कर्णालीको आपतविपद्को सारथी बन्दै नेपाली सेना


संविधानले दिएका अभिभारा पुरा गर्दै प्राकृतिक विपद्जन्य घटनाको समयमा खोज, उद्दार, राहत तथा नागरिक सहायतालगायत मानविय कार्यमा नेपाली सेना सधैं तयारी अवस्थामा रहन्छ ।
१७ कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको समयमा अग्रपंक्तिमा रहेको सेनाले प्रभावकारी मानविय उद्दारमा खटिएको जनाएको छ । उक्त भूकम्पमा परी घाइते भएका ३३ जनाको हवाई उद्दार गरी सुर्खेत र नेपालगन्जस्थित स्वास्थ्य संस्थामा पु¥याएको छ ।
जाजरकोटमा तैनाथ चन्दननाथ गण तथा उत्तर पश्चिम पृतना हेड क्वाटर सुर्खेत अन्तर्गतका युनिटबाट खटिएको सेनाले भूकम्पबाट ज्यान गुमाएका १ सय १ जनाको शव निकालेको छ । १ सय ५८ जना घाइतेको उद्दार गरी स्थानीय अस्पतालमा पु¥याएको छ ।
यस्तै, भूकम्प पश्चात क्षतिग्रस्त स्थानमा खोज तथा उद्दारमा खटिएका सेनाका १ हजार १४ जनशक्तिले ७ सय २५ घरहरुबाट सुरक्षित सामान निकालेको छ । भत्किएका घरहरु पन्छाउने तथा अस्थायी टहरा निर्माण लगायतका कामसमेत सेनाले गरेको छ ।
त्यस्तै, भूकम्प प्रभावित जिल्लाहरु जाजरकोट र रुकुम पश्चिममा हवाई मार्गबाट ५९ हजार ३ सय ८४ केजी राहत सामाग्री ढुवानी गरेको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापती उपरथी कृष्णदेव भट्टले जानकारी दिए ।
सेनाका साथै खोज तथा उद्दार कार्यका लागि नेपाल प्रहरीका ४ सय ६७ र सशस्त्र प्रहरीका २ सय ६२ जावनहरु खटिएका थिए । भूकम्पले जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ चिउरीस्थित सिमपानीमा जोखिमपूर्ण बनाएको ३ सय मिटर चट्टान हटाएको छ । चट्टानबाट ३५ घरधुरीमा प्रत्यक्ष रुपमा मानविय तथा भौतिक क्षति पु¥याउन सक्ने देखिएपछि सेनाले उक्त चट्टान हटाएको हो ।
चालु आर्थिक बर्षको साउनदेखि हालसम्म पृतनाको जिम्मेवारी क्षेत्र कर्णालीका ८ जिल्ला र लुम्बिनी प्रदेशका २ जिल्लाका २१ क्षेत्रमा भएको आगलागी नियन्त्रण गरेको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतका अप्रेशनल अधिकृत महासेनानी सुवास खड्काले जानकारी दिए ।
भौगोलिक वनावटको दृष्टिकोणले जटिल रहेको पृतना अन्तर्गत जिम्मेवारी रहेका क्षेत्रका जिल्लाहरुमा बर्षेनी मौसमी प्रभाव तथा विभिन्न अन्य कारणहरुबाट विपद्को अवस्था सिर्जना हुने गरेको महासेनानी खड्काले बताए ।
‘नेपाली सेनाले यस्ता अवस्थाहरुमा आफ्नो श्रोत साधन तथा अन्य सरोकारवाल निकायहरुसंगको समन्वय, सहकार्य र सहयोगमा विपद व्यवस्थापन तथा उद्दारका कार्यहरुमा समेत परिचालन भई कार्य गर्दै आईरहेको छ,’ महासेनानी खड्काले भने, ‘यस्ता कार्यहरुमा बाढी, पहिरो, आगलागी, सडक दुर्घटना जस्ता घटनाहरुमा हाम्रो उद्धार कार्यहरु केन्द्रीत छन् ।’
सेनालाई नेपालको संविधान २०७२ ले स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षा गर्न दायित्व सुम्पेको छ । संविधानले दिएका यिनै दायित्वका अतिरिक्त नेपाली सेनाले राष्ट्र निर्माण तथा विकास कार्य, प्रकृति संरक्षण, विपद् व्यवस्थापन र आन्तरिक सुरक्षाको जिम्मेवारीको अभिभारा पुरा गर्दै आमनागरिकलाई सुरक्षा र साहारा दिँदै आएको छ ।
३८ सुत्केरीको हेलिबाट उद्दार
नेपाली सेनाले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म कर्णाली र सुदुरपश्चिम प्रदेशका ९ जिल्लाबाट ३८ जना सुत्केरीको हेलिकप्टरबाट उद्दार गरी सुर्खेत तथा नेपालगन्जका विभिन्न अस्पतालहरुमा पु¥याएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुर्खेतस्थित सेनाको पश्चिम एयर वेशले कर्णाली, सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशका विकट जिल्लाबाट प्रसुती स्वास्थ्यमा जटिलता आएका सुत्केरीहरुलाई हेलिकप्टर मार्फत उद्दार गरि प्रसुति सेवा उपलब्ध भएका सुर्खेत तथा नेपालगंजका स्वास्थ्य सेवा प्रदायक अस्पतालहरुसम्म पु¥याउने गरको छ ।
सेनाले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएपछि २०७६ देखि हालसम्म ३ सय ५ जना सुत्केरीको उद्दार गरिएको उल्लेख छ । सेनाले चालु आर्थिक वर्षमा हेलिकप्टरमार्फत बझाङ्गबाट १, डोटीबाट १, बाजुराबाट ९, अछामबाट २, डोल्पाबाट ११, हुम्लाबाट २, कालिकोटबाट ४, जाजरकोट ३ र रुकुम पश्चिमबाट २ जना सुत्केरीको उद्दार गरेको छ ।
२ हजार बढीको स्वास्थ्य जाँच
यस वर्ष सेनाले आफ्नो जिम्मेवारीमा रहेका १० वटै जिल्लाहरुमा मेडिकल क्याम्प संचालन गर्ने नीति अनुरुप ४ जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त क्याम्पबाट हालसम्म दैलेखमा ५ सय १४, बाँकेमा ६ सय १७, सुर्खेतमा ४ सय १७ र जुम्लामा ५ सय ४८ जना गरी कुल २ हजार ९६ जनाको स्वास्थ्य परीक्षण गरेको छ । बाँकी जिल्लाहरुमा पनि स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको सेनाले जनाएको छ ।
यस्तै, जिम्मेवारी क्षेत्रका विभिन्न अस्पतालहरुमा भएका बिरामी÷घाईते सर्वसधारणहरुलाई रगत अभाव भएको अवस्थामा सेनाले रक्तदानसमेत गर्दै आएको छ । चालु आर्थिक वर्षको हालसम्म २९ जना सेनाका जवानहरुले सर्वसाधारणका लागि रक्तदान गरेका छन् ।
तराईका जिल्लाहरुमा हुने सर्प तथा विच्छीले डसेका स्थानीय बासिन्दाहरुलाई उपचार गराउन बाँके र बर्दियामा स्थापना गरिएका सर्पदंश केन्द्रबाट यस वर्ष ७१ जनाको सफल उपचारसमेत सेनाले गरेको छ ।
आपत्कालिन उद्दारका लागि हेलिप्याड
नेपाली सेनाबाट प्राप्त हुने बजेट मार्फत सम्पन्न गरिने शिघ्र प्रभाव पार्ने आयोजना अन्तर्गत कर्णालीका विकट स्थानहरुबाट आपत्कालिन हवाई उद्दार कार्यका लागि विभिन्न स्थानमा हेलिप्याड निर्माण गरेको जनाइएको छ ।
गत आर्थिक वर्ष २०७९÷८० मा सेनाले हुम्ला, कालिकोट, डोल्पा र मुगुमा ४ वडा हेलिप्याड निर्माण सम्पन्न भई हस्तान्तरण गरेको थियो । चालु आर्थिक वर्षमा कालिकोटको शुभकालिका गाउँपालिका–५, को सुकटियामा हेलिप्याड निर्माण कार्य सम्पन्न भई हस्तानान्तरण गर्न बाँकी छ, भने जाजरकोटको कुशे गाउँपालिका वडा नं. ६ को थर्पुभर्मामा हेलिप्याड निर्माण काम जारी रहेको उत्तर पश्चिम पृतना सुर्खेतकी जनसम्पर्क अधिकृत सेनानी रेनु शाहले जानकारी दिइन ।
यस्तै, सडक यात्रुहरुको सहजताको लागि सुर्खेतको भेरिगंगा नगरपालिकाको हर्रेमा सार्वजनिक शौचालय तथा सुर्खेतको कटकुवामा यात्रु प्रतिक्षालय निर्माण गरिएको सेनाले जनाएको छ ।
११ सडक निर्माण हुँदै
भौगोलिक कठिनता लगायतका अन्य कारण सरकारले आफैले निर्माण गर्न नसकिने पूर्वाधारहरु बनाएर सेनाले विकास निर्माणमा राज्यसँग साझेदारी गर्दै आएको छ । देशभर निर्माणमा कठिनाई देखिएका विभिन्न राष्ट्रिय गौरवका सडक आयोजना निर्माणको जिम्मा सेनाले लिएको छ ।
जस अन्तर्गत सेनाले कर्णालीका ११ वटा सडक आयोजनाहरु निर्माणको जिम्मा पाएको छ । उत्तर पश्चिम पृतना हेडक्वाटरले विकास निर्माण कार्य अन्तर्गत जिम्मेवारी क्षेत्रमा ११ वटा सडक मध्ये कर्णाली करिडोरका २ स्थान कालिकोटको राताडाँडा र हुम्लाको सुनखाडामा क्याम्प खडा गरी निर्माण कार्य गर्दै आएको छ ।
अन्य ९ सडक आयोजनाहरुको विष्फोटक पदार्थको भण्डारण र ब्लाष्टिङ्ग सुरक्षा गरिरहेको छ । यसका अतिरिक्त फुकोट कर्णाली जलविद्युत आयोजना (४८० मे.वा.) कालिकोट र नलगाड जलविद्युत आयोजना (४१७ मे.वा.) जाजरकोटको विष्फोटक पदार्थको भण्डारण र सुरक्षासमेत सेनाले गर्दै आएको छ ।






