विमानस्थलमा राजनीति कहिलेसम्म ?

सुर्खेतमा अहिले विमानस्थलको विषय चुलिदो अवस्थामा छ । हाल वीरेन्द्रनगरमै सञ्चालनमा रहेको विमानस्थललाई आगामी दिनमा बन्द हुने हो कि भन्ने शंकाहरु नागरिक स्तरमा उठेको छ । भेरीगंगा नगरपालिकामा अन्र्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण हुने भएपछि अहिले वीरेन्द्रनगरका स्थानीयहरु हाल सञ्चालनमा रहेको विमानस्थल उतै जानेहो कि भन्ने शंकाहरु छन् । राजनैतिक स्तरमा समेत विमानस्थलका विषयमा छलफलहरु भईरहेका छन् । प्रतिनिधि सभामा समेत सुर्खेतबाट प्रतिनिधित्व गरेका नेताहरु पछिल्लो समयमा विमानस्थलका विषयमा आफ्ना भनाई राखिरहेका छन् ।
सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता पूर्णबहादुर खड्का वीरेन्द्रनगरको विमानस्थलका विषयमा वैकल्पिक बाटो हेर्नुपर्ने बताउछन् । सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता हृदयराम थानी भने वीरेन्द्रनगरको विमानस्थल विस्तार गर्नुपर्ने बताउछन् । सुर्खेतबाट नै प्रतिनिधित्व गरेका यि दुई कांग्रेस नेताका विच मतभिन्नता देखिएको छ । यो मत भिन्नताले सुर्खेतमा कांग्रेसको आन्तरिक गुटलाई समेत उजागर गर्छ । यसअघि पनि यि दुई नेताहरु विपरित दुई धुव्रमा देखिन्थे । पछिल्लो समय प्रतिनिधि सभामा कांग्रेस नेताले पश्चिम सुर्खेतका सवालहरुलाई उजागर गरिरहेका छन् । यसका साथै काठमाडौंमा विभिन्न मन्त्रालय धाईरहेका उनी यहाँको सिमेन्ट कारखाना सञ्चालन, सार्वजनिक सेवा प्रवाहमा पहुँचको व्यवस्था लगायतमा सक्रिय भएका छन् । निर्वाचन क्षेत्रगत रुपमा आफ्नो सक्रियता बढाईरहेका यि नेताहरु अहिले विमानस्थलको विषयमा टकरावमा पुनः आईपुगेका छन् । यसअघि विमानस्थलको विस्तारको कुरो चलिरहदा दक्षिण तर्फका नागरिकहरु जग्गाको मुआब्जा नबुझ्ने अवस्थामा पनि गए । आन्दोलित हुँदै उनीहरुले आफ्नो जग्गा विमानस्थललाई नदिने निर्णय गरेका थिए । कर्णालीमा मुख्यमन्त्री समेतले विमानस्थल विस्तारमा चासो दिएपनि प्रदेश सरकारले समेत यसमा नसकेको मान्न सकिन्छ । पछि विमानस्थल विस्तार नहुनेनै भयो । यो विषयमा विमानस्थलको दक्षिण तर्फ रहेको पेट्रोलपम्प समेत जोडिएको त । कांग्रेस नेता खड्काको पारिवारिक व्यवसाय देखिएको सो पेट्रोलपम्प विमानस्थल विस्तार भए त्यहाँ सञ्चालन सम्भावना पनि छैन । अव भने विमानस्थल विस्तारका लागि उत्तर तर्फको केहि भूभाग सम्भावना भने छ । तर केहि मिटर मात्र विमानस्थल विस्तार गरेर यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन भने सकिदैन । यहाँ ठुलाखाले जहाज सहजै सञ्चालन हुने सम्भावना छैन ।
तर, मुख्य विषय के छ भने, अहिले पनि कर्णालीका अन्य विमानस्थलमा वीरेन्द्रनगरबाट नियमित जहाजहरु सञ्चालनमा छैनन् । यहाँ ‘बेस’ बनाएर यसअघि सञ्चालनमा रहेका कम्पनीहरु समेत अहिले नेपालगञ्ज सरिसकेका छन् । नेपालगञ्जलाई नै उनीहरुले कर्णालीका जिल्लामा उडानका लागि आधारभूमि बनाएका छन् । यसले गर्दा कर्णालीको अर्थतन्त्रमा समेत प्रत्येक असर परेको छ । यसका साथै हवाई सेवा पहुँचमा कर्णालीका नागरिकहरु नेपालगञ्जको विमानस्थलसँग जोडिनुपर्ने वाध्यतात्मक परिस्थिती बनेको छ । वीरेन्द्रनगरको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन यहाँ प्राविधिक रुपमा समेत कठिनाई छ । दक्षिण भेगमा रहेका डाँडाहरुले ठुला खाले विमानस्थललाई उडानमा समस्या सिर्जना गर्छन् । केहि वर्ष पहिले नै प्राविधिक अध्ययन गर्न आएको नेपाल नागरिक उड्ययन प्रधिकरणको टोलीले समेत यसलाई प्राविधिक जवाफ सहित जनाएको थियो । वीरेन्द्रनगर माथिको आकाशिय क्षेत्रमा ठुला विमानका लागि चक्कर लगाउने प्रयाप्त स्थान नै छैन । उनीहरुको भनाई अनुसार विमानस्थलको रन–वेमा समस्या सिर्जना भएको समयमा आकाशमा विमानका लागि चक्कर लगाउन ठाउँ चाहिन्छ । त्यहि ठाउँ नै वीरेन्द्रनगरको माथि नरहेको उनीहरुको भनाई थियो । भेरीगंगामा विमानस्थल निर्माणको प्रक्रिया शुरु र वीरेन्द्रनगरमा सञ्चालनमा रहिरहेको विमानस्थलका विषयमा भने अव दुवैलाई सञ्चालन गर्नेगरी अघि बढ्न जरुरी छ । भेरीगंगाबाट अन्तर्राष्ट्रिय उडानका सेवा र वीरेन्द्रनगरबाट भने कर्णालीमा आन्तरिक उडान सेवा सञ्चालन हुनुपर्छ । यसले सुर्खेतको पूर्विय भेग र पश्चिमी भेगलाई एक स्थानमा ल्याउछ । विमानस्थल विषयमा हाल वहस गरिरहेका राजनैतिक दलका नेताहरुले यो बुझ्न जरुरी छ, विकासका पूर्वाधार भनेकै सबै नागरिकले महशुस र प्रयोग गर्न पाउनु भन्ने हो ।






