रुसले अमेरिकालाई दियो चेतावनी, रुसी सेना युक्रेनको राजधानी प्रवेश, मेलितोपोल शहर कब्जा

काठमाडौं, १४ फागुन ।
रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो ।
रुसले दिएको चेतावनीमा नाम नलिए अमेरिकाप्रति संकेत गरेको देखिन्छ । यसैबीच, युक्रेनको राजधानी किभमा भिषण लडाई जारी छ । हिजो शुक्रबार राति किभका धेरै ठाउँमा बम विष्फोट भएका छन् भने जनजीवन कष्टकर बनेको छ ।
रुसको बमबारीबाट त्यहाँका धेरै घर ध्वस्त भएका छन् । रुसी सेनाले युक्रेनको उत्तरपूर्वी सुमी र कोनोटोप सहरहरू घेरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आफ्नो सेनाले हालसम्म १७ कमाण्ड सेन्टर, १९ वायुरक्षा मिसाइल प्रणाली, ३९ रडार युनिट, ६७ ट्याङ्क र ६ वटा युद्धविमानसहित दुई सय ११ युक्रेनी सैन्य प्रतिष्ठानलाई ध्वस्त पारेको बताए ।
शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो रक्षामा आक्रमण गर्न आह्वान गर्दै भावनात्मक भिडियो सन्देश जारी गरका थिए । उनले यसका लागि जनतालाई तयार रहन आग्रह पनि गरेका थिए ।
युक्रेनले पनि रुसको विमान खसालेको दावी गरेको छ । तर, यसको निस्पक्ष पुष्टि भने भएको छैन । युक्रेनी रक्षा मन्त्रालयले किभमा बस्ने मानिसलाई रुसी सैनिकहरूमाथि आक्रमण गर्न पेट्रोल बम तयार गर्न पनि आग्रह गरेको छ ।
वार्ताका लागि रुस सहमत
रुसको हमलापछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरे तर उनले कुनै प्रतिक्रिया पाएनन् । यसपछि रुसले एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले फोन गरेको र वार्ताका लागि अनुरोध गरेको बताएको छ ।
वार्ताका लागि आफू तयार रहेको विज्ञप्तिमा उल्लेख छ । रुसले वार्ता आफ्नै शर्तमा मात्र हुने स्पष्ट पारेको छ । रुस यो वार्ता बेलारुसको मिन्स्क सहरमा गर्न चाहन्छ भने युक्रेन पोल्याण्डको भर्साइलमा गर्न चाहन्छ ।
युक्रेनको राजधानी प्रवेश गरयो रुसी सेना, भीषण युद्ध जारी
युक्रेनको राजधानी शहर किभमा शनिबार बिहानैदेखि युद्ध सुरु भएको छ । रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो दिन हो । शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् ।
यसबीच युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, रुसी सैनिकले किभको विमानस्थलमा कब्जा गरिसकेको बताइएको छ ।
युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त शुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो शहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ ।
समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरण्डामा ननिस्कन चेतावनी दिएको छ । यसैबीच किभबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको भासिल्किभ शहरका मेयरले अहिले शहरको मध्यभागमा भीषण युद्ध भइरहेको बताएकी छन् ।
युक्रेनको संसदको च्यानलसँगको कुराकानीमा मेयर नातालिया बालासिनोभिकले भनिन्, ‘शहर पूरै युद्धमय बनेको छ ।’ उनले युद्धको क्रममा दुवैतर्फ ठूलो क्षति भएको उल्लेख गरेकी छिन् । उनले युक्रेनको सेनाका दुई सयभन्दा धेरै सैनिक घाइते भएको उल्लेख गरेकी छिन् ।
रुसद्वारा मेलितोपोल शहर कब्जा गरेको दाबी
रुसले युक्रेनको दक्षिणमा रहेको मेलितोपोल शहरमाथि कब्जा गरेको दाबी गरेको छ । समाचार एजेन्सी इन्टरफ्याक्स र स्पुतनिकले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सो समाचार प्रकाशन गरेको हो । युक्रेनको दक्षणी प्रान्त जपोरिज्यामा स्थित शहर मेलितोपोल देशको मुख्य बन्दरगाह मारियोपोल नजिक रहेको छ ।
यता, युक्रेनको राजधानी किभको दक्षिण पश्चिममा शनिबार बिहान दुईवटा मिसाइल हमला गरिएको खबर छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त मिसाइलले केलाई निशाना बनाएको हालसम्म खुलेको छैन । किभको स्थानीय सरकार अनुसार एक मिसाइल सर्वसाधारण बस्ने भवनमा खसेको थियो । अर्को मिसाइल राजधानीको विमानस्थल नजिक खसेको थियो ।
देश छाड्ने अमेरिकाको प्रस्ताव युक्रेनका राष्ट्रपतिद्वारा अस्वीकार
युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले युक्रेनबाट निकाल्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेका छन् । अमेरिकी मिडियाले यसबारे जानकारी दिएका हुन् ।
समाचार एजेन्सी एसोटिएटेड प्रेसले वरिष्ठ जासुसी अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति जेलेन्स्कीले भने, ‘लडाईं यहाँ छ । मलाई हतियार आवश्यक छ, सवारी होइन ।’
अमेरिकी पत्रिका वासिङ्टन पोस्टले अमेरिकी र युक्रेनका अधिकारीहरूलाई हवाला लिँदै अमेरिकी सरकार राष्ट्रपति जलेन्स्कीको मद्दत गर्न तयार रहेको बताएको छ ।
रुसको हमलामा राष्ट्रपति जेलेन्स्कीको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा उनको धेरै तारिफ भइरहेको छ । उनले आफ्नो भाषणमा रुससँग अन्तिमसम्म लड्ने शपथ लिएका थिए । उनले भने, ‘जब हामीमाथि तिमीहरू हमला गर्छौँ, तब हामी तिमीहरूको सामना गर्नेछौँ, पीठ देखाउने छैनौँ ।’








