बेपत्ता मेजर विमल पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो

सुर्खेत ।
डोल्पामा मंगलबार भेटिएको शव गुल्मपति बिमल पण्डितकै भएको पुष्टि भएको छ।
मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा उनको शव माछा मार्न गएका स्थानीयहरूले फेला पारेका थिए । लगत्तै उनीहरूले खदाङ प्रहरीलाई जानकारी गराएका थिए ।
डोल्पाका प्रहरी प्रमुख, डिएसपी शिव बुढाथोकी, नेपाली सेनाको टोलीले बगाएर ल्याएको अवस्थामा भेरी नदीको चेपबाट शव निकालेको थियो । उक्त शवलाई सदरमुकाम ल्याएपछि औंठी र घडीको सहायताले पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।
‘मंगलबार बिहानै खदाङस्थित भेरी नदीको चेपमा ढुंगाको बीचमा एउटा शव बगाएर ल्याएको छ भन्ने खबर आयो। नेपाली सेना र प्रहरीहरू त्यहाँ पुगेर शव निकालेर सदरमुकाम ल्यायौं । धेरै दिनदेखि शव पानीमा रहेकाले अनुहारबाट पहिचान नै हुन सकेन। सदरमुकाम ल्याएपछि उहाँको बुवाले शवको पहिचान गर्नुभयो,’ डिएसपी बुढाथोकीले जानकारी दिए ।
सेनानी पण्डितको शव मंगलबार राति नै पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको पनि बुढाथोकीले जानकारी दिए ।
डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए ।
उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ । जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार उनले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो भाडामा लिएका थिए ।
‘ब्यारेक नजिकैबाट त्रिपुराकोट र त्यहाँभन्दा माथितिर पनि गाडी जान्छ। वर्षाको बेला भएकाले लामो दूरीसम्म त चल्दैन,’ डिएसपी बुढाथोकीले भने, ‘उहाँले गाडी भाडामा लिएर माथि जानु भएको रहेछ ।’
सेनानी पण्डितसँग त्यस गाडीलाई भाडा तिर्न नगद साथमा नभएको खुलेको छ । उनले चालक बस्नेतलाई ‘खाता नम्बर छ, अनलाइन पे गर्दिन्छु’ भनेका रहेछन् ।
चालकसँग बैंकको खाता नम्बर नभएकाले गाडीबाट ओर्लिएर तीन–चार वटा पसलेसँग डिजिटल भुक्तानीबारे सोधेका थिए। पसलेहरूले नभएको बताएपछि चालकले साहुसँग भेटाइदिएको अनुसन्धानबाट देखिएको छ ।
त्यसपछि सेनानी पण्डितले २६ हजार ५ सय रुपैयाँ खातामार्फत् ट्रान्सफर गरेको र आफूले नगद लिएका थिए । लिएको नगदमध्ये ६ हजार ५ सय गाडी भाडाबापत् भुक्तानी गरेका थिए ।
गाडीबाट ओर्लिएर एउटा पसलमा चप्पल, झोला बोकेर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।
प्रहरीले गाडी चालक बस्नेतसँग पनि सोधपुछ गरेको थियो। उसले सुरूमा सेनानी भन्ने थाहा नपाएको र गाडीमा चढेपछि पण्डित निकै हतास देखिएका थिए। गाडीमा चढेका बेला उनको दुई–तीन पटक फोन आएको थियो। सेनानी पण्डितले फोनमा बोलेको पनि ती चालकले बताएका छन् ।
उनको मोबाइलको अन्तिम लोकेशन त्रिपुराकोटमै देखिएको थियो। सेनानी पण्डितले गाडीभित्र चढेका बेला ‘जति भाडा परे पनि तिर्छ माथिसम्मै पु¥याइदेउ’ भनेका थिए । तर, पुल नभएको र बाटो बिग्रिएकाले जान नसक्ने बताएपछि उनी त्रिपुराकोटमै उत्रिएको अनुसन्धानमा खुलेको छ।






