प्रदेश सरकारले हिमाल आरोहणमा ६० लाख छुट्यायो तर पर्यटक पाएन

सुर्खेत, ३ बैशाख ।
हिमाल आरोहणका लागि कर्णाली प्रदेश सरकारले ६० लाख बजेट छुट्याएको छ । डोल्पामा पर्ने कान्जिरुवा हिमाल आरोहणका लागि सरकारले ६० लाख बजेट छुट्याएको हो । यो बर्ष हिमालको चुचुरोमा पर्यटक लैजानका लागि ६० बजेट छुट्याएको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
कान्जिरुवा हिमालमा अहिलेसम्म व्यवसायीक आरोहण भएको छैन । यही कारण प्रदेश सरकारले पहिलो पटक पर्यटकलाई निःशुल्क कान्जिरुवा हिमाल चढाउन बजेट नै छुट्याएको हो ।
आरोहण सफल भए अर्काे बर्षदेखि व्यवसायीक आरोहण खुल्ला गर्ने उद्देश्य रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले बताए । ६ हजार आठसय ८३ मिटर अग्लो यो हिमाल आरोहणका लागि उपयुक्त रहेको उनले बताए ।
हिमाल आरोहणका लागि उपयुक्त भएपनि प्रचार–प्रसारको अभावमा ओझेलमा छ । यसअघिसम्म सरकारले पनि अहिलेसम्म आरोहणको प्रयास गरेको थिएन ।
हिमाल आरोहण गर्न कर्णालीमा पर्यटक भित्र्ने र आम्दानी बढ्ने सरकारको अपेक्षा छ । यही कारण चालु आर्थिक बर्षमा प्रदेश सरकारले निःशुल्क रुपमा पर्यटकलाई हिमाल चढाउन बजेट छुट्याएको हो ।
कान्जिरुवा हिमालमा पर्यटक चढाउने सरकारको पहिलो प्रयास भने असफल भएको छ । चैत ८ गतेदेखि २३ गतेभित्र सरकारले हिमाल चड्न चाहने पर्यटकका लागि ट्राभल एजेन्सीसँग आवेदन माग गरेको थियो । तर तोकिएको समयभित्रै कुनै पनि ट्राभल कम्पनीले आवेदन दिएका छैनन् ।
आवेदन नै नपरेपछि कान्जिरुवा हिमालीको शिखरमा पर्यटक चढाउने पहिलो प्रयास असफल भएको हो । पहिलो पटक सूचना आह्वान गर्दा कुनै पनि ट्राभल एजेन्सीले आवेदन नदिएको सचिव जोशीले जानकारी दिए ।
‘कान्जिरुवा हिमाल आरोहनका प्रदेश सरकारले यो बर्ष ६० लाख बजेट छुट्याएको छ’ उनले ‘निःशुल्क हिमाल चढाउँछु भन्दा पनि कसैले आवेदन दिएनन् ।’ तोकिएको समयभित्र आवेदन नपरेपछि अब के गर्ने भनेर सरकार अन्यौलमै छ ।
अब यो बर्ष हिमाल आरोहणको कार्यक्रम स्थगित गर्ने वा थप छलफल गरेर अगाडी बढ्ने भन्ने विषयमा सरकारले गृहकार्य अगाडि बढाएको छैन । अब ट्राभल एजेन्सी र केन्द्र सरकारको पर्यटन मन्त्रालयसँग छलफल गरेर रणनीति बनाउने मन्त्रालयको जनाएको छ ।
‘खर्च कम भयो वा अन्य कारण हो भनेर बुझ्छौँ’ उनले भने, ‘समय र बजेट थप गरेर आरोहण गर्न सकिएछ भने पुनः पर्यास गर्छाैँ ।’ ट्राभल एजेन्सीले बजेट र समय अपुग भएको समय थप गर्न सकिने मन्त्रालयको भनाइ छ ।
ट्राभल एजेन्सीहरु पूर्वका हिमाल आरोहणमा व्यस्त भएका कारण पनि आवेदन नपरेको हुन सक्ने मन्त्रालयको अनुमान छ । गर्मीयामसँगै नेपालमा हिमाल आरोहण खुल्ला हुन्छ । स्वदेशी तथा विदेश पर्यटकहरु जेठ १५ देखि विश्वको शिखर सगरमाथासहितका हिमालमा आरोहण गर्न गर्दै आएका छन् ।
कहाँ छ कान्जिरोवा हिमाल
कान्जिरोवा हिमाली डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा पर्दछ । यसको उचाई समुन्द्री सतहबाट ६ हजार आठसय ८३ मिटर अग्लो छ । कान्जिरुवा हिमाल वडा नं. ९ को पुग्मो गाउँ नजिकै पर्दछ ।
वडा नम्बर नौंका वडाध्यक्ष लार्के लामाका अनुसार पुग्मो गाउँबाट हिमालको भेदसम्म पुग्न झण्डै ६ घण्टा लाग्छ । पुग्मो पुग्न जिल्ला सदरमुकामदेखि दुई दिन हिड्नुपर्दछ ।
वडाध्यक्ष लामाका अनुसार स्थानीय पनि हिमाल चढेका छैनन् । ‘सानो हुँदा जापानी टोलीले हिमाल चढेको भन्ने सुनेका थिए’ उनले भने, ‘५÷६ बर्ष पहिले पनि नेपाली टोली आएको थियो तर हिमाल चढ्यो कि चढेन थाहा भएन ।’
गर्मी मौसम सुरुभएपछि स्थानीयहरु हिमालको भेद नजिकै स्थानीहरु पुग्छन् । ‘हिमाल चढ्दा जापानी टोलीले ल्याएका प्लास्टिकका डोरीहरु अझै छन्’ उनले भने, ‘तर अहिलेसम्म व्यवसायी आरोहन भएको छैन ।’ हिमाल आरोहणका लागि प्रदेश सरकारले पनि स्थानीय तहसँग कुनै समन्वय गरेको छैन ।
‘प्रदेश सरकारले पर्यटकलाई हिमाल चढ्ने कुरा सुनेको छैन’ उनले भने, ‘समन्वय नगरे पनि हामी सहयोग गर्न तयार छौँ ।’ आरोहन गर्नुअघि प्राविधिक रुपले हिमाल आरोहन गर्न ठिक छ या छैन भनेर अध्ययन गर्नुपर्ने उनले बताए ।
‘प्राविधिक अध्ययन विना ज्यानको बाजी थापेर पर्यटकहरु हिमाल चढ्न चाहदैनन’ उनले भने, ‘पर्यटक नपाए पनि सरकारले आरोहन गर्न योग्छ छ, छैन भनेर अध्ययन गरोस् ।’ प्राविधि अध्ययनपछि हिमाल आरोहण खुल्ला भए स्थानीयलाई आर्थिक आम्दानी आर्जनमा टेवा पुग्ने उनले बताए ।





