व्यवसायीक भैँसी पालनले बढायो आम्दानी

पुनम विसी
सुर्खेत, १० असार ।
लेकवेशी नगरपालिका–९ कालतडीका सन्तोष खाम्चा, आफुलाई संघर्षशिल व्यक्ति भन्न रुचाउँछन् । आठ कक्षासम्मको औपचारिक शिक्षा पछि खाम्चाले विभिन्न पेशा तथा व्यवसाय अंगाले, तर यस अघिका कुनै व्यवसायमा सफलता भने पाउन सकेनन् ।
उनले होटल व्यवसाय, फेन्सी पसल, यातायातको व्यवसाय पनि गरे तर उनका ती व्यवसायहरु कुनै पनि फष्टाएनन् । यसअघिका सबै व्यवसायलाई उनलाई आर्थिक रुपमा झन् कमजोर बनाउँदै लगेपछि अन्त्यमा उनले भैँसी पालन व्यवसाय रोजेका छन् ।
४२ वर्ष उमेरका खाम्चाको अहिले मासिक एक लाख रुपैयाँ आम्दानी छ । आफ्नै घरखेत छेउमा उनले भैँसीपालन व्यवसाय सञ्चालन गरिरहेका छन् । अहिले उनीसँग २७ वटा भैँसीलगायत यसका बाँच्छाबाच्छीछन् । ९ वटा भैँसीले दुध दिएका छन् भने अरु बाँकी १८ वटा साना बाच्छाबाच्छी हुन् । खाम्चासँग उनका परिवारका अन्य सबै सदस्य अहिले भैँसी पालनमा जोडिएका छन् ।

उनकी श्रीमती र छोरा पनि यहीँ व्यवसायमा छन् । परिवारले सदरमुकामसम्म दुध पुरयाउन अटो रिक्सा किनेको छ । छोराले अटोरिक्सामा सदरमुकाम दुध पु¥याउने काम गर्छन् । अन्य समयमा यात्रु बोक्ने पनि भएकै छ । उनले भने, ‘विहान र बेलुका दुई पटक दुध पुरयाउन सदरमुकाम जानुपर्छ । फर्कने बेला यात्रु ल्याएर आउँछौं ।’ खाम्चाले भैँसी पालन व्यवसाय सञ्चालन गरेको तीन वर्ष भईसकेको छ ।
यस तीन वर्षमा उनले भैँसी पालन व्यवसायलाई थप बृद्वि समेत गरेका छन् । उनले भने, ‘व्यवसायकै आम्दानीबाट व्यवसायलाई विस्तार गरेको छु।’ ‘अरु व्यवसाय गर्दा लागेको ऋण महिनाको ५० हजारका दरले तिर्दै आएको छु’, उनले भने, ‘एक वर्षपछि आउनु भयो भने ५० भन्दा धेरै भैँसी देख्न पाउनुहुनेछ ।’
विद्यालय अध्ययनरत रहदै गर्दा उनी भागेर भारत पुगे । साथीभाईसँग रोजगारीका लागि उनले भारतका विभिन्न होटल तथा रेष्टुरेन्टमा काम समेत गरेका छन् । त्यसैको अनुभवका आधारमा उनले वीरेन्द्रनगरमा ‘सन्तोष चिया चमेना गृह’ सञ्चालनमा ल्याए । तर यस व्यवसायमा उनी सफल हुन भने सकेनन् । त्यसमा सफल नभएपछि गंगटे बजारमा कुखुराको मासु पसल समेत उनले सञ्चालनमा ल्याए ।
उनी त्यसमा पनि सफल भएनन् । त्यसपछि फेरी उनी यातायात सेवामा प्रवेश गरेर ट्याक्टर र बस खरिद गरि सञ्चालनमा ल्याउन थाले । यस व्यवासयले उनलाई थप ऋणको भारी बोकायो ।
उनी प्रत्येक व्यवसायमा असफल बन्दै गईरहेका थिए । पटक पटक व्यवसायमा असफल भईरहदा उनमा हरेस भने आएन । उनी भन्छन्, ‘व्यवसायमा असफल भएपनि म कहिल्यै थाकिन । बरु संधै अघि लागिनैरहे ।’
हाेटल व्यवसाय, कुखुरापालन, फेन्सी पसललगायत सञ्चालन गरेर ऋण थपिँदै गएपछि उनी विदेशीने तयारीमा समेत पुगेका थिए । रोमानीया जानका लागि काठमाण्डौं पुगेका उनलाई छिमेकीले कृषि व्यवसाय गर्न सुझाए ।
‘ऋणको भारीले च्याप्न थालेपछि विदेश जान काठमाण्डौं पुगेको थिएँ, छिमेकीले कृषि व्यवसायमा लाग्न दिएको सुझाव अनुसार गाउँ फर्केर भैँसी पाल्न थालेको हुँ’, उनले भने, ‘भारतमा मजदूरीदेखि नेपालमा होटल, कुखुरा, फेन्सीलगायतका व्यवसाय गरेँ, ती व्यवसायबाट फाइदा हुनुको सट्टा ऋण थपिँदै गएको थियो ।’ खाम्चा अहिले आफूले सुरु गरेको भैँसीपालन व्यवसायबाट पूर्ण सन्तुष्ट छन् ।

