राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदले लिए शपथ

राष्ट्रिय सभामा निर्वाचित १९ सांसदले सोमवार शपथ लिएका छन् । नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ गराएकी हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित १९ सांसदको पदावधि गएराति १२ बजेदेखि समाप्त भएको थियो । रिक्त हुने सदस्यमा पदपूर्ति गर्न माघ ११ गते चुनाव भएको थियो ।

यी रिक्त स्थानका लागि माघ ११ गते सातै प्रदेशमा निर्वाचन भएको थियो । कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवार विजयी भएका थिए । कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका थिए ।

मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका थिए । बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भएका थिए ।

गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका थिए । लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका थिए ।

कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् भने सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्दले चुनाव जितेका थिए ।

निर्वाचित भएका १९ जनाले सोमवार शपथ लिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटा भने पूर्ति भइसकेको छैन ।

राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदले लिए शपथ

कर्णाली राजमार्गमा पहिरो गएपछि यातायात सेवा ठप्प

राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदले लिए शपथ

‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता