हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा छ: मन्त्री ज्वाला

![]()
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत् निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर सरकारले पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे । उनले नेपालगञ्जदेखि गुलरियासम्मको सडक खण्डको अनुगमनका क्रममा सन्तुष्टि गर्ने ठाउँ रहेको बताए ।
मन्त्री ज्वालाले सडक खण्डको निर्माण तीब्र रुपमा अघि बढेको पनि बताए । उनले तीन वर्षको लागि २ अर्ब ७८ करोड सम्झौता भएकोमा एक वर्षमै करिव ५० प्रतिशत काम सम्पन्न भइसकेकाले आगामी एक वर्षभित्रमा सम्पूर्ण निर्माणको काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उनले स्थानीयहरुको गुनासो बजेट अभाव भयो भन्ने रहेको भन्दै सरकारले बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए । ‘हुलाकी राजमार्ग नेपाल सरकारको उच्च प्राथमिकतामा छ । हामीले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर बजेट पनि पर्याप्त नै विनियोजन गरेका छौँ । अहिले यो सडकको खासगरी नेपालगञ्जदेखि गुलरियासम्मको यो खण्डको अनुगमन गर्दा सन्तुष्टि गर्ने ठाउँ छ । यो साइटको रुख कटान, बिजुलीका तार हटाउने, पोल हटाउने लगायतका कुराहरुमा समस्या समाधान भएका छन्,’ उनले भने, ’कामको गति पनि तीब्र रुपमा अघि बढेको छ । तीन वर्षको लागि २ अर्ब ७८ करोड सम्झौता भएको यो राजमार्गको काम एक वर्षमै करिव ५० प्रतिशत प्रगति हुनु भनेको उत्साहजनक अवस्था हो ।’
उनले आयोजनामा आवश्यक पर्ने जति बजेट निरन्तर उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताए । मन्त्री ज्वालाले नेपालगञ्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रह गरे ।






