वीरेन्द्रनगरमा जात्राको रौनक : संस्कृति जोगाउने धुइरो

सिर्जना बुढाथोकी/सुर्खेत
विषेशगरी नाग पञ्चमीका दिनदेखि विधिवत रूपमा लाखे नाच नचाउँन शुरु गरिन्छ । नाग पञ्चमीको दिनदेखि विधिवतरूपमा उद्घाटन शुरु गरेर नाचलाई श्रीकृष्ण जन्माष्टमीका दिनसम्म निरन्तरता दिने गरिएको छ । यसैबीचमा पितृपक्ष गाईजात्रा पर्वपनि पर्दछ ।

अष्टमीका दिन दिनभरको प्रदर्शनीपश्चात राति विधिवत् रूपमा नाचलाई विसर्जन गर्ने चलन छ । टाउकोमा मुकुट लगाएर देवी–देवताका पहिरनमा परम्परागत् बाजागाजासहित नाच्दै बजार र चोक परिक्रमा गर्दा सबै उमेर समूहका मानिसले मनोरञ्जन प्राप्त गर्दछन् ।

लाखे नाच हेर्न बजार तथा चोकमा मानिसहरूको ठूलो घुइँचो नै लाग्ने गर्दछ । नेवार समुदायको संस्कृतिमा पर्ने लाखे नाच पछिल्लो समय सबै समुदायको सद्भाव पर्वको रूपमा लोकप्रिय बन्दै गएको छ । सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपाल, भूगोलको दृष्टिले विश्वमा सानो भए पनि प्राकृतिक, धार्मिक र सांस्कृतिक रुपमा विश्व मै धनी फरक पहिचान भएको मुलुकमा पर्दछ ।

बहुजाति र बहुभाषीको बाहुल्यता रहेको हाम्रो समाजमा विभिन्न जातजातिका आ–आफ्ना धर्म र मौलिक परम्परागत मान्यता बोकेका संस्कृतिहरू छन् । कतिपय परम्परागत संस्कृतिहरू लोप भएर गएका छन् भने कतिपयको जगेर्नामा पछिल्लो पुस्ता लागिपरेका छन् ।

हामीसँग हाम्रा पुर्खाहरुले परापूर्वकालदेखि मनाउँदै आएका परम्परागत धार्मिक र सांस्कृतिक महत्वका अनगिन्ती संस्कृतिहरू विधमान छन् । हाम्रा कतिपय संस्कृतिहरु आफैमा सुन्दर र आकर्षक छ । यस्ता सुन्दर र आकर्षक संस्कृतिहरूले हामी नेपालीहरुको मात्र होइन विदेशी आगन्तुकहरुको समेत मन छुन सफल भएको छ ।

त्यस मध्ये नेवार समुदायको संस्कृतिमा पर्ने लाखे नाच जसले धार्मिक र सांस्कृतिक दुवै महत्व बोकेको विश्वास गरिन्छ । लाखे नाचको शुरुवात काठमाडौं उपत्यकाबाटै भएको जनविश्वास छ । त्यसपछि विस्तारै बाहिरी जिल्लाहरुमा पनि लाखे नाच नचाउन शुरु भएको मानिन्छ ।

वीरेन्द्रनगरको वडा नं. ९ को लाटीकोइलीमा वर्षौ अघिदेखि जात्रा मनाइन्छ । तर पहिले पहिले जस्तो रौनक अहिले नभएको स्थानीयको भनाई छ । लाखे जात्रा हाम्रो सँस्कृति हो यसलाई बचाउन राख्न आवश्यक छ तर पहिले हाम्रापालामा त जात्राको उद्देश्य भनेको फरक थियो वर्षामा काममा व्यस्त हुने सबैको काम सकिएपछि भेटघाट हुने एउटा माध्यम भएको स्थानीय सोम जी.सीले बताए ।

