सडक मर्मतमा यात्रुका समस्या बेवास्ता


दैनिक रूपमा कर्णाली राजमार्ग बन्द हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । सडक मर्मत कार्य भइरहेकाले दैनिक तीनदेखि चार घण्टा सडक बन्द हुने गरेको छ । लामो दुरीका सवारीसाधन घण्टौँसम्म रोकिँदा यात्रुले निकै सास्ती पाइरहेका छ ।

कर्णाली राजमार्गको एसमोडलगायत सडकखण्डमा निर्माण कम्पनीले बाटो नै बन्द गरी तीनदेखि चार घण्टासम्म यात्रु तथा मालवाहक गाडी बन्द गर्ने गरेको छ । लामो समय सडक बन्द हुँदा कालीकोट, हुम्ला, बाजुरा, जुम्ला र मुगुलगायतका जिल्लामा पुग्ने यात्रु घण्टौँसम्म जाममा पर्ने गरेका छन् ।

सुर्खेतबाट बाजुरा जाँदै गरेका यात्रु नन्दबहादुर भण्डारीले तीन घण्टा बाटोमै बस्नुपर्दा समयमा घर पुग्न नसक्ने समस्या बढेको गुनासो गरे । यसरी घण्टौँ गाडीलाई जाममा राख्नु यात्रुका लागिसमेत यातना भयो, उनले भने, ‘बिरामी मान्छे, समयमै पुगेन भने कसले जिम्मा लिने हो । ठाउँ ठाउँमा माटो र ढुङ्गाको थुप्रो पारेर गाडी चल्न नदिने काम गर्नु हुँदैन ।’

राजमार्गमा काम गर्दा निर्माण कम्पनीले समय मिलाएर वा उपयुक्त समय तोक्नुपर्ने सुझाव उनको छ । बिहान बेलुका अथवा रातिको समयमा डोजरले बाटो खन्दा यात्रुले दुःख पाउने थिएनन् तर निर्माण कम्पनीले भने आफूखुसी सडक खन्ने र गाडी रोक्ने गरेको छ । यात्रु मात्र होइनन्, यस राजमार्गमा चल्ने मालवाहक गाडीले समेत समस्या झेलिरहेका छन् । समयमा सामान जिल्लामा नपुग्दा अभाव हुने र मूल्यसमेत बढ्ने गरेको छ ।

नियमित गाडी चलिरहने सडकमा समय मिलाएर काम गर्नुपर्ने हो तर निर्माण कम्पनीले आफूखुसी गर्दा समस्या देखिएको छ । यसरी यात्रुलाई सडकमा अलपत्र पारेर दुःख दिन नहुने भनाइ चालकको छ ।

सडक निर्माणको काम राति गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । सडक बन्द गरिएको विषयमा कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले समय मिलाएर निर्माण गर्नुपर्ने भए पनि निर्माणमा खटिनेले मनोमानी गर्ने गरेको सुनाए ।

‘कहिलेकाहीँ ढुङ्गा र माटो पन्छ्याउन समय लागे पनि यात्रुलाई अलपत्र पारेर काम गर्नु हुँदैन,’ उनले भने,‘अबदेखि समयसीमा तोक्ने गरी काम गरिने छ । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर चेतन मण्डलले सडक अवरुद्ध नै पारेर काम गर्न नमिल्ने बताए ।’

काम गर्दा माथिबाट पहिरो खस्छ कि भन्ने चिन्ता हुन्छ, ढुङ्गा, माटो पन्छ्याएर सडकमा सवारी चलाउँदा समस्या हुँदैन उनले थपे । अबदेखि बाटो बन्द गरेर निर्माण नगर्न निर्देशन दिने उनले बताए ।

सडक मर्मतमा यात्रुका समस्या बेवास्ता

सम्पादकीय : विद्युत् प्रशारणलाइनको अवरोध हटाऊ

सडक मर्मतमा यात्रुका समस्या बेवास्ता

देशका केही स्थानमा वर्षासँगै हिमपात