‘सुर्खेतमा लकडाउन जस्तो नै देखिएन, तर अब कडाइ गरिन्छ’

नयाँ सिडिओका योजना :- 
कालोबजारी नियन्त्रण गर्न कर्मचारीलाई नै ग्राहकको भेषमा परिचालन गरिने,
पास वितरणमा कडाइ हुने,
खेतीको काममा जाने किसानलाई प्रहरीले नरोक्ने र क्वारेन्टाइनको सुरक्षालाई थप प्रभावकारी बनाउने
सुर्खेत, २६ जेठ ।
कोरोना संक्रमण बढ्दै जाँदा सुर्खेतमा लकडाउन भने खुकुलो देखिन्छ । पछिल्लो सयम लकडाउन कार्यान्वयन नभएको भन्दै आलोचना पनि बढेको छ । तर आइतबार मात्र सुर्खेतको प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका हिरालाल रेग्मीले अब लकडाउनलाई थप कडाइ गरिने बताएका छन् । आफू शुक्रबार मात्र सुर्खेत आएको भन्दै उनले सुर्खेतमा लकडाउनको पालना प्रभावकारी नभएको बताए । दुई दिनको अवधिमा बजारको अवस्था बुझ्दा लकडाउन फितलो भएको र यसले संक्रमणको जोखिम बढ्ने खतरा देखेको प्रजिअ रेग्मीको भनाइ छ । यही अवस्थामा जिल्लाको संक्रमण थप फैलिने जोखिम रहेको भन्दै उनले अब लकडाउनलाई थप कडाइ गरिने बताए ।

गुहमन्त्रालयको निर्देशन अनुसार नै जिल्लामा लकडाउनलाई कडा बनाइने र संक्रमणको जोखिम न्युनिकरणमा सबै उपयाहरु अपनाइने रेग्मीले बताए । पासको दुरुपयोगका कारण पनि जिल्लामा लकडाउन खुकुलो भएको पाइएको भन्दै उनले अब सुरक्षाकर्मीसँग छलफल गरेर जिल्लामा लकडाउनको कार्यान्वयन कडाइका साथ हुने जानकारी दिए । सुर्खेतका स्थायी बासिन्दा समेत रहेका प्रजिअ रेग्मीले खेतीको समय भएकाले किसानको हकमा केही खुकुलो भए पनि बिना काम बजारमा निस्कने र भीडभाडलाई नियन्त्रण गरिने जनाए ।

महामारीको मौका छोपेर बजारमा कालोबजारी बढेको सुचना आफूले पाएको भन्दै उनले यसलाई पनि नियन्त्रण गरिने बताए । यसका लागि प्रशासनले सादा पोशाकमा कर्मचारी र सुरक्षाकर्मीलाई ग्राहकको रुपमा बजार र पसलमा खटाइने योजना पनि सुनाए । यसरी कालोबजारीलाई पूर्णरुपमा नियन्त्रण गरिने उनको भनाइ छ । यसैबीच जिल्लामा लकडाउन कार्यान्वयन, कालोबजारी नियन्त्रण, महामारी रोकथाम र जिल्लाको शान्ति सुरक्षाको योजनाबारे प्रजिअ हिरालाल रेग्मीसँग विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ, हाम्रा संवाददाता सुशिल खड्काले रेग्मीसँग गरेको कुराकानीको शारांस :

सुर्खेतमा लकडाउन प्रभावकारी रहेछ त ?
आइतबारबाट कार्यालयमा हाजिर भएको छु । जिल्लामा लकडाउनको अवस्था बुझ्न म आफैंनिस्किएको थिएँ । तर लकडाउनको पालना भएको देखिएन । सुर्खेतमा पनि कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दो छ । यो अवस्थामा लकडाउन यस्तो फितलो हुनु राम्रो होइन । बिना काम अनावश्यक भीडभाड र सडकमा निस्केको पनि पाइयो । त्यसैले संक्रमण रोक्ने पहिलो विकल्प भनेकै लकडाउनको प्रभावकारी कार्यान्वयन हो । यसलाई हामी रोक्छौं । गृहमन्त्रालयको निर्देशन अनुसारजेठ ३१ गतेसम्म कुनै पनि हालतमा लकडाउन खुकुलो हुँदैन । थप कडाइ गरिन्छ ।यहाँ लकडाउन खुकुलो हुनुको पहिलो कारण पासका दुरुपयोग भएको ठानेको छु । आजै पनि थुप्रैले पास बनाइदिन भन्दै फोन गरिराख्नु भएको छ । त्यसैले अब पास वितरण र लकडाउनमा थप कडाइ हुन्छ ।

तर कडाइ हुँदा खेतीपाती गर्ने किसानलाई समस्या हुँदैन र ?
अब खेतीपाती गर्ने मुख्य सिजन हो । यसकारण खेती गर्न जाने किसानको हकमा कुनै रोकावट हुँदैन । तर किसानको भेषमा मनलाग्दी गर्न खोज्नेलाई भने कडाइ गरिनेछ । किसान बारीमा जाँदा उसको हुलियाले सबै थाहा भइहाल्छ नी । किसानलाई प्रहरीले रोकतोक गर्ने छैनन् ।

