लहँका विद्यार्थी खुला आकाशमुनी पढ्न बाध्य

नलगाड नगरपालिका लह पिपलचौरस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएका छन् । गत असार दोस्रो साता आएको बाढी र पहिरोले विद्यालयका दुई भवन, चर्पी र खानेपानीको टंकी बगाएपछि यो परिस्थिति सिर्जना भएको हो ।
विद्यालयका प्रधानाध्यापक बलबहादुर रावलका अनुसार, बाढीले विद्यालय क्षेत्रलाई पूर्ण रूपमा बगरमा परिणत गरेको छ । ‘यही बगरमा विद्यार्थीलाई राखेर पढाउन बाध्य छौं’ रावलले बताए । पानी पर्दा र चर्को घाम लाग्दा पढाई रोक्नु पर्ने बाध्यता छ र फेरि बाढी र पहिरो आउने डरले विद्यालय सञ्चालनमा थप चुनौती थपेको छ ।

विद्यालयमा अन्यत्र पठन पाठन गर्न सकिने ठाउँको अभाव रहेको र टहरो बनाउन नसकेको कारण विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएका छन् । न त चर्पी छ, न त खानेपानीको व्यवस्था । बाढीले विद्यालयका सम्पूर्ण भौतिक संरचना समाप्त गरेको प्रधानाध्यापक रावलले जानकारी दिए ।
विद्यालयमा बस्ने ठाउँ नहुँदा धेरै विद्यार्थी विद्यालय आउन छाडेका छन् । पहिरोको जोखिमका कारण अभिभावकहरूले बालबालिकालाई विद्यालय पढाउन छाडेका छन्, तिलबहादुर रावल नामका एक अभिभावकले बताए । विद्यालय भवन नहुँदा पिपलचौरका करिब ६ दर्जन बिद्यार्थी पठनपाठनबाट बञ्चित भएका छन् । बगरको चिसो बालुवा र माटोमा बसेर पढ्न बाध्य विद्यार्थीहरू विरामी परिरहेका छन् ।
बाढीले विद्यालय भवन बगाएर करिब ७० लाख रुपैयाँ बराबरको क्षति पु¥याएको बताइएको छ । विद्यालय पुनर्निर्माणका लागि शिक्षा समन्वय इकाई कार्यालय र अन्य संघ–संस्थाहरूमा अनुरोध गरिए पनि अहिलेसम्म कतैबाट सहयोग प्राप्त नभएको गुनासो प्रधानाध्यापक रावलले व्यक्त गरे ।
स्थानीय गुर्से खोलामा आएको बाढीले पिपलचौर गाउँका २६ घरपरिवारलाई पनि पहिरोको जोखिममा पारेको छ । तत्कालि लह गाविस भवन जोड्ने र नलसिंहगाड पहुँच सडक निर्माण गर्दा जथाभावी फालेको माटोका कारण बाढी र पहिरो आएको रावलले बताए ।







