अन्तर्राष्ट्रिय बजारमा कर्णालीको सुगन्धित तेल

पुनम वि.सि.
सुर्खेत,१६ मंसिर ।
नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ ।
विभागका अनुसार औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको वनस्पतिविज्ञहरुले विगतदेखि बताउँदै आएका छन । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने गरेको विज्ञहरुको भनाई छ ।
त्यसैलेपनि कर्णालीबाट ७९ प्रकारका जडिबुटी निर्यात गरिन्छ । कर्णालीमा एक सय ४७ जातको बुडिबुटी पाइने अनुमान गरिएपनि प्रशोधन त टाढाकै कुरा भयो एउटा गतिलो संकलन र भण्डार गर्ने ठाउँसमेत नहुँदा भण्डारणका लागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ । यहाँका अधिकांश जडिबुटी बाह्य देशमा निकासी समेत हुँदै आएको छ ।

सरकारी तथ्यांक अनुसार वार्षिक रुपमा करिव १२ हजार मेट्रिक टन जडिबुटी कर्णालीले निर्यात गर्दै आएको छ । तर ती सबै जडिबुटी प्रशोधनबिना कच्चापदार्थका रुपमा नै निर्यात हुने गरेको पाइएको छ । प्रदेश वन निर्देशनालयको तथ्यांक अनुसार कर्णालीले आर्थिक वर्ष २०७८÷०७९ मा जडिबुटीतर्फ राजस्व संकलन मार्फत कुल तीन करोड ३६ लाख नौं हजार पाँच सय ८८ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
तर कच्चा पदार्थको रुपमा मात्र बहुमूल्य जडिबुटी प्रदेशबाट बाहिर निर्यात हुँदा स्थानइीस्तरमै यसको उच्चतम् उपभोग नभएको देखिन्छ । प्रदेशमै कच्चा पदार्थको प्रशोधन गरी तयारी सामाग्री मात्र निर्यात गर्न सके अन्तर्राष्ट्रिय बजारमा कर्णालीबाट समेत मागपूर्ति हुने तथा प्रदेशलाई आम्दानीको थप स्रोत समेत प्राप्त हुनसक्ने अवस्था छ ।
यसै अवधारणाका साथ वीरेन्द्रनगरमा सुगन्धित तेल उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना भएको छ, ‘बायोकर्णाली एरोमा ।’ कर्णालीमा उपलब्ध जडिबुटीको पात, काण्ड तथा जरालाई वाष्पीकरण विधिबाट तेल उत्पादन गरी उद्योगले युरोपको बजारमा निर्यात समेत सुरु गरिएको छ ।
अन्र्तराष्ट्रिय बजार लम्केका चार उत्पादन १५ मिलिलिटर झोल भएको साना डिब्बा छन्, कर्णालीमा भरिएका यी डिब्बा अहिले स्पेन र जापानका लागि पठाई सकिएको छ । ‘भलेरियन, लेमन ग्रास, युकलिप्टस र क्याम्फर’ नाम गरेका फरक–फरक चार वटा उत्पादनलाई बजार परीक्षणका लागि स्पेन र जापान पठाइएको उद्योगका सञ्चालक राजेन्द्र विष्टले जानकारी दिए ।
‘प्रत्येक उत्पादन करिब ६० वटा जत्ति हामीले बाहिर पठाएका छौँ, यी सामाग्रीका बारेमा राम्रै प्रतिक्रिया पाएका छौँ । उनले भने, अब भने धेरै मात्रामा यसको उत्पादन हुन्छ होला ।’ यी उत्पादनहरुलाई सौन्दर्य, सुगन्ध चिकित्सा, स्वच्छ–सरसफाईका क्षेत्रमा प्रयोग गर्न सकिने विष्टले जानकारी दिएका छन ।
सामान्य आँखाले हेर्नुपर्दा यी उत्पादनहरु अन्य तरल पदार्थसँग मिश्रण गरी प्रयोग गर्ने हो । खासगरी युरोपको बजारमा योग उपचारलगायतका क्षेत्रमा यस्ता अर्गानिक उत्पादनको माग बढी हुने विष्ट बताउँछन् । यसका साथै जडिबुटीको प्रयोगले धुप, छालामा लगाउने ‘क्रिम’लगायतका क्षेत्रमा उद्योगले अन्य उत्पादनहरु निर्माण प्रक्रिया समेत सुरु गरेको उनले जानकारी दिए ।
