राष्ट्रको सेवा गर्न निजामति उपयुक्त क्षेत्र


दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् भलाराम पंगाली । विगत १६ महिनादेखि उनले गाउँपालिकाको प्रशासकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी निजामति क्षेत्रका अनुभवी कर्मचारी पनि हुन् । विगत २२ बर्षदेखि निजामति क्षेत्रमा छन् । राष्ट्रको सेवा गर्ने सबैभन्दा सहज माध्यम भएका कारण उनले निजामति क्षेत्र रोजेका हुन् । प्रस्तुत छ, उनै पंगालीको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :
संघर्षपूर्ण बाल्यकाल
२०३० साल असार ३० गते बुवा भवानीप्रसाद र आमा बसन्धरी पंगालीको कोखबाट भलारामको जन्म भयो । वीरेन्द्रनगर–४ भैरवस्थान उनको जन्मभूमि हो । मध्यम बर्गिय परिवारमा जन्मिएका उनको बाल्यकाल भने त्यति सुखमय भएन । चार बर्षकै उमेरमा बुवालाई गुमाउनु प¥यो । सानैमा बुवा गुमाएपछि उनले बाल्यकालदेखि नै संघर्ष गर्नुप¥यो । आर्थिक अभाव टार्न सानैदेखि आमालाई सघाउन थाले । दुई÷चार पैसा कमाउन दाई भारत पुगे । आमा र उनले घर व्यवहार चलाए । बाल्यकालमा आइपरेका हरेक दुःखसुखमा फुपु पुन्यवती र दाई लोकप्रसाद पन्तले सघाए । ‘बुवाको अभावले बाल्यकालदेखि नै संघर्ष गर्नुप¥यो’ उनी भन्छन्, ‘घर व्यवहार चलाउन र आर्थिक अभाव टार्न फुपु र दाइले निकै सहयोग गर्नुभयो ।’
एसएलसी पास हुँदा सबैभन्दा धेरै खुशी
भलारामले गाउँकै विद्यालयबाट कखरा सिके । भैरवी माध्यमिक विद्यालय गोठीकाँडाबाटै माध्यमिक शिक्षा पुरा गरे । तर कक्षा ६ र ७ को पढाइ शिव माध्यमिक विद्यालय लाटीकोइलीमा पुरा गरे । लाटीकोइलीमा दाईले माछापालन गरेका थिए । दाईको साथी बन्न उनी पनि लाटीकोइली पुगे । ‘त्योबेला भैरवस्थान र लाटीकोइली अल्ली टाढा लाग्थ्यो’ उनी भन्छन्, ‘दाईकै साथी बन्न लाटीकोइली पुगँे, कक्षा ६ र ७ त्यहीँबाट पुरा गरेँ ।’
दुई बर्षपछि उनी पुनः भैरवस्थानमै फर्किए । भैरवस्थानबाट २०४८ सालमा एसएलसी पास गरे । एसएलसी पास गर्दा उनी जीवनमा सबैभन्दा धेरै खुशी भए । ‘रिजल्ट आउनु अघिल्लो दिन एसएलसी पास भएको सपना देखेको थिएँ, विहान उठ्दा विपनामा पनि पास भएछु’ उनी भन्छन्, ‘एसएलसी पास भएको क्षण धेरै खुशी भएको थिएँ, अहिले पनि त्यो क्षण भुलेको छैन ।’ सपनामा उनले पिपलको पातमा आफ्नो रोल्नम्बर देखेका थिए । विहान उठ्दा पत्रिकामा आफ्नो रोल नम्बर भेटाए । ऊबेला एसएलसीको रिजल्ट गोरखापत्रमा प्रकाशित हुन्थ्यो । एसएलसीपछि भने उनी कमाउँदै पढ्दै गर्न थाले । वीरन्द्रनगर बहुमुखि क्याम्पसबाट स्नातक तहसम्म अध्ययन गरेका उनले त्यसपछिको पढाइलाई भने अगाडि बढाउन सकेनन् । ‘एसएलसीपछि कमाउँदै पढ्दै गर्नुप¥यो’ उनी भन्छन्, ‘जिम्मेवारी थपिएपछि सोचे जति पढ्न सकिन ।’ एसएलसीपछि लामो समय निजी क्षेत्रका व्यावसायिक फर्महरुका काम गरे । विहान पढ्ने र दिउँसो जागिर गरे ।
