुले कहाँ के गरिरहेका गरिरहेका छन् बुझ्नु भयो की भएन ? यहीँ कुरा मेरो मनमा खेलेको छ । जसले मेरो श्रीमानको हत्या गर्याे उसैले आज सन्चो हुन् लागेको घाउ कोट्याइदिएका छन् ।’

प्रचण्डले माल्यार्पण गरेको आफूलाई जानकारी नै नभएको उनको भनाइ छ । जेठाजु माओवादी पार्टीमा भएका कारणले गर्दा प्रचण्डले यो माल्यार्पण गरेको हुन् सक्ने उनले बताइन् ।

‘यतिका समय बित्यो संर्घषपूर्ण जिन्दगी बिताएँ’, उनले भनिन्, ‘२६ वर्षको उमेरमा एकल भएँ । छोराछोरीलाई संघर्ष गरेर पढाएँ हुर्काएँ । त्यो कसैले बुझेनन् आफन्तले पनि अंश नै छोडेनन् । जति माओवादीले दुःख दियो, त्यति घरपरिवारले दुःख दिए । सबैभन्दा दुःख त श्रीमती र छोराछोरीले भोगेका होलान् । यो कसैले सोध्यो होला कि नाई ?’

थापाको हत्या माओवादी मिलिसियाको नियन्त्रणमा रहँदा यातना दिइ भएको थियो । चार वर्षपछि जंगलको भीरको खोंचमा गाडिएको अवस्थामा शव भेटियो । मानव अधिकारकर्मी र सुरक्षाकर्मीले खाल्डो खनेर अस्थिपञ्जर निकाल्दाको दृश्य विभत्स थियो । उनको हत्या प्रेस स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायमाथिको प्रहार भएको भन्दै सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन् ।

यसरी भएको थियो हत्या
नेपालको १० वर्षे सशस्त्र द्वन्द्वमा थुप्रै निर्दोष नागरिकहरूले ज्यान गुमाए । तिनैमध्ये एक थिए–दैलेखका पत्रकार डेकेन्द्रराज थापा । उनी केवल पत्रकार मात्र थिएनन्, एक समाजसेवी, एक अभियन्ता र आफ्नो समुदायप्रति समर्पित एक सचेत नागरिक पनि थिए । तर, २०६१ सालमा उनी माओवादी मिलिसियाबाट अपहरणमा परे, कुटपिट गरिनुका साथै अमानवीय यातनापछि हत्या गरिएको थियो ।

डेकेन्द्र थापा रेडियो नेपालका संवाददाता थिए । सँगै, उनले दैलेख बजार खानेपानी उपभोक्ता समितिको अध्यक्षको रूपमा जिल्लाको खानेपानी समस्याको समाधान गर्न अगुवाइ गरेका थिए । उनले विभिन्न सामाजिक काममा सक्रिय भूमिका खेलेका थिए र जनताको आवाज बनिरहेका थिए । यसले उनलाई जनस्तरमा लोकप्रिय मात्र बनाएन् राज्य र विद्रोही दुवैतर्फ नजर गाड्ने पात्र पनि बनायो ।

२०६१ असार १२ गते थापा र उनका सहकर्मीहरू माओवादी नियन्त्रणमा रहेको क्षेत्रमा खानेपानी समस्याको समाधानका लागि वार्ताका उद्देश्यले गएका थिए । तर, माओवादी कार्यकर्ताहरूले थापालाई अपहरण गरे । ४५ दिनपछि, २०६१ साउन २७ गते उनलाई नौमुले गाउँपालिका–३ द्वारीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा यातना दिइ हत्या गरियो । उनको शव चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।

उनीमाथि आरोप थियो राज्य पक्षको समर्थक हुनु । तर, उनका सहकर्मीहरूले बताएअनुसार उनी सर्वसाधारणको प्रतिनिधि थिए । चार वर्षपछि उनको शव भीरको खोंचमा गाडिएको अवस्थामा फेला पर्यो । शव उत्खनन गर्दा मानव अधिकारकर्मी, पत्रकार र सुरक्षाकर्मीहरू दुःख व्यक्त गरेका थिए ।

डेकेन्द्रको हत्या नेपाल पत्रकारिताको इतिहासमा कालो धब्बाका रूपमा लिइँदै आएको छ । राज्य र विद्रोही दुवैको आलोचनासहित थापा सधैं निष्पक्ष पत्रकारिताको अभ्यासमा संवेदनशील हुने सहपाठीहरू सम्झिन्छन् ।

२०६५ सालमा उनकी पत्नी लक्ष्मी थापाले दैलेख जिल्ला प्रहरी कार्यालयमा नौ जनाविरुद्ध किटानी जाहेरी दिइन् । चार वर्षसम्म न्यायप्राप्तिको बाटो अवरुद्ध जस्तै रह्यो । अन्ततः २०६९ मा पाँच जना पक्राउ परे र २०७१ मा जिल्ला अदालतले सजाय सुनायो । पछि उनीहरुलाई अदालतले दोषी ठहर गरेको थियो ।

हत्यामा संलग्न तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । जसमा दुल्लू नगरपालिका–६ का अरुण भनिने बमबहादुर खड्का, केशव खड्का र भगवतीमाई गाउँपालिका–६ का मुक्ति भनिने बमबहादुर खड्का रहेका थिए । तर, प्रमुख अभियुक्तहरू वर्षौंसम्म फरार रहे । २०८१ सालमा तिनै अभियुक्तलाई जन्मकैद र अन्य एक जनालाई तीन वर्षको कैद सजाय तोकिएको थियो । तर न्यायप्रणालीको ढिलाइ, राजनीतिक हस्तक्षेप र कमजोर राज्य इच्छाशक्तिले थापाका परिवारलाई वर्षौंसम्म थप पीडामा राख्यो ।

डेकेन्द्रकी पत्नी लक्ष्मी हाल वीरेन्द्रनगर नगरपालिका कार्यालयमा काम गर्छिन् । उनी एक दृढ र साहसी महिला हुन्, जसले श्रीमानको विभत्स हत्या सहेर पनि छोराछोरीको पालनपोषण गरिन् । अहिले छोरीहरू मध्ये ठूलो छोरी पनि सिभिल इन्जिनियरिङ र सानो छोरी बिएससी नर्सिङ पढाइ सकेर अमेरिकामा छन्, छोरा सिभिल इन्जिनियरिङ अध्ययनरत छन् ।

प्रचण्डको माल्यार्पणपछि पत्नी लक्ष्मी भन्छिन्, हामीलाई थाहै दिइएन

बाँकेमा यौन उत्तेजक अवैध औषधीसहित एक भारतीय

प्रचण्डको माल्यार्पणपछि पत्नी लक्ष्मी भन्छिन्, हामीलाई थाहै दिइएन

सांसद सूर्य ढकालको संघीय संसदमा धारिलो आवाज

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds