मलामी खोज्नुपर्ने अवस्थामा पुगे गाउँ 

कुुलेन्द्र शाही
सुर्खेत, ७ भदौ ।
केही समयअघि जाजरकोटको शिवालय गाउँपालिका–३ की ओढ कामीको मृत्यु भयो । परिवार शोकमा थियो । तर, मृत्युपछिको शोकसँगै परिवारले अर्को कठिनाइ बेहोर्नुपर्‍यो—अन्तिम संस्कारका लागि शव मसानघाटसम्म लैजान मलामी जुटाउनै मुस्किल भयो । गाउँमा काम गर्ने उमेरका पुरुषको संख्या घट्दै गएपछि परिवार र छिमेकीले निकै सास्ती खेप्नुपर्‍यो ।
अन्ततः गाउँमा रहेका थोरै मानिसले जसोतसो शव घाटसम्म पुर्‍याए । एउटा व्यक्तिको मृत्युमा मलामीसमेत जुटाउन कठिन हुने यो अवस्था कर्णालीका ग्रामीण बस्तीमा बढ्दै गएको बसाइँसराइको गम्भीर संकेत हो ।
रोजगारी, शिक्षा, स्वास्थ्य र आम्दानीका पर्याप्त अवसर नहुँदा गाउँका युवा शहर, सुविधासम्पन्न जिल्ला र वैदेशिक रोजगारीतर्फ गइरहेका छन् । कतिपय परिवार स्थायी रूपमै बसाइँ सरेका छन् भने कतिपयका युवा सदस्य भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि पुगेका छन् । त्यसको प्रत्यक्ष असर गाउँको जनसंख्या र सामाजिक संरचनामा देखिन थालेको छ ।
शिवालय गाउँपालिका–३ का तिलक थापाका अनुसार गाउँमा अहिले युवा त परको कुरा, काम गर्ने उमेरका पुरुषसमेत भेट्न कठिन छ । ‘एउटा मान्छे मर्दा शव बोक्ने मलामी नै पाइँदैन,’ उनी भन्छन्, ‘गाउँमा युवा भनेको एक–दुई जना मात्रै छन् । धेरैजसो रोजगारीका लागि बाहिर गएका छन्, केही बसाइँ सरेका छन् ।’ जुनीचाँदे गाउँपालिका–३ का विनोद खड्काको अनुभव पनि उस्तै छ । गाउँका अधिकांश युवा भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि गएको उनको भनाइ छ । ‘गाउँमा रोजगारी हुने हो भने कसलाई घर छाड्न मन लाग्छ र ?’ उनी प्रश्न गर्छन्, ‘तर काम नपाएपछि बाध्य भएर सबै बाहिर गएका छन्। दशैं–तिहारमा मात्रै गाउँ भरिभराउ देखिन्छ ।’
कुनै समय मानिसको चहलपहलले भरिएका गाउँका घर अहिले क्रमशः रित्तिँदै छन् । आफ्नै घर र जग्गा भए पनि परिवारका अधिकांश सदस्य शहर तथा अन्य जिल्लामा बस्न थालेपछि गाउँमा घर, खेतबारी र वृद्धवृद्धा मात्रै बाँकी रहने अवस्था देखिएको छ । केही घरमा महिला र बालबालिका छन् भने कतिपय घर पूर्ण रूपमा बन्द छन् ।
शिवालय–५ थालारैकरकी गंगा शाही अहिले सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा लिएर बस्दै आएकी छन् । गाउँमा आफ्नै घर र जग्गा भए पनि खेतीपातीबाट परिवारको आवश्यकता पूरा गर्न नसकेपछि शहर बस्नुपरेको उनको भनाइ छ । ‘गाउँमा दुःख गरेर के गर्नु ? यहाँ गरेको मेहनत उठ्दैन,’ उनी भन्छिन्, ‘उत्पादनले छ महिना पनि पुग्दैन ।’ गाउँमा उनको घर अहिले पनि छ । तर घरमा परिवारका केही सदस्य मात्रै छन्। उनको जस्तै अवस्था कर्णालीका धेरै परिवारको छ ।
वर्षौं लगाएर बनाएका घरमा परिवारका सदस्यको संख्या घट्दै गएको छ । कतिपय घरमा वृद्धवृद्धा मात्रै छन् । कतिपय घरका ढोका बन्द छन् । घर वरिपरिका खेतबारीमा खेती हुन छाडेको छ । शिवालयकै नैनबहादुर शाही करिब दुई वर्षअघि गाउँ छाडेर बर्दियाको बढैयाताल बसाइँ सरे । लामो समय खेतीपाती गरेर जीवन चलाउने प्रयास गरे पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि परिवारसहित बाहिरिनुपरेको उनले बताए ।
विगतमा अरूको बाँझो जग्गासमेत लिएर खेती गर्ने उनको गाउँको खेत तथा पाखोबारी अहिले बाँझै छन् । बसाइँसराइको असर जनसंख्या घट्नुमा मात्रै सीमित छैन । यसले गाउँको उत्पादन प्रणालीदेखि सामाजिक सम्बन्ध र विकास निर्माणसम्म असर पार्न थालेको छ।
विकास निर्माणमा पनि श्रमिक संकट
गाउँमा युवा जनशक्ति नहुँदा विकास निर्माणका काममा समेत श्रमिकको अभाव हुन थालेको छ । शिवालय–३ तांगाचुलीस्थित मालिका मन्दिर निर्माण यसको उदाहरण हो । स्थानीय श्रमिक पर्याप्त पाइएको भए वैशाखमै सम्पन्न हुने निर्माण कार्य असारसम्म लम्बियो ।
निर्माण समितिका अध्यक्ष दिल बुढाका अनुसार कामदारको अभाव नै निर्माणमा ढिलाइको मुख्य कारण बन्यो । ‘काम गर्ने मान्छे नै पाइँदैन,’ उनी भन्छन्, ‘गाउँका धेरै बाहिर गएका छन् । भएका पनि गाउँमै काम गर्न रुचाउँदैनन्। तर भारतमा भने जुनसुकै काम गर्न तयार हुन्छन् ।’ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का बुद्धि सार्कीका अनुसार उनको क्षेत्रमा हुने विभिन्न निर्माण आयोजनामा समेत सल्यान, रुकुम र जाजरकोटलगायत जिल्लाबाट श्रमिक ल्याउनुपर्ने अवस्था छ । स्थानीय श्रमिक नपाइनु ग्रामीण अर्थतन्त्रको कमजोर अवस्थाको अर्को संकेत हो ।
गाउँमा बुढापाका मात्रै
कर्णालीका अधिकांश ग्रामीण बस्तीमा अहिले वृद्धवृद्धा, महिला, बालबालिका र केही सरकारी कर्मचारीबाहेक अरू भेट्न कठिन हुँदै गएको स्थानीयहरू बताउँछन् । छेडागाड नगरपालिका–५ का प्रेम विकको परिवार पनि यसको उदाहरण हो । उनका छोरा काठमाडौंमा पढ्छन्, छोरी सुर्खेतमा छन् । गाउँका धेरै घरको अवस्था यस्तै रहेको उनी बताउँछन् ।
‘गाउँमा हामीजस्ता बुढापाका मात्रै छौँ,’ उनी भन्छन् । दैलेखका रामबहादुर शाहीका अनुसार गाउँमा युवाको उपस्थिति चाडपर्वमा मात्रै देखिन्छ । दशैं–तिहारमा गाउँ फर्किएका युवा केही दिनपछि फेरि शहर वा विदेशतिर फर्कन्छन् । दैलेख चामुण्डाकी लक्ष्मी कार्कीका लागि त चाडपर्वको अर्थ नै फेरिएको छ ।
उनका लागि टीका र जमराभन्दा पनि छोराछोरी गाउँ फर्कने अवसर महत्वपूर्ण भएको छ । ‘हामी बुढाबुढी मात्रै छौँ । छोराछोरी वर्षमा एकपटक मात्रै आउँछन्,’ उनी भन्छिन्, ‘अहिले त आफ्नै छोराछोरी पनि पाहुनाजस्तै लाग्न थाले । उनीहरूसँग भेट्न हामीले चाडपर्व कुर्नुपर्छ ।’ कर्णालीका गाउँमा सडक, विद्युत्, सञ्चार र विद्यालयलगायतका पूर्वाधार विस्तार भएका छन् । तर भौतिक पूर्वाधार पुगे पनि मानिसलाई गाउँमै बस्ने आधार तयार हुन सकेको छैन । सडक बनेका छन्, तर उत्पादनले बजार पाएको छैन ।
विद्यालय छन्, तर गुणस्तरीय शिक्षाका लागि बालबालिका शहरतिर जान्छन् । स्वास्थ्य संस्था छन्, तर विशेषज्ञ सेवा र पर्याप्त जनशक्ति अभावमा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता छ । रोजगारीका अवसर सीमित छन् । यही कारण गाउँ छाड्ने क्रम रोकिएको छैन ।
रोजगारी नै मुख्य कारण
बसाइँसराइका पछाडि धेरै कारण भए पनि रोजगारी र आम्दानीको अभाव मुख्य कारण देखिन्छ। गाउँमा खेतीपाती गरेर वर्षभरि परिवार पाल्न कठिन छ । उत्पादन लागत बढेको छ, बजार सुनिश्चित छैन र प्राकृतिक विपत्तिको जोखिम पनि उत्तिकै छ ।
कृषि व्यावसायिक र आधुनिक हुन नसक्दा युवाले त्यसलाई भविष्यको आधार मान्न सकेका छैनन् । शिवालय गाउँपालिका–८ का वडाध्यक्ष जसबिर वली गाउँमा विकास निर्माणका काम गर्नसमेत युवा नआउने बताउँछन् ।
आफ्नै गाउँमा श्रम गर्न हिचकिचाउने तर विदेशमा कठिन काम गर्न तयार हुने प्रवृत्तिले गाउँको भविष्यप्रति प्रश्न उठाएको उनको भनाइ छ । शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीका अनुसार बसाइँसराइ र वैदेशिक रोजगारीले गाउँको सामाजिक संरचनामै असर पारेको छ ।
पालिकाले कृषि तथा स्वरोजगारका कार्यक्रम सञ्चालन गरे पनि युवालाई गाउँमै रोक्न चुनौती रहेको उनी बताउँछन् । ‘कृषिलाई आधुनिक, व्यावसायिक र आम्दानीमुखी बनाउन सकियो भने युवालाई गाउँमै रोक्न सकिन्छ,’ उनी भन्छन्, ‘गाउँ रित्तिँदै जानु निकै चिन्ताको विषय हो ।’
जाजरकोटबाट निर्वाचित सांसद खड्कबहादुर बुढा पनि गाउँमा रोजगारी र अवसर सिर्जना गर्न नसके केही वर्षमै समस्या अझ गम्भीर बन्ने बताउँछन् । गाउँबाट दक्ष जनशक्ति पलायन भइरहँदा भविष्यमा बालबालिका र वृद्धवृद्धा मात्रै गाउँमा रहने अवस्था आउन सक्ने उनको भनाई छ ।
गाउँ जोगाउने नीति आवश्यक
कर्णालीका गाउँ रित्तिनु केवल जनसंख्याको स्थानान्तरण होइन । यो स्थानीय उत्पादन, सामाजिक सम्बन्ध, संस्कृति र सामुदायिक जीवन कमजोर हुँदै जानुको संकेत पनि हो । गाउँमा मानिस नहुँदा खेतबारी बाँझिन्छन्, स्थानीय श्रम बजार खुम्चिन्छ, विद्यालयमा विद्यार्थी घट्छन् र सामुदायिक गतिविधि कमजोर हुन्छन् ।
अन्ततः गाउँको आर्थिक र सामाजिक जीवन नै संकटमा पर्छ । त्यसैले बसाइँसराइ रोक्ने नाममा मानिसलाई जबर्जस्ती गाउँमा रोक्ने नीति सम्भव नभएको सरोकारवालाहरु बताउँछन् । गाउँमै बस्दा शहर वा विदेशमा भन्दा राम्रो जीवन जिउन सक्ने वातावरण बनाउनु आवश्यक रहेको जनसंख्या विद् डा. पदम खतिवडा बताउँछन् ।
त्यसका लागि कृषि उत्पादनलाई बजारसँग जोड्ने, स्थानीय उद्योग स्थापना गर्ने, पर्यटनको विकास गर्ने, सीप र उद्यमशीलता बढाउने तथा शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार्ने काम एकसाथ अघि बढाउनु पर्ने उनले बताए । यसमा तीन तहका सरकारहरुले मसिनो गरी काम गर्नुपर्ने उनको जोड छ ।
उनले भने, ‘गाउँमा रोजगारी सिर्जना नगरी युवालाई गाउँ फर्काउने भाषणले मात्र परिणाम दिँदैन । युवाले आफ्नो श्रमको उचित मूल्य पाउने र परिवारको भविष्य सुरक्षित देख्ने वातावरण बनाउनुपर्छ । कृषि, पशुपालन, जडीबुटी, पर्यटन र साना उद्योगलाई रोजगारीसँग जोड्न सकियो भने गाउँमा सम्भावना अझै छ ।’
मलामी खोज्नुपर्ने अवस्थामा पुगे गाउँ 

सम्पादकीय : विपद् पीडितलाई आहात नदेऊ !

मलामी खोज्नुपर्ने अवस्थामा पुगे गाउँ 

सुन्दर नेपाल संस्थाको ३०औँ साधारणसभा सम्पन्न, तीन

Leave a comment

Your email address will not be published. Required fields are marked *