रुग्ण आयोजनालाई लयमा ल्याउँदै भौतिक मन्त्रालय

सुर्खेत, १० असोज । 

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले रुग्ण आयोजनालाई लयमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् । मन्त्रालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विसं २०७७–२०८० सम्मका १९ रुग्ण आयोजना रहेको बताउँदै मन्त्री खड्काले कार्यान्वयन आउन नसक्ने ती आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अगाडि बढ्ने बताए ।

उनले भने, “कर्णाली प्रदेश सरकारको पहिलो कार्यकालका १८ रुग्ण आयोजना छन् । दोस्रो कार्यकालमा मुगुको दोमुख तारापनी गमगढी नाक्चेलाग्ना जोड्ने एउटा आयोजनालाई बहुवर्षीय बनाइएको थियो त्यो अलपत्र अवस्थामा छ ।”

त्यसैगरी, आयोजनाको प्रभावकारी कार्यान्वयन गरी दायरालाई बढाउने बताउँदै उनले बर्सेनि बढ्दै गएको बेरुजु घटाउन भरपुर प्रयास गरिने जनाए । उनका अनुसार जाजरकोट भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको अधिकार सङ्घीय सरकारसँग भएकाले उक्त कार्यले पूर्णता पाउन नसकेकाले प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव अर्जुनकुमार बमले आयोजना बैंकका हिसाबले सात प्रदेशमध्ये कर्णाली अब्बल रहेको दाबी गरे । आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयको बजेट रु ११ अर्ब तीन करोड ६५ लाख ५६ हजार थियो । सो आवमा रु पाँच अर्ब ४३ करोड १२ लाख ४७ हजार अर्थात् ४९.२१ प्रतिशत खर्च भएको थियो  ।

चालु पूँजीगत खर्च बढाइने उनले बताए । मन्त्रालयका बजेटको आकार धेरै ठूलो तर जनशक्ति थोरै भएकाले खर्च नहुने समस्या आएको उनको भनाई थियो । सचिव बमले रु दुई करोडभन्दा माथिका आयोजनाको मूल्याङ्कन जनशक्ति र स्रोतका हिसाबले गाह्रो हुने भएकाले अफलाइभन्दा अनलाइन ठेक्का प्रणाली समय सान्दर्भिक हुने बताए ।

राजनीतिक दबाबबाट ठेक्का लगाउँदा समस्या हुने भन्दै उनले डिजाइन स्टिमेट र भूगोलको परिवेशलाई मूल्याङ्कन गरेर कार्य सुरु गर्दा विकास निर्माणका काम समयमा सम्पन्न हुने स्पष्ट पारे ।

रुग्ण आयोजनालाई लयमा ल्याउँदै भौतिक मन्त्रालय

नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता बढाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *