सुर्खेतमा लालपूर्जा वितरण सुरु, दशकौंको पर्खाइपछि स्थानीय हर्षित

सुर्खेत, २६ चैत्र ।
सुर्खेतको भेरीगंगा नगरपालिका–८ का छविलाल राना शुक्रबार निकै खुशी थिए । कारण उनी लामो समयको प्रतिक्षापछि जग्गाको मालिक बने । उमेरले ६६ बर्ष टेकेका उनीसँग आफैले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा थिएन। तर राष्ट्रिय भूमि आयोगले शुक्रबार जग्गाको लालपुर्जा उनको हातमा थमाइदियो ।

त्यसपछि उनको खुशीको सीमा नै रहेन । ‘यहाँ बस्ती बसेको ५६ बर्ष पुगि सकेको थियो, तर जग्गाको लालपूर्जा नै थिएन’ उनले भने, ‘लालपूर्जा नपाएरै मरिन्छ कि भन्ने डर थियो, ढिलै भए पनि लालपुर्जा पाइयो ।’ १२ बर्षको उमेरमा उनी सल्यानको बनगाडबाट बुवासँगै भेरीगंगाको लोदेमा बसाइ सरेर आएका थिए ।

२०२२ सालअघि लोदेमा अहिलेको जस्तो बस्ती थिएन । कतै झाडी त कतै जंगल थियो । समथर जमिन भएका कारण २०२२ सालमा स्थानीयले जंगल फडानी गरेर बस्ती बसाले । छविलालले पनि ३३ रोपनी जग्गामा खेतिपाती सुरु गरे । घर ठड्याए । ‘बुवाले बसालेको बस्तीमा छोरानातीहरु हुर्किए, तर लालपुर्जा पाएका थिएनौँ’ उनले भने, ‘लालपुर्जा कुर्दाकुर्दा ५६ बर्ष पुगेछ ।’

२०२२ सालमामा बस्ती बसेको लोदेमा सरकारले २०३९ सालमा नापजाँग गरेको थियो । लालपुर्जा वितरणका लागि पटक–पटक आयोगहरु बने । धेरै पटक लालपुर्जा पाउने आशमा कुरे । तर बिहीबारसम्म जग्गाको मालिक बन्न पाएका थिएनन । चार दशकपछि भूमिकाे मालिक बनेका छन् ।

‘जग्गा भोगचलन गरे पनि त्यसको मालिक सरकार थियो, हामीलाई पुर्जा दिएको थिएन’ उनले भने, ‘आजदेखि म आफै जग्गाको मालिक भएँ, अब ढुक्क भइयो ।’ उनले लालपूर्जा नभएपछि अंशबण्डा गर्न पनि पाएका थिएनन् । ‘नापजाँचहुँदा ३२ रोपनी नै मेरो नाममा थियो, तर यो जग्गा हामी दुई भाइको हो’ उनले भने, ‘लालपूर्जा नभएपछि अंशबन्डा गर्न पाएका थिएनौँ, अब सिधै पाँच टुक्रा बनाउँछौँ ।’

भेरीगंगा–८ कै तिलप्रसाद शर्मा पनि निकै खुशी भएका छन् । उनी १६ बर्षको हुँदा जंगल फडानी गरेर बस्ती बसेको थियो । तर उनीसँग पनि जग्गाको लालपूर्जा थिएन । ‘ लालपूर्जा नदेखेरै बुवाआमाको मृत्युभयो, मलाइ पनि लालपूर्जा पाइएला जस्तो लागेको थिएन’ उनले भने, ‘लामो पर्खापछि बल्ल लालपूर्जा हातपरयो ।’

उनको बस्तीमा २०४० सालमा जग्गाको नापजाँच भएको थियो । नापजाँच भएको ३८ बर्षपछि उनले लालपूर्जा पाए । ‘ नापजाँच हुँदा म १६ बर्षको थिएँ, ५६ बर्ष पुगेपछि लालपूर्जा पाएँ’ उनले भने, ‘लालपूर्जा नहुँदा धितो राख्न पाइएको थिएन, बिक्री गर्दा मूल्य पाउँथेन’ उनले भने, ‘अब जे गर्दा पनि ढुक्क भइयो ।’

शुक्रबार आयोगले कोटमाझ खर्कका एकसय ३४ परिवारलाई लालपूर्जा वितरण गरेको राष्ट्रिय भूमि आयोगका सुर्खेत अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिए। लालपूर्जा पाउने मध्ये भेरीगंगा नगरपालिका–८ का एकसय दुई र गुर्भाकोटका ३२ परिवार छन् । त्यस्तै नेपाल सरकारका नाममा दुईवटा लालपुर्जा दिइएको हो ।

भेरीगंगामा दुईसय तीन कित्ता र गुर्भाकोटमा ५२ कित्ताको लालपूर्जा वितरण गरिएको हो । जसमा भेरीगंगामा कुल ६१ हजार पाँचसय ५८ दशमलव सात वर्गमिटर र गुर्भाकोटमा एकलाख नौ हजार पाँचसय ५३ बर्ग मिटरको जग्गाका धनीलाई प्रमाणपत्र वितरण गरिएको आयोगले जनाएको छ ।

आयोगले मैनतडाको पिपल चौतारामा एक कार्यक्रमको आयोजना गरी स्थानीयलाई जग्गाधनी पूर्जा वितरण गरेको हो । अध्यक्ष पौड्यालले दुई महिनाभित्रै लालपूर्जा वितरण गरेको बताए । भेरीगंगा नगरपालिका प्रमुख भूपेन्द्रबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, केन्द्रीय सदस्य गोवद्र्धन वली, मालपोत तथा नापी कार्यालयका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगाएको उपस्थिती रहेको थियो

आचारसंहिताका कारण बाँकी लालपूर्जा वितरणको काम रोकियाे
निर्वाचन आचारसंहिताका कारण बाँकी लालपूर्जा वितरणको काम रोकिएको छ । लालपूर्जा वितरणको प्रक्रिया पूरा भईसकेका सुर्खेतका अन्य भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई भने निर्वाचनपछि मात्रै लालपूर्जा वितरण गरिने छ ।

आयोगले भेरीगंगा र गुर्भाकोटका बाँकी स्थानीय र चौकुने गाउँपालिका स्थानीयलाई लालपूर्जा वितरण गर्ने योजना बनाएको थियो । केही समयअघि सार्वजनिक सूचना जारी गर्दै आयोगले चौकुनेको वडा नं. ८ का ४७ घरपरिवारलाई जग्गाधर्नी पुर्जा दिने तयारी अगाडि बढाएको थियो । तर शुक्रबार रातीदेखि निर्वाचन आचारसंहिता लागू भएपछि तत्काललाई लालपूर्जा वितरण रोकिएको राष्ट्रिय भूमि आयोगले जनाएको छ ।

सुर्खेतमा लालपूर्जा वितरण सुरु, दशकौंको पर्खाइपछि स्थानीय हर्षित

सहिद ऋषिले जन्माएका प्रश्नहरु ?

सुर्खेतमा लालपूर्जा वितरण सुरु, दशकौंको पर्खाइपछि स्थानीय हर्षित

हुम्लामा एमाले र माओवादी कार्यकर्ताको झडप

Leave a comment

Your email address will not be published. Required fields are marked *