भैँसीपालन व्यवसाय फस्टाउँदै गएकाले उनी नयाँ गोठ पनि बनाउँदैछन् । कृषि ऋण लिएर समूह, सहकारी र व्यक्तिको ऋण तिरेका छन् । ‘दुध बेचेरै महिनाको ५० हजार बैंकको ऋण तिर्ने गरेको छु, बाँकी रकम समूह र सहकारीमा जम्मा गर्छु,’ उनले भने, ‘ढिलो वृद्धि फि¥यो, पहिल्यै गाउँ आएर यो व्यवसाय गरिदिएको भए ऋणमा डुब्नुपर्ने त थिएन ।’ खाम्चाले भैँसीसँगै बाख्रा र बंगुर पनि पालेका छन् ।
उनी भन्छन्, ‘यस अघि त फेन्सी पसल थियो, बाहिरबाट सामान ल्याउने र केही फाइदा खाएर बेच्ने व्यवसाय भएकाले फाइदा धेरै नभए पनि घाटा नहोला भन्ने थियो ।
सामान जति उधारो गयो, समूह, सहकारी र साहुबाट लिएको ऋणको व्याज बढ्दै गएपछि विदेसिने तयारी गरेको थिएँ ।’ तीन वर्षदेखि उनी गाउँमा भैँसीपालन व्यवसाय गरिरहेका छन् । दैनिक ५० लिटरबढी दुध सदरमुकाम वीरेन्द्रनगर ल्याएर विक्री गर्छन् । भैँसी पालेरै अहिले महिनाको एक लाख रुपैयाँ जति कमाउने उनी बताउछन् ।
‘यताउति नभौतारिए यहीँ व्यवसाय पहिलेदेखिनै गरेको भए अति राम्रो हुन्थ्यो, अहिले सम्झेर पछुताउने गरेको छु’, उनले भने । यता कालतडीकी जैसरा विर्कटाले पनि दुई वर्षदेखि छ वटा भैँसी पालेकी छन् । उनी दैनिक २० लिटर दुध विक्री गर्छिन् ।

‘पहिले व्यवसाय केही दिएन्, श्रीमान कालापहाड (भारत) जानुहुन्थ्यो, उहाँले कमाएर पठाएको पैसाले जोहो चलाउँथ्यौं,’ उनले भनिन्, ‘भैँसी पाल्न थालेदेखि दुध बेचेरै महिनामा २५–३० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छौं ।’ विर्कट्टाका छोरा अध्ययनका लागि काठमाडौंमा छन् ।
छोराको खर्च पनि घरबाटै पठाउने गरेको उनको भनाई छ । ‘विहान र बेलुकी दुई पटक जम्मा भएको दुध वीरेन्द्रनगरमा जान्छ,’ उनले भनिन्, ‘हप्ता–हप्तामा पैसा घर आइपुग्छ ।’
खाम्चा र विर्कट्टाजस्तै यहाँका २७ जना कृषकले भैंसीपालन व्यवसाय गरिरहेका छन् । भैँसीपालक कृषकले कालतडी भैंसीपालक कृषक समूह गठन गरेका छन् । उक्त समूहलाई संघीय सरकारको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी)ले सहयोग पनि गरिरहेको छ ।
‘भकारो सुधार, मेसिनरी सामाग्री, घाँस, कुलोलगायतमा एएसडीपीले सहयोग गर्दै आइरहेको छ,’ समूहका सचिव दिपककुमार ढकालले भने, ‘ पहिले सबै कालापहाड जान्थ्यौं, अहिले गाउँमा भैंसीपालन व्यवसाय गरिरहेका छौं ।’
उत्पादनसँगै बजारीकरणमा एएसडीपीको सहयोग
खाम्चा र विर्कट्टालगायतका धेरै कृषकलाई हाल नेपाल सरकारको कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) मार्फत सहयोग प्राप्त हुन थालेको छ ।
कृषि उत्पादन, बजारीकरण, कृषि सडक, सिंचाईसँगै कृषकहरुलाई कृषि विकास बैंकमार्फत ऋण दिनका लागि सहयोग र सहजीकरण गर्ने गरिएको एएसडीपीका कार्यक्रम संयोजक विनोद भट्टराईले जानकारी दिए ।

यसका साथै एएसडीपीले कृषकहरुलाई वित्तिय साक्षरताका साथै व्यवसायिक योजना निर्माण, पोषण कक्षा पनि सञ्चालन गर्ने गरेको छ । एएसडीपीका कार्यक्रम संयोजक भट्टराईले भने, ‘हाम्रो सानो सहयोगले कृषकहरुका लागि धेरै उपलब्धी हाँसिल गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।
कृषकहरुको पनि लागत सहभागीता रहने गरेर उत्पादन, बजारीकरण, कृषि सडक, कुलोसँगै वित्तिय साक्षरतासम्म हामीले सहयोग र सहजीकरण गर्ने गरेका छौं ।’ यसका साथै कार्यक्रम मार्फत एएसडीपीले सामुदायिक कृषि प्रसार सेवा केन्द्र समेत सञ्चालनमा ल्याएको छ ।
सेवा केन्द्रमार्फत कृषकका पशु– चौपाया, अन्नवालीमा देखिएका समस्याको सेवा प्रदायकमार्फत समाधान गर्नुका साथै उनीहरुका उत्पादनको बजारीकरणमा पनि सहज भएको छ ।






