प्रमुख र उपप्रमुख मध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउन माग


सुर्खेत, २ बैशाख ।
नेपाल महिला संघ सुर्खेतले स्थानीय तहको निर्वाचनमा पालिकाको प्रमुख र उपप्रमुख मध्ये कुनै एक पदमा उम्मेदवार बनाउन माग गर्दै नेपाली काँग्रेसलाई ज्ञापन पत्र बुझाएको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनमा वडाअध्यक्ष, गाउँपालिका अध्यक्ष र नगरप्रमुख पदमा महिलालाई उम्मेद्वार बनाउन माग गर्दै संघ नेपाली काँग्रेस जिल्ला समिति सुर्खेत र प्रदेश समितिलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल महिला संघ संघ सुर्खेतका अध्यक्ष पार्वती गिरी लगायतको टोलिले शुक्रबार नेपाली काँग्रेस सुर्खेतका सभापति खड्क पोखरेल र प्रदेश सभापति ललितजंग शाहीलाई स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये कुनै एक पदमा महिला उम्मेदवार बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ‘राज्यको सेवा जनता माझ पु¥याउने आधार स्तम्भको रुपमा रहेको स्थानीय तहको नेतृत्व तहमा हुने महिलाको पहुँचबाट मात्रै सामाजिक परिवर्तन र सन्तुलित विकासको प्रत्याभूत हुने भएकाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा, गाउँपालिका र नगरपालिकाको वडाध्यक्ष, अध्यक्ष र प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन नेपाल महिला संघ सुर्खेत जोडदार माग गर्दछ’ ज्ञापन पत्रमा भनिएको छ ‘नेपाली कांग्रेसले गाउँपालिका र नगरपालिकाको अध्यक्ष÷उपाध्यक्ष र उपप्रमुख प्रमुख पद मध्ये एक पदमा मात्र उम्मेदवारी दिंदा सबै पक्षलाई समेटेर महिलालाई प्राथमिकता दिनसमेत माग गर्दछौं ।’
निर्वाचन आयोगले फरक–फरक दलबाट प्रतिनिधित्व गर्दा प्रमुख र उपप्रमुख मध्ये एक जना महिला हुनुपर्ने अनिवार्य व्यवस्थालाई हटाएको छ । आउँदो निर्वाचनमा पाँच दलिय सत्तारुढ गठबन्धन हुँदै छ । गठबन्ध भएको खण्डमा पालिकाको प्रमुख र उपप्रमुख पदमा महिला सहभागिता नहुने सम्भावना छ । यही कारण काँग्रेसले पालिकाको प्रमुख र उपप्रमुख पदमध्ये कुनै एकमा महिला उम्मेदवार गराउन माग गरेको हो ।
विगतदेखि पछाडि पारिदै आएको कर्णाली प्रदेशमा अहिले महिलाहरु राजनीतिक नेतृत्वमा पुग्न नसकेको भन्दै महिला संघले स्थानीय तहको निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।






