हवाइ सेवा सुधारा

कर्णाली भौगोलिक रुपमा विकट छ । बस्तीहरु टाढा छन् । एक बस्तीबाट अर्काे बस्तीमा जान कठिन हुने अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जान त झन् निकै कठिन छ । यही कारण पनि कर्णालीमा हवाइ यातायात नै भरपर्दो विकल्प हो ।
सडक नपुगेका बस्ती र सडक यातायातको सुविधा नभएका धेरै बस्ती छन् । जहाँका नागरिकले अहिले पनि गाडी चढ्न पाएका छैनन् । जिल्ला बाहिर जानु परेमा जहाजबाटै जानुपर्ने बाध्यता छ । मुख्यगरी हुम्ला र डोल्पाका नागरिकलाई जिल्ला बाहिर जान जहाज नै अनिवार्य छ ।
अन्य दुर्गम जिल्लामा पनि बिरामीलाई अस्पतालसम्म लैजान हवाइ सेवा नै आवश्यक पर्दछ । तर पनि कर्णालीमा हवाइ सेवा भरपर्दो छैन । उडान नै नहुने समस्या छ । उडान भए पनि सर्वसाधारणले सहज रुपमा टिकट नपाउने समस्या छ । दुर्गममा पहुँच र शक्तिको भरमा मात्र जहाजको टिकट पाइने गरेको छ । यसबाट नागरिकले निकै कष्ट भोगिरहेका छन् ।


पछिल्लो समय हुम्ला र जुम्लामा विरामीले जहाजको टिकट नपाएको घटनाले पनि कर्णालीमा हवाइ सेवा कस्तो छ भन्ने देखाउँछ । विमानस्थलमा पुगेका विरामीलाई नै जहाजमा स्थान नहुँदा फिर्ता गरिएको छ । जबकी अस्पतालहरुले जिल्लामा उपचार सम्वभ नभएको भन्दै विरामीहरुलाई जिल्ला बाहिर तत्काल लैजान भनेका थिए ।
त्यस्तो अवस्थामा विरामीको ज्यान बचाउन पनि जहाजबाटै तत्काल सुविधायुक्त अस्पतालमा लैजानुपर्ने बाध्यता हुन्छ । तर जुम्ला र हुम्लामा विरामीहरुले जहाजको टिकट नै नपाएर विमानस्थलबाट फिर्ता भए । यसले कर्णालीमा हवाइ सेवामा पहुँचवालाको मात्र रजगज छ भन्ने देखाउँछ ।
त्यतिमात्र होइन, विरामीले जिल्ला बाहिर उपचारका लागि जान नपाउने अवस्थाको सिर्जना भएको छ । यसले व्यक्तिको बाँच्न पाउने अधिकारको समेत हनन् गरेको छ । तर प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु भने गाउँमा कार्यक्रम उद्घाटन र अनुमगनको नाममा हेलिकोप्टर चार्टर गरेर सयर गरिरहेका छन् ।
तर सरकार यहाँको हवाइ सेवा सुधार गर्नेतर्फ गम्भिर भएको पाइदैन । कर्णालीका लागि हवाइ सेवा नै उत्तम विकल्प हो । यद्यपि यहाँका केही विमानस्थलहरु बन्द अवस्थामा छन् । विमानस्थल भएर पनि संचालन नहुँदा अन्य विमानस्थलमा यात्रुको चाप बढ्ने नै भयो । त्यसमा पनि भएका विमानस्थलको स्तरोन्नति र उडान संख्या थप्ने विषयमा कसैको ध्यान पुगेको छैन । यसले पनि हालको समस्या देखिएको छ । विरामीको समयमै उपचार, यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पुग्न र पर्यटकका लागि पनि हवाइ सेवा आवश्यक छ । त्यसकारण यहाँको हवाइ सेवालाई सुधार गर्नका लागि अब प्रदेश सरकारले मुख्य भूमिका निर्वाह गर्नु पर्दछ । साथै विमानस्थलको सुधार, स्तरोन्नति र बन्द भएका विमानस्थल संचालनका लागि पनि प्रदेश र केन्द्र सरकारले गम्भिर बन्नु पर्दछ । विकास भनेको भीरमा सडक खन्नु मात्र होइन । व्यक्तिहरुले समयमै उपचार पाउनु र निरोगि भएर बाँच्नु पनि विकास हो । तसर्थ यहाँको हवाइ सेवालाई प्रभावकारी बनाऔं ।

हवाइ सेवा सुधारा

‘कांक्रेविहार गोल्डकप’ दोस्रो खेल सुरू

हवाइ सेवा सुधारा

YUGAAWHAN NATIONAL DAILY (2078-7-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *