स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावलको संयोजकत्वमा श्रमदान

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्रमदान सुरु गरिएको छ । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको संयोजकत्वमा श्रमदान सुरु गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको फोहोर हटाउने र एकेडेमी भवन परिसरमा रहेका ढुंगा र माटो उठाइ व्यवस्थापन गर्ने काम शनिबार भएको हो ।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह तथा नयाँ शैक्षिक भवन उद्घाटनको समय नजिकिँदै गर्दा उपकुलपति डा. रावलको नेतृत्वमा श्रमदान सुरु भएको हो । श्रमदानलाई प्रतिष्ठानको सरसफाई अभियानका रूपमा अघि बढाउने उपकुलपति डा. रावल बताउँछन् । रावलले भने, ‘भदौ यहीँ १६ देखि २१ गतेसम्म अन्तर मेडिकल कलेज खेलकुद सप्ताह हुँदैछ । जसका लागि पनि श्रमदानले राम्रो योगदान दिने विश्वास गरिएको छ ।’

उपकुलपतिका अनुसार, ‘श्रमदानले सकारात्मक सन्देश फैलाउन सकिन्छ भन्ने मान्यता स्थापित गर्न थालिएको छ ।’ श्रमदानमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महत, शिक्षाध्यक्ष डबलबहादुर धामी लगायत पदाधिकारीहरू शिक्षक तथा चिकित्सकहरू, कर्मचारी, सेक्युरिटीहरू, हेल्परहरूदेखि सबै विभागका विद्यार्थी सहभागी थिए ।
डा. रावलले हरेक शनिबार श्रमदान गर्ने वातावरण बनाउन पहल हुने बताए । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह भदौ २३ गते हुँदैछ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली लगायतको टोली जुम्ला आउँनेछ । दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रोफेसर डा. अन्जनीकुमार झा र स्वास्थ्य सचिव डा. रोशन पोखरेल पनि जुम्ला आउँदैछन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य पर्यटनको केन्द्र बन्न सक्ने भएकाले श्रमदानबाट पनि सुन्दर बनाउने प्रयास भइरहेको प्रतिष्ठानले जनाएको छ । सधैं आला बोकेर बिरामीको उपचार गर्ने चिकित्सक, किताव बोकेर पढाउने शिक्षक र प्रशासनिक कामकाजमा व्यस्त प्रतिष्ठान पदाधिकारीहरू श्रमदानमा सरसफाइ अभियानमा जुटेको देख्दा स्थानीयहरु उत्साहित छन् ।
पछिल्लो समयमा श्रमदानको चलन हराउँदै जान थालेको छ रावलले श्रमदानले पनि ठूलठूला काम गर्न सकिन्छ भन्ने सन्देश फैलाउन सुरु गरेको बताए।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वि.सं. २०६८ सालदेखि सञ्चालनमा आएको हो । अहिले एमबीबीएस तथा नर्सिङका अन्य कार्यक्रम समेत सुरु भएका छन् ।