‘पहिले हाम्रा बेलामा बाजागाजानी फरक हुन्थ्यो, जात्रामा जिल्ला भरिका मान्छे एकैठाँउ आउथे करिब १० हजार बढि हुन्थे’, उनले भने, ‘अहिले त पाका मान्छे कम भए केटाकेटीले आफ्नो रमाइलोका लागी आधुनिकतातिर लग्दैछन्’ । विस्तारै सँस्कृति पनि आधुनिकतातिर ढल्दै गएको छ यसको जर्गेना गर्नु पर्छ ।

के हो लाखे ?
कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन छ । साथै गाऊ घर, टोलमा रोगिब्यादिहरु बाट छुट्कारा पाउन भनेर गथामुग को भोलिको दिन बाट लाखेको नाच निकाालिन्छ ।

लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । लाखे नाचका क्रममा स्थानीय लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ्र ।

नेवारको जात र स्थान अनुसार लाखेनाच फरक–फरक तरिकाले नचाइने गरिन्छ । साधारण लाखे नाच जुनसुकै बेलामा पनि देखाउने भए पनि मजिपाः लाखे नाच भने इन्द्रजात्राको अवधिमा मात्र देखाइन्छ । अरु बेला यो लाखे निकालिँदैन । त्यसैले लाखे नाचको वास्तविक रमाइलो इन्द्रजात्रामा प्रत्यक्ष देख्न पाइन्छ । साधारण लाखे नाच नेपालमा उपत्यका बाहेक नेवार जातिको बसोवास भएको ठाउँ पनि देखाउने गरिन्छ ।

यसरी देखाइने लाखे नाच हेर्नको लागि ग्रामीण पर्यटक समेत जम्मा हुने र लाखे नाच हेर्ने प्रचलन छ । यसकै एउटा पाटो भनेको टाकटुके हो । टाकटुके भन्नाले डोकोलाई धोतीले बेरेर त्यसको माथी टाउको हात बनाएर चोलो लगाइदिने अनि शल ओढाएर शिरको भागमा दिवगंत भएका आफ्ना सदस्यको फोटो टासेर त्यस डोकोको भित्र मान्छे छिरेर नचाउने गरिन्छ ।

नेवार समुदायले आफ्नो परिवारको सदस्यको मृत्यु भएको दुःखद घडिमा पितृको सम्झनामा टाकटुके नचाउने र गाईहरु बनाएर उनीहरुलाई मीठो परिकार बनाएर खुवाएपछि पितृको आत्मा खुशी हुन्छ भनेर यो जात्रा निकाल्ने गरेको बताउँछन् । यो दिन गाईलाई दिएको खानेकुराहरु पितृले पाउँछन् र पितृले आर्शीवाद दिन्छन् भन्ने चलन रहेको छ ।

सँस्कृतिको जर्गेना गर्न आवश्यक
अनेकौं विविधता र संस्कारहरू बीच एकतामा रमाउने हामी नेपाली । हामी माझ विधमान यस्ता मौलिक र परम्परागत, धार्मिक र सांस्कृतिक महत्वका चाडपर्व झाँकी तथा नृत्यहरूको संरक्षण र सम्बद्र्धन गर्न जरूरी छ । हाम्रा असंख्य संस्कृतिहरूका कारण विश्वमा हामी फरक छौं ।

फरक पहिचानको बलियो आधार तयार पार्ने जिम्मेवारी हाम्रै हो । ऐतिहासिक, धार्मिक, संस्कृति, सम्पदा संरक्षण र सम्बद्र्धन गरी मुलुकलाई विदेशी पर्यटकहरूको रोजाइको गन्तव्य बनाउन सके पक्कै पनि मुलुकको अर्थ व्यवस्थामा सुधार ल्याउन सकिन्थ्यो ।

वीरेन्द्रनगरमा जात्राको रौनक : संस्कृति जोगाउने धुइरो

सम्पादकीय : निरन्तर निगरानी

Leave a comment

Your email address will not be published. Required fields are marked *