सरकारी पाठ्यपुस्तकमा अनियमिताको आरोप लगाउँदै कार्यालय प्रमुखलाई कालो मोसो

सुर्खेत, ५ भदौं ।
सरकारी पाठ्य पुस्तक वितरणमा अनियमितता गरेको आरोपमा जनक शिक्षा सामाग्री केन्द्रका प्रादेशिक कार्यालय प्रमुखलाई कालो मोसो दलिएको छ । जनक शिक्षा सामाग्री केन्द्रका कर्णाली प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीलाई अखिल क्रान्तिकारीले कालोे मोसो दलेको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले प्रमुख केसीलाई मोसो दलेको हो ।
शैक्षिक सत्र शुरूभएको चार महिना बित्तिसक्दा पनि समयमै कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपु¥याएको भन्दै मोसो दलिएको हो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका निकट विद्यार्थी संगठन क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज तुलाराम तिरुवाको संयोजकमा प्रमुख केसीलाई मोसो दलेका हुन् ।

उनीहरुले मनोमानित ढंगले पुस्तक वितरण गरी पुस्तक व्यवसायीसँग करोडौं कमिसन लगेको, हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र ढुवानीबाट लाखौं कमिसन आएको आरोप लगाएका छन् ।
यस्तै, सरकारी कार्यालयलाई निजी पैतृक सम्पत्तिको रुपमा प्रयोग गर्ने र कार्यालयमा विवाह ब्रतबन्ध जस्ता कार्यक्रम गरेको उनीहरुको आरोप रहेको छ । यस्तै, विद्यार्थीहले प्रमुख केसीलाई मोसो दलेको कुरा सत्य रहेको उक्त कार्यालयका एक कर्मचारीले जानकारी दिए । उनकाअनुसार मोसो दल्नेहरु फरार रहेकोले उनीहरुको खोजी कार्य प्रहरीले गरिरहेको छ ।





