सुर्खेत विमानस्थल विस्तार नभए आन्दोलन गर्ने व्यवसायीकाे चेतावनी

सुर्खेत, २९ फागुन ।
सुर्खेेतको निजी क्षेत्रले सुर्खेत विमानस्थल विस्तार गर्नुपर्ने माग गरेका छन् । उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश र सुर्खेत उद्योग वाणिज्य संघले सुर्खेत विमानस्थललाई विस्तार गर्न माग गरेका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई ज्ञापन पत्र पेश गर्दै विमानस्थल विस्तारको कार्य रोकिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघले बुझाएको ज्ञापन पत्र ग्राहण गर्दै सुर्खेतमा रहेको विमानस्थल विस्तारमा आफु मुख्यमन्त्री भएदेखिनै चासोका साथ लिएको बताए । उहाँले भन्नुभयाे ‘विमानस्थल विस्तारमा म सकारात्मक छु तर स्थानीय सबैले सहयोग गर्नुपरो नि, विद्यालय त्यहाँका स्थानियबासीन्दा कुनै पनि हालतमा विस्तार गर्न दिँदैनौं भन्ने तपाईहरु विस्तार चाहियो भन्ने तपाईहरुनै समन्वय गर्नुहोस ।’
जिल्ला प्रशासन कार्यालयमार्फत पटक पटक लगन लिने प्रयास भएपछि स्थानीयबासीन्दाको नाममा भएको अवरोधले धावनमार्ग विस्तार हुँदा पुग्ने क्षति, मुआव्जा दिनुपर्ने क्षेत्रफलको एकिन तथ्याङ्क, विवरण समेत नआएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘विमानस्थल विस्तारको नाममा स्थानीयबासीन्दाको घरजग्गा रोक्का लामो समय राख्नु राम्रो नहुने भएकाले तत्कालका लागि फुकुवा गरिएको हो । स्थानीय जनप्रतिनिधि, नागरिक समाज, यस क्षेत्रका सांसद, राजनीतिक दलहरुका विचमा सबैको सहमति जुटाउने गरी तपाईहरु लाग्नु प्रदेश सरकार जुनसुकै बेलापनि बजेटको व्यवस्थापन गर्न तयार छ ।’
अन्यत्र बनाउने विषयमा पनि अध्ययन भैरहेको तर बाहिर स्थान पहिचान, डिपिआर, इआइए जस्ता प्रक्रियागत कार्यले समय लाग्ने हुँदा सबैको सहमति जुटेमा यहाँ भएकै विमानस्तर विस्तार कार्य उपयुक्त र छिटो हुने बरिष्ठ व्यवसायी टेक बहादुर भण्डारीले बताउनुभयो ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले सर्वपक्षिय सहमतिमा यही विमानस्थल विस्तार गर्न माग गरेका छन् । विमानस्थल विस्तार नभएको प्रदेशको आर्थिक समृद्धिमा बाधा पुग्ने, विकास निर्माणले गति लिन नसक्ने र कर्णालीका नागरिकले सधै दुःख पाइउने भन्दै तत्काल विमास्थल विस्तारको काम थाल्ने सरकारसँग माग गरेका हुन् ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलले पनि यही विमानस्थलको विस्तार गर्न माग राख्दै प्रदेश सरकार, केन्द्र सरकार र सांसदहरुलाई माग पत्र बुझाएका छन् ।
सुर्खेत उद्योग बाणिज्य संघले विमानस्थलको विस्तारको काम विगतमा पटक पटक भएपनि कार्यान्वयन हुन नसकेको भन्दै यही फागुन २२ गते बसेको सर्वपक्षीय भेलाले विस्तारको काम सँधैका लागि वन्द गर्ने निर्णयप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त दिन कर्णाली प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीय प्रभावितहरुवीच भएको सर्वपक्षीय छलफलमा सुर्खेत विमानस्थलको विस्तार प्रक्रिया सधैंका लागि खारेज गर्ने सहमति भएको थियो ।
संघले विगतदेखि नै धावनमार्ग विस्तारका लागि पहल गर्दै आएकोमा अहिले एक्कासी सधैंका लागि खारेज गर्ने निर्णयप्रति असहमति जनाएको छ ।
विज्ञप्तिमा धावनमार्ग साँघुरो हुँदा अहिले हवाई सेवाको भाडा दर महँगो भएको, अर्को प्रदेश जानुपरेको र आर्थिक चलायमानसमेत हुन नसकेकोले विस्तार प्रक्रिया थाल्नुपर्नेमा उल्टै सधैंका लागि खारेज गरिनुले कर्णालीमाथि अन्याय भएको उल्लेख छ ।
समग्र कर्णाली प्रदेशको आर्थिक विकास, पर्यटन क्षेत्रको विकासका लागि सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउनुको विकल्प छैन भन्दै सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले त्यसका लागि सवैले पहल गर्न अपिल गर्नुभयो । उहाँले आवश्यक जग्गा अधिग्रहण गरी विस्तारको कामलाई अगाडि बढाउनसमेत आग्रह गर्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई धावनमार्ग विस्तारको कार्यलाई निरन्तरता दिन बोधार्थ दिइएको छ भने वीरेन्द्रनगर नगरपालिका सहित जनप्रतिनिधिहरुलाई पनि आवश्यक सहयोग र समन्वयका लागि पहल गरिदिन आग्रह गरिएको महासचिव कँडेलले बताउनुभयो ।
उनीहरुले पनि शनिबार नै कर्णाली प्रदेश सरकार, संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्रालय, प्रतिनिधिसभा सदस्य नवराज रावत, प्रदेश सदस्य यामलाल कँडेल, वीरेन्द्रनगरका प्रमुख देवकुमार सुवेदी र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाइ ज्ञापनपत्र बुझाएका हुन् ।
कसैको व्यक्तिगत लाभहानीको लागि विमानस्थल विस्तार कार्य रोक्न नहुने बताएका छन् । यही विमानस्थलको क्षेत्र विस्तार गर्दा आर्थिक भार कम हुने, कर्णालीका सबै नागरिकलाई पायक पर्ने र भर्खरै बामे सर्दै गरेको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने भन्दै सहमितमै विमानस्थल विस्तार गर्न माग गरेका हुन् ।