अनि निजामति प्रवेश
भलारामले सानै उमेरमा जीवनको अर्थ बुझेका थिए । अभाव, संघर्ष र कठिनाइहरु भोगेका थिए । यहीकारण सानैदेखि स्थायित्वसँगै राष्ट्रका लागि योगदान गर्ने सोचे । जसका लागि निजामति क्षेत्र उपयुक्त स्थान देखे । ‘राष्ट्रको सेवा गर्ने क्षेत्रहरु त धेरै थिए, मेरो हकमा निजामति क्षेत्र नै उपयुक्त लाग्यो’ उनी भन्छन्, ‘सेना र प्रहरी हुन रुचि थिएन, निजामति क्षेत्रमै भविष्य खोजेँ ।’ जनतासँग नजिक भएर सेवा गर्न मिल्ने कारण निजामति क्षेत्र रोजेको उनको भनाइ छ । निजामति क्षेत्रमा आउनु अघि उनले झण्डै तीन बर्ष अस्थायी सेवामा काम गरिसकेका थिए । तत्कालीन जिल्ला विकास समितिमा रहेर काम गर्दा नै निजामति क्षेत्रमा भविष्य खोज्न थाले ।
सोही अनुसार आयोगको तयारी गरे । फलत ः २०५६ सालदेखि स्थायी रुपमा निजामति क्षेत्रमा प्रवेश पाए । जिल्ला प्रशासन कार्यालय दैलेखबाट निजामतिको जागिर सुरु गरे । त्यसपछि तत्कालीन क्षेत्रिय प्रशासन कार्यालय दैलेख, प्रमुख इलाका प्रशासन कार्यालय रुकुमकोट, अध्यागमन कार्यालय सिन्धुपाल्चौक, स्वास्थ्य सेवा निर्देशनालयमा रहेर सेवा गरिसकेका छन् । विगत १६ महिनादेखि उनले भैरवी गाउँपालिका प्रमुख प्रशसकीय अधिृकतको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
रुकुममा हुँदा करिव चार महिना प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाले । निजामति क्षेत्रमा उनीसँग २२ बर्ष लामो अनुभव छ । अब जनप्रतिनिधिसँग मिलेर समाजको विकास निर्माण र राष्ट्रप्रति योगदान गर्ने उनको भनाइ छ । निःस्वार्थ रुपमा काम गरेकै कारण उनलाई भैरवीबाट जनप्रतिनिधिहरुले सरुवा हुन दिएका छैनन् । केहीदिन अघि महावु गाउँपालिकामा उनको सरुवा भइसकेको छ । तर कार्यापालिका बैठकले अर्काे व्यवस्था नभएसम्म नपठाउने निर्णय गरेको छ ।
कानुन कार्यान्वय गरौं
भलारामले निजामति क्षेत्रमा दुई दशक पार गरिसकेका छन् । विभिन्न जिल्लामा बसेर काम गरेको अनुभव संगालेका छन् । तर जहाँ पुग्यो त्यही विकृति देख्छन् । यही विकृतिका कारण समाज रुपान्तरण र विकास निर्माणले गति लिन नसकेको देख्छन् । नीति नियमको कार्यान्वन नहुँदा हरेक क्षेत्रमा विकृत मौलाउँदै गएको उनको बुझाइ छ । ‘निमय र कानुनको पालना नहुँदा हरेक क्षेत्रमा विकृति बढ्दो छ’ उनी भन्छन्, ‘बनेका नीति नियमको मात्रै पालन भए समाज सुध्रिन समय लाग्दैन ।’ कानुनको सही कार्यान्वयन भए निजामति क्षेत्रका देखा परेका केही विकृति पनि आफै हल हुने उनी बताउँछन् । नियम र कानूनको पूर्ण कार्यान्वयन गर्दै देखिएका विकृतिहरु हटाएर निजामतिको गरिमा बढाउनुपर्ने उनको सुझाव छ ।






