एमाले सुर्खेत अध्यक्षमा शर्मा र बिसी भिड्दै

सुर्खेत, २० पौष ।
नेकपा एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदैछ । जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ । अधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि भने आकाँक्षीहरुले दौडधुप सुरु गर्न थालेका छन् । यद्यपी यसपाली पार्टी विभाजनको घाउ पुर्न एमालेले सहमतिमै नेतृत्व चयन गर्ने कसरत गरिरहेको छ ।

वडादेखि पालिकासम्म सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमै टुङ्गाउने कसरत जारी राखेको हो । तर जिल्ला अध्यक्षका लागि भने झण्डै आधा दर्जन आँकाक्षीहरु छन् । अध्यक्षका लागि बहालवाला पार्टी अध्यक्ष धु्रवकुमार शाही, उपाध्यक्ष अमृतबहादुर विसी, जिल्ला कमिटी सदस्य डण्डिप्रसाद शर्मा, कुलमणि देवकोटा, महेन्द्र शर्मा र ऐनबहादुर चन्द लगायत आकाँक्षी देखिएका छन् । जसमध्ये शाही, विसी र शर्मा अध्यक्षका बलिया दावेदार हुन् । चन्द र देवकोटा आकाँक्षी भएपनि अध्यक्ष हुने सम्भावना कमजोर रहेको एमाले स्रोतले जनाएको छ ।

यद्यपी बहालवाल अध्यक्ष शाही आफू पुनः अध्यक्षमा नदोहोरिने बताउँछन् । ‘म फेरि पनि अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा छैन, सकेसम्म अन्य साथीहरुलाई पनि अवसर दिऔं भन्ने सोचेको छु’ उनले भने, ‘पार्टीले आवश्यक ठान्यो भने त जिम्मेवारी लिन्न भन्दिनँ ।’ आकाँक्षीहरु धेरै भए पनि एमाले नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गर्दै आएका छन् ।

‘नेतृत्वका लागि आधा दर्जन आकाँक्षीहरु हुनुहुन्छ’ एमालेका एक जिल्ला कमिटी सदस्यले भने, ‘तर चुनाव हुँदैन, सबै पदाधिकारी सर्वसम्मत चुन्छौँ ।’ जिल्ला नेतृत्वका लागि नेताहरुको व्यवस्थापनमा मात्रै समस्या छ । ‘अध्यक्षमा मात्रै समस्या हो, अन्य पदमा त मिलिहाल्छ’ ति नेताले भने, ‘जे भए पनि अन्तिम अवस्थासम्म सहमतिको प्रयास हुन्छ ।’ कुनै पनि पदमा निर्वाचन नगर्ने केन्द्रको निर्देशन अनुसार सुर्खेतमा पनि सर्वसम्मत रुपमै नेतृत्व टुङ्गाउने नेताहरुको तयारी छ । ‘अहिलेको अवस्थामा चुनाव गर्नुहुँदैन भन्ने केन्द्रको निर्देशन छ’ ति नेताले भने, ‘बरु यो पटक नेताहरुलाई योगदान गर्न अनुरोध गरिन्छ, तर निर्वाचन हुने स्थिति छैन ।’

पार्टी फुटेको अवस्थामा निर्वाचन गर्दा थप क्षति पुग्ने भन्दै केन्द्रले सर्वसहमतिमा नेतृत्व चयन गर्न दवाव दिएको छ । स्रोतको अनुसार एमाले स्थायी समिति सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेल र केन्द्रीय सदस्य नवराज रावत एकै ठाउँमा उभिएको खण्डमा जिल्लामा सर्वसम्मत नेतृत्व चयन हुनेछ । तर कँडेल र रावत एकमत नभए निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ ।

नेता कँडेलले उपाध्यक्ष विसीको योगदानलाई कदर गर्दै अध्यक्षमा अगाडि सार्ने तयारी गरेको स्रोतको दाबी छ । बहालवाला अध्यक्ष शाहीलाई प्रदेश कमिटीमा रोजेको पद सुनिश्चित गरेर विसीलाई अगाडि सार्ने कँडेलको तयारी छ । तर विसीको नाममा नेता रावत सहमत छैनन् । रावतले भने शर्मालाई अध्यक्ष बनाउन चाहेका छन् ।

कँडेल र रावतबीच सहमति नभएमा विसी र शर्माबीच निर्वाचन हुनसक्ने एमाले नेताहरुले बताउँछन् । अधिवेशन सम्पन्न गर्नका लागि एमालेले यसअघि नै विभिन्न आठ वटा समिति गठन गरेको छ । शर्मा यस अघि नेकपा एमाले जिल्ला कमिटी सदस्य, विसी जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।

एमाले सुर्खेत अध्यक्षमा शर्मा र बिसी भिड्दै

राष्ट्रको सेवा गर्न निजामति उपयुक्त क्षेत्र

एमाले सुर्खेत अध्यक्षमा शर्मा र बिसी भिड्दै

YUGAAWHAN NATIONAL DAILY (2078-9-16)

Leave a comment

Your email address will not be published. Required fields are marked *