कोदो खेती लोप हुँदै

जुम्लाका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ । कोदो फल्ने बारी थलिएको छ ।

घाँस र पातपतिंगर जस्ता झारले बारीमा साम्राज्य जमाएको बेनी जुम्लाको सिंजा गाउँपालिका –५ सुरबहादुर बुढाले बताए । करिब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उनले बताए ।

“कोदो रोप्नै छोडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँवाट फलोस् त कोदो” ८७ वर्षीय बुढाले भने । उनका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ । काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि दुख अनुसारको गाउँ भन्ने जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकहरु बताउँछन् । सिंजा –६ दानबहादुर बुढाको घरमा पनि काम गर्ने मान्छे छैनन् ।

उनको परिवारमा श्रीमती र एक छोरा र बुहारी छन् । छोरा मजदुरी गर्न भारत गएका छन् । भने बुहारीले घरमा नै किराना पसल गरेकी छन् । वर्षौ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि छैन । कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उनले बताए ।

“कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन । कोदोले दिने बजारमा पाइने सेतो चामलको भातले कहाँ दिन्छ र ?”, उनले सम्झिए, “म सानो हुँदा कोदोको ढिँडो रोटी र तरकारीसँग पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।” अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ ।

औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघर तिर निकै कम हुँदै गएको उक्त वडाका ६४ वर्षीया गोरी बुढाले बताइन् । कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसंगै यसको उपभोग पनि गाउँघर तिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको गोरी गुनासो गर्छिन् ।

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटल केही स्कुलमाहरुले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन् । होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेको जुम्लाका होटल सञ्चालकहरु बताउँछन् ।

गाउँगाउँमा स– साना सञ्चालित होटलहरुमा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । जुम्लामा कोदो पिठो प्रति केजी मुल्य १ सय ५० रुपैयाँ छ, भने दाना १ सय २० रुपैयाँ मुल्य छ । खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरुको भनाइ छ ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरु पाइने ज्यामरुककोट शनिगाउँ स्वास्थ्य चौकीका चिकित्सक रमेश रावलले बताए । तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ । जुम्लामा आर्थिक वर्ष २०७७÷०७८ मा ३ हजार ८ सय ४० हेक्टरमा खेती भइरहेको थियोे । पछिल्लो समय घटेर ३ हजार ७ हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

कोदो खेती लोप हुँदै

राष्ट्रिय मावि वजेडा आलिमा पम्फादेवि अक्षकोष स्थापना

कोदो खेती लोप हुँदै

तरकारी खेतीले, घरमै रोजगारी