हुम्लामा रुघाखोकी र ज्वरोका बिरामी बढ


जुम्ला :  सिमकोट– अस्पतालमा उपचारका लागि आउने रुघाखोकी तथा ज्वरोका बिरामीको संख्या बढेको छ । चिसो अध्याधिक बढेपछि अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढेको हुम्ला जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहोराले जानकारी दिइन् । उपचारका लागि अस्पताल पुगेका बिरामी दान रावलले चार दिनदेखि रुघाखोकी र ज्वरोले आफू थलापरेको बताए ।

घाँटी र शरीर दुख्ने, खाना खान मन नलाग्ने लक्षण देखिएको उनको भनाइ छ । सुरुमा सामान्य नै ठानेर घरेलु उपचारमा लागेपनि गाह्रो पारेपछि अस्पताल पुगेको रावलले बताए । यस्ता खालका समस्या लिएर दैनिक ४०÷५० जना बिरामी अस्पताल आउने अनमी बोहोराले जानकारी दिइन् । बालबालिका र बृद्धबृद्धामा यस्तो समस्या बढी देखिएको उनको भनाइ छ । बोहोराका अनुसार स्वास्थ्य अवस्था जटिल भएका केही बिरामीलाई अस्पतालमै भर्ना समेत गरिएको छ ।

यस्तै खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले गाउँपालिकाका सबै वडाका बस्तीमा रुघाखोकीका बिरामी संख्यामा बृद्धि भइरहेको बता । उनले यो चिसोको मौसममा रुघाखोकी र सिजनल फ्लु बढी हुने भएको कारण यसबाट जोगिनका लागि सबैले सावधानी अपनाउनु पर्ने बताए । उनले यसका लागि पानी उमालेर मात्र पिउनु पर्ने, ताततातो झोलिलो पदार्थको सेवन गर्नुपर्ने, न्याना कपडा लगाउनु पर्ने र बालबालिका तथा बृद्धबृद्धालाई चिसोको समयमा घर बाहिर ननिस्कन सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया