सम्पादकीय : जगदुल्लाले जगाएको आशा

कर्णालीको जलस्रोतलाई समृद्धिको आधार बनाउने चर्चा दशकौँदेखि हुँदै आएको छ । तर, सम्भावनाको चर्चा धेरै भए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने आयोजनाहरू भने औँलामा गन्न सकिने मात्र छन् । यस्ता परियोजनामध्ये १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–‘ए’ जलविद्युत आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग गरेको ग्रिड जडान सम्झौता कर्णालीको ऊर्जा विकास यात्रामा एउटा महत्त्वपूर्ण उपलब्धि हो । यसले आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने कानुनी तथा प्राविधिक आधार सुनिश्चित गरेको मात्र होइन, लामो समयदेखि अपेक्षा गरिएको परियोजना कार्यान्वयनलाई थप विश्वसनीय बनाएको छ । नेपालमा धेरै जलविद्युत आयोजना निर्माण सम्पन्न भएर पनि प्रसारण लाइनको अभाव वा आवश्यक सम्झौताको ढिलाइका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अनुभव छ । त्यसैले ग्रिड जडान सम्झौता कुनै औपचारिक प्रक्रिया मात्र होइन, विद्युत उत्पादनलाई राष्ट्रिय प्रणालीसँग जोड्ने निर्णायक कडी हो । जगदुल्ला–‘ए’ ले यो चरण पार गर्नु आफैंमा सकारात्मक संकेत हो ।

यो आयोजना अर्को दृष्टिले पनि उल्लेखनीय छ । १०६ मेगावाटको जगदुल्ला आयोजनाको टेलरेसबाट निस्कने पानी पुनः प्रयोग गरी विद्युत उत्पादन गरिने सेमी–क्यासकेड अवधारणाले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्ने प्रयास गरेको छ । यसबाट निर्माण लागत र समय दुवै घट्ने अपेक्षा गरिएको छ । सीमित स्रोतसाधनका बीच यस्ता दक्ष प्रविधिको प्रयोग भविष्यका आयोजनाका लागि पनि उदाहरण बन्न सक्छ । जगदुल्ला परियोजनाको महत्त्व केवल विद्युत उत्पादनमा सीमित छैन । आयोजनाले आफ्नै लगानीमा सडक, पुल र पहुँच मार्ग निर्माण गरेर डोल्पाजस्तो दुर्गम क्षेत्रमा विकासको नयाँ ढोका खोलेको छ । भेरी नदीमाथिको पक्की पुल, बेली ब्रिज र सडक सञ्जालले आयोजना निर्माणलाई मात्र सहज बनाएको छैन, स्थानीय नागरिकको दैनिक जीवन, व्यापार, स्वास्थ्य सेवा र आवागमनमा समेत प्रत्यक्ष सुधार ल्याएको छ । केही वर्षअघिसम्म तीन दिन लाग्ने यात्रा अहिले एकै दिनमा सम्भव हुने अवस्थासम्म पुग्नु पूर्वाधार विकासको वास्तविक उपलब्धि हो । यस्ता पूर्वाधारले पर्यटनको सम्भावना पनि विस्तार गर्नेछन् । शे–फोक्सुन्डो, रारा, उपल्लो डोल्पा तथा कर्णालीका अन्य पर्यटकीय गन्तव्यमा सहज पहुँच बनेसँगै स्थानीय व्यवसाय, होटल, यातायात र कृषि उत्पादनको बजार विस्तार हुने अपेक्षा गर्न सकिन्छ । ऊर्जा परियोजनालाई केवल विद्युत उत्पादनको माध्यम नभई समग्र क्षेत्रीय विकासको आधारका रूपमा हेर्नुपर्ने कारण यही हो ।

आयोजनाको अर्को सकारात्मक पक्ष यसको स्वामित्व संरचना हो । सरकारी निकाय, कर्णाली प्रदेश सरकार, स्थानीय तह र सर्वसाधारणको संयुक्त लगानीले परियोजनाप्रति अपनत्व बढाउनेछ । स्थानीय बासिन्दाका लागि छुट्टै सेयर तथा प्रभावित जग्गाधनीलाई थप सेयरको व्यवस्थाले लाभको बाँडफाँटलाई तुलनात्मक रूपमा समावेशी बनाउने प्रयास गरेको देखिन्छ । स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ठूलो लगानी जुटाइनु पनि नेपालको ऊर्जा क्षेत्रमा आत्मनिर्भर वित्तीय क्षमताको संकेत हो । यद्यपि, उपलब्धिमै रमाउने समय भने होइन । वातावरणीय संरक्षण, प्रभावित समुदायलाई उचित क्षतिपूर्ति, पुनर्स्थापना, निर्माण गुणस्तर, निर्धारित समयसीमा र लागत नियन्त्रणजस्ता विषयमा उत्तिकै गम्भीरता आवश्यक छ । विगतका धेरै ठूला आयोजना समय र लागत दुवैमा चिप्लिएका उदाहरण हाम्रा सामु छन् । जगदुल्लाले ती कमजोरी दोहोर्याउनु हुँदैन । कर्णालीको समृद्धि जलस्रोतको सदुपयोगसँग गहिरो रूपमा जोडिएको छ । ग्रिड जडान सम्झौताले त्यो यात्रामा नयाँ भरोसा थपेको छ । अब सरकार, विद्युत् प्राधिकरण, प्रवद्र्धक कम्पनी र स्थानीय समुदाय सबैले समान जिम्मेवारीका साथ आयोजना समयमै सम्पन्न गर्ने वातावरण बनाउनु आवश्यक छ । सम्भावनालाई वास्तविक समृद्धिमा रूपान्तरण गर्ने अवसर कर्णालीले यसपटक गुमाउनु हुँदैन ।

सम्पादकीय : जगदुल्लाले जगाएको आशा

कर्णालीमा सडक मर्मतको तिथी बसालिँदै  बनाउने तर

Leave a comment

Your email address will not be published. Required fields are marked *