क्वारेन्टाइनमा सुरक्षामा पनि चुनौती बढेको छ । कसरी व्यवस्थापन गर्नुहुन्छ ?
सुर्खेतमा प्रहरीको जनशक्ति कम छ ।नेपाल प्रहरीले सबै ठाउँमा सुरक्षा दिनसक्ने स्थिति छैन ।प्रहरीले क्वारेन्टाइनदेखि अन्य ठाउँमा पनि सुरक्षा दिनुपर्ने अवस्था छ । अर्कोतर्फ सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएपछि पनि सुरक्षाकर्मीहरुको अभाव भएको हो । तरस्थानीय तहसँग समन्वय भइरहेकाले अबदेखि क्वारेन्टाइनको सुरक्षामा पनि खतरा हुँदैन। क्वारेन्टाइनमा बसेकानागरिकहरुले पनिसरकारका लागि बसेको जस्तो व्यवहार गर्नु भएन नी । सबैको सुरक्षाका लागि क्वारेन्टाइन बसालिएको हो । त्यसैले उहाँहरुले पनि त्यहाँबाट भाग्ने काम गर्नु भएन ।

महामारीको अवस्थामा पनि बजारमा कालोबजारी भइरहेको छ । यसलाई कसरी रोक्नुहुन्छ ?
यस्तो महासंकटको बेला धमिलो पानीमा माछा मार्न खोज्नेहरु धेरै हुन्छन् । बजारमा व्याप्त कालोबजारीबारे मकहाँ पनि जानकारी आइसकेको छ । कालोबजारी गर्नेहरुको विवरण संकलन गरिसकेको छु । ग्राहक बनाएर कर्मचारीलाई अनुगमन खटाउने कार्य शुरु गरिएको छ । अबदेखि कसैले पनि मनलाग्दी ग्राहकबाट लुट्न पाउने छैनन् । प्रभावकारी अनुगमन र ग्राहक बनेर स्वयम कर्मचारी खटाएर त्यस्ता व्यापारीहरुलाई कडा कारवाही गरिनेछ । यसको नतिजा केही दिनमा यहाँहरुले देख्नुहुनेछ । साथै कालोबजारीबारे हामीलाई सुचना दिन पनि सबैमा अनुरोध छ ।

तपाइँ सुर्खेतकै स्थायी बासिन्दा हुनुहुन्छ । आफन्तहरुको घेरामा स्वतन्त्र भएर काम गर्नु सक्नुहोला त ?
आफ्नो गाउँ ठाउँमा आएर काम गर्नु चुनौतीपूर्ण नै हुन्छ । विगतमा पनि सुर्खेतमा बसेर काम गरिसकेको छु । जिल्लाबासी भएकाले पनि मबाट धेरै अपेक्षा राख्नु स्वभाविक नै हो । जिल्लाबासीका अपेक्षालाई खेर जान दिनेछैन । आफ्नो गृह जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणमा समन्वयकारी भूमिका निर्वाह गर्नेछु । केन्द्र, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरेर काम गर्नेछु । जिल्लाको वस्तुगत अवस्थाबारे जानकार नै छु । काम गर्ने क्रममा सबैको चित्त बुझाउन सकिदैन । तर पनि सबैसँग मिलेर आफ्नो कार्यकालमा प्रभावकारी बनाउने छु । मैले सरकारको नीति र नियम कार्यान्वयन गर्ने हो । आम नागरिकहरुले त्यसको पालना गर्दिनुभयो भने काम गर्न सहज नै हुनेछ ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्न कसरी अघि बढ्दै हुनुहुन्छ ?
अहिले कोरोनाका कारण विश्व नै आक्रान्त छ । सरकार र अन्य निकायहरुको ध्यान पनि यतिबेला यसैमा केन्द्रित छ । यस्तोबेला तस्करहरु सलबलाइरहका छन् । मौका यहीँ हो भन्दै विभिन्न अपराध गर्ने व्यक्तिहरु पनि समाजमा छन् । यस्ता विविध घटनाहरुलाई रोक्न मैले पहिलो प्राथमिकतामा कोरोनाविरुद्ध जुट्ने, शान्ति सुरक्षा कायम गर्ने, समस्याहरुलाई समाधान गर्ने र सुशासन कायम गर्नु मेरा प्रमुख एजेण्डा हुन् ।सुर्खेतमा सम्भावित अपराध हुनसक्ने ठाउँहरुमा उच्च निगरानी राख्नसादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ । कानुन विपरित काम गर्नेलाई कानुनी दायरामा ल्याउनमा कुनै कसर बाँकी राख्नेछैन । (२०७७ जेष्ठ २६ गते सोमबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

‘सुर्खेतमा लकडाउन जस्तो नै देखिएन, तर अब कडाइ गरिन्छ’

कोरोना संक्रमितलाई डिएसपी ओलियाको निर्देशन

‘सुर्खेतमा लकडाउन जस्तो नै देखिएन, तर अब कडाइ गरिन्छ’

खाद्यन्न लिन गएको बेला कुटपिट

1 Comment

  1. यामलाल कडेल
    08th Jun 2020 Reply

    सर्बसाधारण लाई लक्डाउन हुनेखाने र नेताहरु जनताहरु जमघट गराई आन्दोलन मा यहि समाचारको प्रभाव बाट भोलि देखि सुर्खेत मा लकडाउन हटाईयोस र सहज बनाईयोस

Leave a comment

Your email address will not be published. Required fields are marked *