कच्चा पदार्थ र नीतिगत असहजता वीरेन्द्रनगर नगरपालिका नै स्थायी ठेगाना रहेका उद्योग सञ्चालक विष्ट जैविक रसायनमा स्नात्तकोत्तर गरेका युवा हुन् । कोभिड–१९ संक्रमणकालिन समयमा बाहिरी जिल्ला र देशबाट आउनुअघि नै वीरेन्द्रनगरमा ‘सेनिटाइजर’ लगायतको उत्पादन गरेका थिए ।
यसतर्फ स्वास्थ्य सरसफाई सामाग्री उत्पादनका लागि उनको छुट्टै अर्को उद्योग सञ्चालनमा नै रहेको उनले बताए । कर्णालीबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने उद्देश्यले उनले २०७९ वैशाखमा बायो कर्णाली एरोमा उद्योग सञ्चालनमा ल्याए। आफ्नै प्रयोगशालामा परीक्षण गरी उनले ‘भलेरियन, लेमन ग्रास, युकलिप्टस र क्याम्फर’ नामक चार उत्पादनको निर्माण गरेका हुन् ।
तर उद्योगलाई आवश्यक कच्चा पदार्थ आयातलगायतको समस्याले भने छाडेन । ‘उद्योगको लागि आश्यक जडिबुटी ल्याउन पनि समस्या भयो । हाम्रो प्रक्रिया नै झन्झटिलो छ । विष्ट सम्झन्छन्, ‘कच्चा पदार्थको लागि एक वर्ष पहिले वन कार्यालयमा निवेदन दिनुपर्छ ।
उद्योगले चाहेको वेलामा हामी कच्चापदार्थ ल्याउनै सक्दैनौँ ।’ कर्णालीमा व्यवसायीक जडिबुटी खेती सुरु भएतापनि किसानले निर्वाध रुपमा आफ्ना उत्पादन बिक्रि गर्नसक्ने अवस्था अहिलेसम्मपनि नरहेको हुँदा त्यसको प्रत्यक्ष असर उद्योगलाई समेत परेको छ ।
उनले भने, ‘अब २५ केजी जडिबुटी ल्याउन मलाई साह्रै गाह्रो भयो । सबै ठाउँमा कागजपत्रका प्रक्रिया पेश गर्दै जाँदा प्रक्रिया पनि लम्बिने हुँदा उद्योगमैत्री नीति नभएको महशुस भयो ।’ यसका साथै कर्णालीमा जडिबटी परीक्षण सम्वन्धिको प्रयोगशालाको अभावले समेत उद्योगलाई असर पु¥याएको छ ।
अन्र्तराष्ट्रिय बजारमा पु¥याउने उत्पादनका लागि प्रयोगशाला परीक्षण आवश्यक छ । त्यसका लागि कर्णालीमा रहेको उद्योगले काठमाडौं नै धाउनुपर्ने हुन्छ । जसका कारण उत्पादन लागत समेत बढ्न जान्छ र उत्पादित सामाग्रीले अन्र्तराष्ट्रिय बजार मूल्यसँग प्रतिष्पर्धा गर्दा समस्या हुने उनले बताए ।
निर्यात भईरहने जडिबुटी
कर्णालीका हिमाली जिल्लाहरुबाट जुडिबुटीहरु धेरै मात्रामा निर्यात भएको देखिन्छ । कर्णालीबाट निर्यात हुने ७९ प्रकारका जडिबुटीहरुमा अत्तीस, अमलवेद, अमला, अल्लो, अल्लोधागो, अल्लोबोक्रा, कराचुल्ठे, काकंरसिगे, काउलो (दाना÷बोक्रा), कालो काठको दाना, कालो मसुली, कुट्की, कुरिलो, कुरिलोजरालगायतका जडिबुटी रहेका छन् ।
यसैगरी खिरौला, गिठी (बोक्रा), गुच्ची च्याउ, गुजरगानो, गुडमार, गुराँसको फूल, गुर्जो, गोकुलधुप, घोडताप्रे, घोडा मच्चा, चिउरी, चिराईतो, चुत्रो÷चुत्रोको बोक्रा, जटामसी, टिमुर, ठटेला÷ढटेलो, डालेचुक, ढडेलमे, तीगेडी, तीतेपाती, तेजपात, तेलाली काठ÷फुरु (पीस), दालचिनी, धुपीपात (बोक्रा÷गेडा), पदमचाल, पानी अमला, पावन बोक्रा, पाषण वेद, बज्रदन्ती, बाँस (घना), बायोजडी, बुकीफुल, बोझो÷बोझोको जरा, भिर मह, भुतकेश, भृंगराज, भोजपत्र, मइन (लाहा) जडिबुटीहरु कर्णालीले निर्यात गर्ने गरेको छ ।
मजिठो, मह, यार्सागुम्बा, रातो च्याउ, रिठ्ठा, लोक्ता, वन आलु, वन प्याज, वन लसुन, विष, विषजरा, विषफेज, शिलाजत्ी, सजिवन, सतावरी, सतुवा, सात गाठे, साधारण च्याउ, सिल्टीमुर, सिस्नु (पात÷डाँठ÷पाउडर÷जरा), सुगन्धवाल, सुनपाती, सेतकचिनी, सेतो मसुली, सोमलता, स्लेटपत्थर र हर्रोलगायतका जडिबुटी कर्णालीबाट निर्यात हुने प्रदेश वन निर्देशनालयको तथ्यांक छ ।






