सम्झौता रद्द गरी पेश्की फिर्ता गराउन कार्यालय असफल


नन्दराम जैशी ।
रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजना अन्तर्गत पर्यटकीय पदमार्ग निर्माणको काम अलपत्र परेको छ । पदमार्ग निर्माणका लागि ठेकेदार चन्द्र थकालीले आठ करोड रकम पेश्की समेत लिएका छन् । तर पेश्की लिएको दुई बर्ष पुग्न लाग्दा समेत पदमार्ग निर्माणको काम भएको छैन ।
कर्णाली प्रदेशको प्रमुुख पर्यटकीय स्थलको रुपमा चिनिँदै गएको मुगुको राराताल वरिपरि १५ किलोमिटर पर्यटन पदमार्ग निर्माण गर्ने सम्झौता भएको छ । तर सम्झौता भएको तीन बर्ष पुग्न लाग्दा समेत पदमार्ग निर्माण हुनसकेको छैन ।
पदमार्ग निर्माणको जिम्मा लिएको खानी थोदुुङ क्याराभान कन्ट्रक्सन प्रा.लि. कम्पनीले नै लापरवाही गरेपछि आयोजनाको काम अलपत्र परेको हो । रारामा पर्यटकीय पूर्वाधार साइकल लेन पदमार्ग निर्माणका लागि नेपाल सरकार संघीय सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक बर्ष २०७८÷०७९ मा ४६ करोड ४२ लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटमा रही ठेक्का आह्वान गर्दा क्याराभान कन्ट्रक्सन प्रा.लि. ले ४४ करोड २९ लाखमा निर्माण कार्यको ठेक्का पाएको हो ।
योजना निर्माणको जिम्मा पाएको कन्ट्रक्सन प्रा.लि. का प्रोपाइटर चन्द्र थकालीले आठ करोड पेश्की लिएर केही महिना सम्पर्कविहिन नै बनेका थिए । योजना अलपत्र छाडेर ठेकेदार सम्पर्कविहिन भएपछि सम्पर्कका लागि पटक÷पटक ताकेता समेत दिइएको थियो ।
पर्यटन पदमार्ग निर्माणका लागि ल्याइएका सिमेन्टका इँटा, कंक्रिट जस्ता सामाग्री यत्रतत्र छरपस्ट फालिएका छन् । तोकिएको समयमा काम सक्नेगरी योजना सम्झौता भएपनि ठेकेदार कम्पनीको लापरवाहीका कारण काम अगाडी बढ्न सकेको छैन । जिल्ला वन डिभिजन कार्यालय मुुगुुका कार्यालय प्रमुुख अमर साहका अनुसार उक्त बहुुवर्षीय योजना २०८२ सालसम्म सक्नुुपर्ने भएपनि कम्पनीको लापरवाहीले काम हुनसकेको छैन ।
‘ठेकेदार कहिले सम्पर्क विहिन हुन्छन् त, कहिले काम सुरु गरेजस्तो गर्छन् । तर हाम्रो कुरा मान्दैनन् । यसबारे मुख्यमन्त्री कार्यालयमा समेत गुनासो गरियो’ कार्यालय प्रमुख साहले भने, ‘यसरी ठेकेदारको काम हेर्दा योजना सम्पन्न गर्नु मुस्किल छ । निरन्तर दवाब दिएपछि काम सुरु गरेका थिए । फेरी चिसो मौसमलाई दोष देखाउँदै काम रोकेका छन् ।’
निर्माण गर्नुपर्ने १५ किलोमिटर पदमार्ग मध्ये हालसम्म करिब सात किलोमिटर मात्रै काम भएको छ । तर त्यही काम पनि अधुरो अवस्थामा छ । ‘आठ करोड पेश्की गएको छ । काम अलिकति वहानाको मात्रै भएको छ’ कार्यालय प्रमुख साहले थपे, ‘करिब तीन वर्षसम्ममा पनि सोचेअनुुरूप काम नभएपछि पेश्की फिर्ताको बारम्बार चिठी पठाएका थियौं । तर सुनुुवाई भएन ।’ यता भएको कामको समेत ज्याला नपाएको भन्दै कामदारले गुनासो गरेका छन् ।
पेश्की फिर्ता र सम्झौता रद्द गर्न असफल
ठेकेदारको कामप्रति टिकाटिप्पणी सहित व्यापक आलोचना हुन थालेको छ । तर जिल्ला वन डिभिजन कार्यालय मुुगुु आफै ठेकेदारसँग पेश्की फिर्ता र सम्झौता रद्द गर्न असफल भएको छ ।
पेश्की लिएर काम नगरी लामो समय ठेकेदार सम्पर्कविहिन हँुदा कार्यालयले पेश्की फिर्ता र सम्झौता रद्द गर्नको लागि पटक पटक चिठी पठाएको थियो । कार्यालयको चिठीपछि ठेक्का कम्पनीले योजना सदरको माग गर्दै उच्च अदालतमा मुद्दा हालेको थियो ।
उच्च अदालतमा हालेको पहिलो मुुद्दा २०७९ फागुुन १७ गते रिट निवेदन खारेजपछि कम्पनीले पुनः मुद्दा हाल्दा योजना सदर गर्न आदेश आएपछि काम नगरी करोडौं पेश्की रकम खाएर बस्ने ठेकेदारकै पक्षमा फैसला भएको हो ।
‘कार्यालयको तर्फबाट रकम फिर्ताको प्रक्रियागत उपाय अपनाईएको थियो’ कार्यालय प्रमुख साहले भने, ‘तर योजना सदर गर्न आदेश आएपछि ठेकेदारलाई झन् सजिलो भयो । यही रप्तारले काम नहुने निश्चित छ ।’ उहाँका अनुसार ठेक्का कम्पनीले राज्यको पैसा दोहनगर्ने, काम नगर्ने ब्याज मात्र असुली गर्ने जस्तो देखिएकाले सम्बन्धित निकायमा रकम असुुलीको पत्र कार्यालयले पठाएको थियो ।
यता रारा राष्ट्रिय निकुुञ्जका कार्यालय प्रमुख विश्वबाबु श्रेष्ठले निकुुञ्जभित्र पर्यटकीय पूर्वाधार निर्माण हुने भनिएको बर्षौ भएपनि काम नभएकोमा दुख व्यक्त गरे । ‘निकुञ्जभित्र पूर्वाधार निर्माण हुने भएकाले हामीले अनुुमति दिइका हौं’ उनले भने, ‘तर एकपटक अनुमति लिएपनि निर्माणको काम हुनसकेको छैन ।’
पर्यटकीय पूर्वाधार निर्माण नहुँदा रारा घुम्न आउने पर्यटकलाई समेत असहज छ । भने अर्कोतिर पेश्की लिएर काम अलपत्र छोड्नु राज्यको रकमको दोहन पनि हो । काम अलपत्र छोड्दा राराको सौन्दर्यतामा समेत आँच आएको निकुञ्जका निमित्त वन संरक्षण अधिकृत श्रेष्ठले बताए । यता योजना अलपत्रका विषयमा जानकारी लिनका लागि ठेकेदार चन्द्र थकालीसँग पटक पटक सम्पर्क गर्दा पनि फोन उठाउँदैनन् ।
कार्यक्रम कार्यान्वयनमा कमजोरी
आर्थिक बर्ष २०७६÷०७७ मा पनि कर्णाली प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रारामा पुगेर रारामा साइकल लेन पर्यटकीय पूर्वाधार निर्माणका लागि शिलान्यास समेत गरेका थिए । तर त्यो योजनाले पनि पूर्णता पाएन ।
कर्णाली प्रदेश सरकारबाट पटक पटक बजेट आउने तर काम अगाडि नबढ्ने, बजेट फ्रिज जाने प्रवृत्तिले रारामा सोचे अनुरूप संरचना बन्न सकेका छैनन् ।
कर्णाली सरकारमा कर्मचारीमाथी मन्त्रीहरुको कमजोर प्रस्तुति तथा निर्देशन, कर्मचारीहरुको कामछल्ने प्रवृत्ति तगायतका समस्या र सम्बन्धित निकायको उदासीनताका कारण रारामा पर्यटकीय पूर्वाधारतर्फ भौतिक संरचना बन्न सकेको छैनन् । भने छुट्याईएको बजेट समेत कार्यान्वयन हुनसक्दैन ।
कर्णाली चिनाउने र कर्णालीको अर्थतन्त्रलाई थप बलिायो बनाउन सक्ने सम्भावना बोकेको राराप्रति बाटोको यात्रा र बासका कारण पछिल्लो समय गलत बुझाई बढ्दै गएको छ । भने बाह्य पर्यटकहरु पनि घटेका छन् । तसर्थ राराताल वरिपरी १५ किलोमिटर पर्यटन पदमार्ग समयमै निर्माण भएको खण्डमा पर्यटकलाई समेत यात्रामा सहज हुने देखिन्छ ।






