नेपाललाई समूह विजेता बन्ने मौका, हङकङसँग खेल्दै

काठमाडौं, ७ असार ।
नेपालको एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ । किनरारा एकेडेमी क्वालालाम्पुरमा हुने खेल दिउँसो १२ बजे सुरू हुनेछ । एक खेल अगाडि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपालले आज हङकङलाई हराए समूह विजेता बन्ने मौका छ ।

समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराएको थियो। यसअघि पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको नेपाल लगातार चौथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । यता लगातार दोस्रो जित निकालेको हङकङ ४ अंकसहित दोस्रो स्थानमा छ ।
हङकङ पनि नेपाललाई हराउँदै समूह विजेता बन्ने प्रयासमा हुनेछ । यसअघि हङकङले भुटान र बहराइनलाई हराएको थियो । यदि आज नेपाल विजयी भएमा समूह ए को उपविजेता र पराजित भएमा समूह ए को विजेतासँग फाइनल प्रवेशका लागि खेल्नुपर्नेछ ।
समूह ए मा युएई ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा छ। मलेसिया ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ । फाइनल पुग्ने दुई टोलीले एसिया कप महिला टी २० प्रतियोगिता खेल्न पाउनेछन् ।
स्रोत : सेतोपाटी






