बाँके राष्ट्रिय निकुञ्जमा बाघ र हात्ती अवलोकन गर्न जङ्गल सफारी


सरला सुवेदी ।
बाघलगायतका दुर्लभ वन्यजन्तु र प्राकृतिक सौन्दर्य अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनिरहेको बाँके राष्ट्रिय निकुञ्जमा यस वर्ष पनि जङ्गल सफारी खुला गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जले जङ्गल सफारीमार्फत बाघ, हात्ती, नीलगाई, चित्तललगायतका वन्यजन्तु हेर्ने अवसर प्रदान गर्दै स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरेको छ । निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीका अनुसार वनपथवरिपरिका झाडी सफा गर्दै बाघ देखिने सम्भावित क्षेत्र पहिचान गरिसकिएको छ । अगैया वनपथमा बाघ देखिने सम्भावना बढी भएकाले पर्यटकलाई त्यहाँ लैजाने व्यवस्था गरिएको छ ।
निकुञ्ज भ्रमण गर्न आएका आन्तरिक पर्यटकमध्ये दाङबाट आएका अर्जुन खनाल र भूमिका खनालले बाघ र हात्तीको प्राकृतिक वासस्थान अवलोकन गर्ने आफ्नो पुरानो इच्छा रहेको बताए । “हामीले बाघ र हात्ती देख्ने अवसर पाइने जानकारी पाएपछि यहाँ घुम्न आएका हौं’’ अर्जुनले भने । भूमिका पनि निकुञ्जको व्यवस्थाप्रति सन्तुष्ट छिन् । “जङ्गल सफारी र यहाँको प्राकृतिक वातावरणले हाम्रो भ्रमणलाई अविस्मरणीय बनाएको छ’’ उनले भनिन् ।
निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट टिकट काटेर जङ्गल सफारीमा सहभागी हुन सकिन्छ । १० जना अटाउने जिप सफारीका लागि २,५०० रुपैयाँ शुल्क तोकिएको छ । पर्यटकका लागि मचान, घाँसेमैदान, कृत्रिम पोखरी र वनपथजस्ता पूर्वाधार तयार गरिएका छन् । सफारीको क्रममा पर्यटकले दुर्लभ पाटेबाघसहित अन्य वन्यजन्तु अवलोकन गर्न पाउँछन् ।
निकुञ्जले हाल क्यामरा ट्रयापमार्फत बाघको बसोबास क्षेत्र, संख्या र आहारा प्रजातिको अवस्था बारे विस्तृत अध्ययन गरिरहेको छ । यो अध्ययनले बाघ संरक्षण प्रयासलाई सघाउनुका साथै पर्यटकलाई आकर्षित गर्न पनि सहयोग गर्ने अपेक्षा गरिएको छ ।
वि.सं. २०६७ मा बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्गकिलोमिटर क्षेत्रफल समेटेर स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज नेपालकै सबैभन्दा कान्छो निकुञ्ज हो । यो निकुञ्ज पर्यटकको आकर्षण केन्द्र बन्नुका साथै वन्यजन्तुको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
जाडो मौसममा पर्यटकले जङ्गल सफारीको अनुभव लिन पाउनुका साथै वन्यजन्तुको नजिकबाट अवलोकन गर्न पाउँछन् । अर्जुन र भूमिकाले बाघको आवाज सुन्ने अवसर पाएपछि आफूहरू निकै उत्साहित भएको बताए । “यस्तो अनुभव हामीले पहिलो पटक गरेका छौं । बाँके राष्ट्रिय निकुञ्जको भ्रमण हाम्रो जीवनकै अविस्मरणीय क्षण बन्नेछ’’ भूमिकाले भनिन् ।
निकुञ्जले पर्यटकको संख्यामा वृद्धि गर्दै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको छ। यसले पर्यटन प्रवद्र्धन मात्र नभई जैविक विविधताको संरक्षणमा पनि टेवा पु¥याएको छ । बाँके राष्ट्रिय निकुञ्जले नेपालको पर्यावरणीय पर्यटनलाई अझ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।






