आठ वर्षीया छोरी बलात्कृत भएको घटना सुनेपछि बुबाले गरे आत्महत्या

इटहरी, २४ फागुन ।
सुनसरीको रामधुनी (झुम्का) मा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय युवकले पटकपटक बलात्कार गरेपनि घटना केहीदिनअघि मात्रै सार्वजनिक भएको हो । घटना सार्वजनिक भएकै दिन राति पीडितका बुबाले आत्महत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार छिमेकी रामधुनी नगरपालिका ३ का २४ वर्षीय विश्वमणि आचार्यले पटकपटक बालिकालाई बलात्कार गरेको र घटना सार्वजनिक भएपछि पीडितका २८ वर्षीय बुवाले आत्महत्या गरेको खुलेको छ ।

‘पुष १८ गते बलात्कार भएको र त्यसको दुई महिनापछि घटना सार्वजनिक भएकै दिन उनका बुबाले आत्महत्या गरेको खुलेको छ,’ उनले भने, ‘आत्महत्या गर्ने पुरुष करिब ६ महिनायतादेखि डिप्रेसनको रोगी भएको खुलेको छ ।’

पीडितले फागुन १९ गते इलाका प्रहरी कार्यालय पकलीमा जाहेरी दिएसँगै आरोपित आचार्यले आफैँ आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । ‘जाहेरी आएसँगै पिडकले सोही दिन आत्मसमर्पण गरेका छन्,’ इलाका प्रहरी कार्यालय पकलीका एक प्रहरीले भने,

‘अहिले प्रहरी थुनामा रहेका उनीमाथि सात दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार आरोपित आचार्यमाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

पीडित बालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको र रिपोर्टको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।

कसरी भयो घटना ?
पीडितकी आमाका अनुसार आफ्नी छोरीलाई मोबाइल दिने र पैसा दिने बहानामा पटकपटक उनले बलात्कार गरेका थिए । पछिल्लो पटक पुष १८ गते बलात्कृत भएपनि कसैलाई सुनाए मारिदिने धम्की दिएकाले पीडितले घटना लुकाउन बाध्य थिए ।

तर, असह्य पीडा भएपछि पीडित बालिकाले आफ्ना दाजुलाई सुनाएपछि घटना भएको दुई महिनापछि मात्रै बलात्कारको घटना सार्वजनिक भएको पीडित परिवारले जनाएको छ ।

घटना भएको दुई महिनापछि बालिकाले आफूले दिसा, पिसाब गर्दा रगत आउने सुनाएपछि स्वास्थ्य परीक्षण गरिएको पीडितकी आमा बताउँछिन् ।

‘अरु नै केही बिरामी होला भनेर मेडिकलमा चेक गराउन लग्यौँ, मेडिकलले रगत रोक्ने औषधी दियो, अन्य त केही सोचेकै थिएनौँ,’ उनी भक्कानिदैँ भन्छिन्, ‘मेरो छोरीको भविष्य कस्तो हुन्छ ।’

घटनाका दोषीलाई कानून अनुसार कडा कारबाही हुनुपर्ने उनको माग छ । घटनापछि पीडित परिवार यतिबेला विक्षिप्त छन् । मृतककी श्रीमती र दाइ यतिबेला किरिया बसिरहेका छन् । सुनसान रहेको घरमा यतिबेला छोरीको बलात्कारसँगै श्रीमानको आत्महत्याको कारण ठूलो बज्रपात परेको छ ।

आठ वर्षीया छोरी बलात्कृत भएको घटना सुनेपछि बुबाले गरे आत्महत्या

एकै थलोमा ४० युवाले लोपोन्मुख सिँगारु नाँच

आठ वर्षीया छोरी बलात्कृत भएको घटना सुनेपछि बुबाले गरे आत्महत्या

रुसी हमलामा युक्रेनका राष्ट्रपति मारिए के होला

Leave a comment

Your email address will not be published. Required fields are marked *