सम्पादकीय : मुख्यमन्त्रीज्यू हाते कागज उत्पादन बढाऊँ र निर्यात गरौं ।

नेपालीले खासै वास्ता नगरेको तर नेपाली हातेकागजको विश्व बजारमा उच्च माग रहेको छ । दिन प्रतिदिन विश्व बजारमा माग बढ्दै गैरहेको छ भने नेपालमा कामदार अभावको कारण र कच्चा पदार्थ ढुवानीमा सरकारी नीति झण्झटिलो भएका कारण उद्योगीहरु पलाएन भैरहेका छन् । एउटा उधोगले २० देखि ५० जनासम्मलाई रोजगारी दिनसक्ने लघु उद्योग हो नेपाली हाते कागज उद्योग । जसले सामान्य उद्योगले भन्दा धेरै रोजगारी सिर्जना गर्न सक्छ र यसको विश्व बजारमा राम्रो कमाई, उच्च माग रहेको छ र विश्वमा नेपाली हाते कागज उत्कृष्ट मानिन्छ । नेपाली हाते कागजका लागि कर्णाली प्रदेश आफैमा उर्वर भूमि हो ।
समयको हिसावले असार–साउन र भदौको महिनामा पानी पर्ने भएका कारण सुक्न गाह्रो हुने भएपनि अन्य ९ महिनामा यसको उत्पादन गर्न सकिन्छ । चिसो दिनमा सुक्न समय लाग्ने भएकाले उत्पादन कम हुन्छ भने गर्मी समयमा भने छिटो सुक्ने भएका कारण धेरै उत्पादन गर्न सकिन्छ । नेपाल सरकारले नेपाली कागजलाई आफ्नो कामकाजमा प्रयोग नगरेपनि विश्व बजारमा भने सजावटका सामाग्रीका लागि यसको माग उच्च रहेको छ । यस्ता उद्योग सञ्चालन गरेका उद्योगीहरुको गुनासो छ वनको झण्झटीलो नीति र स्थानीय तथा प्रदेश सरकारले पनि यस्ता उद्योगको प्रवद्र्धनमा ध्यान नदिएका कारण उद्योगीहरु यो पेशाबाटै पलाएन भएका छन् ।
एक त परम्परतगत रुपमा सञ्चालनमा आएकाहरु समय अनुसारको प्रविधिमा अपग्रेट हुन नसक्दा पलायन भएका छन् भने अर्कोतिर सिप सिकाएर काम दिन्छौं भन्दा पनि काम गर्ने मान्छे पाउन गाह्रो भएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन गर्न सकेमा त्यसको लागत पनि घट्ने, उत्पादन बढ्ने र गुणस्तरिय कागज उत्पादन भएर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुन्छ ।
त्यसको लागि उद्योगीको एकल प्रयासबाट सम्भव छैन । यसका स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारले यस्ता उद्यम गर्न चाहने उद्यमीको लागि सरल ऋण सुविधा, प्रविधि हस्तान्तरण, सिकाईको वातावरण र उत्पादित सामाग्रीको बजारमा सहजिकरण गरिदिनुपर्ने हो । तर यहाँ त्यस्तो हुन सकेको छैन भारतबाट आयात गर्न मिल्ने कागज प्रयोग गरेर धेरै ठाँउमा धेरै बाहानामा कमिसन खान पाईने भएका कारण नेतृत्व तहमा भएकाहरु सकभर तिनीहरुको विकासका लागि भन्दा पनि बन्द गराउन तिर उद्यत रहेको देखिन्छ ।
नत्र भने विश्व बजारमा उच्च माग र राम्रो नाफा हुने नेपाली हाते कागज उद्योगको विकासको लागि खै त के गरेको छ सरकारले ? आयातित पेपर सस्तो हुन्छ यहाँको पेपर महङ्गो पर्छ भने पैसाजती सबै विदेश पठाए कमिशन कुम्ल्याए । नेपाली हाते कागजको लागि आवश्यक कच्चा पदार्थ पाईने कर्णालीका जाजरकोट, दैलेख, सल्यान, रुकुम पश्चिम, कालिकोट, अछाम लोक्ताको पकेट क्षेत्र हो ।
तर कर्णाली प्रदेश सरकारभने सुनको सिरानी हालेर नुनको खोजीमा दौडिएको नाटक मञ्चन गरेको छ । यो बजेटमार्फत नेपाली हाते कागज उत्पादनको लागि कर्णाली प्रदेश सरकार र कर्णालीका हरेक स्थानीय तहसम्मले सकेसम्म स्थानीय उत्पादित नेपाली हाते कागज प्रयोग गर्ने र गुणस्तर छैन भने गुणस्तरिय बनाउनलाई सरकार समेत लागेर पिपिपि मोडलमा कर्णालीका १० वटै जिल्लामा स्थानीय तह आफैले हरेक कच्चा पदार्थ उत्पादन हुने ठाउँमा बेरोजगार रहेका नागरिकलाई यो उद्योगमा रोजगारी दिएर केन्द्रको राजधानी सुर्खेतमा अत्याधुनिक प्रविधि स्थापनाका लागी सल्लाह, सुझाव र सहयोग गरेर आफुले खपत गरेर बाँकी रहेको देशभित्रै र विश्व बजारमा समेत निर्यात गरेर बिदेशी मुद्रा आर्जन गर्ने प्रदेश सरकारको एउटा राम्रो प्लेट फर्म, आफ्नो उत्पादन, ब्राण्ड हो ।
जसमा एउटा स्थानीय तहमा १० जनाका दरले रोजगारी प्राप्त गरेभनेपनि ७९ पालिकाबाट ७९० जना र उद्योगमा गरेर प्रदेश सरकारले थोरै लगानीमा एकै पटकमा १००० जनालाई दिर्घकालिन रोजगारी सिर्जना गर्नसक्छ । हरेक बर्ष व्यूटिसियन र सिलाईकटाई जस्ता तालिम सिकाउने नाममा करोडौं रकम खर्च गर्ने कि एक पटक करोड खर्च गरेर दिगो रोजगारी र प्रदेशको आम्दानीको श्रोत बढाउने मुख्यमन्त्रीज्यूको हातमा छ ।






