ठेकेदारले काम नगर्दा काँक्रेविहारको पुनर्निर्माण अधुरै

सुर्खेत : कर्णालीको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको पुनर्निर्माण अझै लम्बिने भएको छ । पुनर्निर्माण थालिएको झण्डै २० वर्ष पुग्दा पनि यसको पुनर्निमार्णको काम पुरा भएको छैन । २०५७ सालदेखि अलपत्र अवस्थामा रहेको भग्नावशेषको रुपमा रहेको काँक्रेविहारलाई पुरातत्व विभागले पुनर्निर्माण गर्न सुरु गरेको थियो ।

तर हाल मन्दिर ठड्याउने बाहेक अन्य काम अधुरै रहेको हो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगरेपछि वीरेन्द्रनगरमा रहेको काँक्रेविहार पुनर्निमार्णको काम अधुरै रहेको हो । आधा काम छडेर ठेकेदार सम्पर्कविहीन भएको पुरातत्व विभागले जनाएको छ । पुनर्निर्माणका लागि पहल गरेको झण्डै चार वर्षपछि अर्थात २०६१ सालमा सरकारले बजेट छुट्याएको थियो । तर पुनर्निर्माणको काम भने अघि बढ्न सकेन ।

बजेट हुँदाहुँदै पनि काँक्रेविहारलाई कस्तो बनाउने भन्नेमै पुरातत्व विभाग अल्झियो ।  गुरुयोजनाको अभावमा करिव १० वर्षसम्म पुनर्निर्माणका सुरुवात समेत हुन सकेन । स्थानीय नागरिकले भने काँक्रेविहारको पुनर्निर्माणका लागि राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्रीदेखि तत्कालिन राष्ट्रपति रामवरण यादवसमेतलाई गुहारे । लामो समयसम्म सरकारको वर्षेनी नीति तथा कार्यक्रममा काँक्रेविहारलाई प्राथमिकतामा राख्ने तर पुनर्निर्माणको काम सुरुवातसमेत हुन सकेन ।

वर्षाैको प्रयासपछि २०७२ साल असार ४ गते तीन वर्षमा पुनर्निर्माण सक्नेगरी सिद्धबाबा कन्ट्रक्शनसँग सम्झौता भयो । गुरुयोजना नभए पनि पुरातत्व विभागले शिखर शैलीमा काँक्रेविहारको पुनर्निर्माण र भग्नावशेषलाई उत्खनन गर्ने ठेक्का दियो ।  तर ठेकेदार कम्पनीले पुनर्निर्माणका लागि घाँडो बन्यो । तीन वर्षमा पुनर्निर्माण सक्ने ठेक्का लिएको भए पनि धेरै काम बाँकी रहेको छ ।

गुरुयोजना पनि बनेन

काँक्रेविहार सुर्खेतको मात्र होइन, कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल हो । काँक्रेविहारको पुनर्निर्माणको काम पनि हाल अन्तिम चरणमा पुगेको छ । तर हालसम्म काँक्रेविहारको गुरुयोजना भने बन्न सकेको छैन । तर पुरातात्व विभागले भने काँक्रेविहारको पुनर्निर्माण सकिएपछि मात्र गुरुयोजना बनाउने जनाएको छ ।

गुरुयोजना विनै मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । गुरुयोजना निर्माण भएमा पुरातात्विक र ऐतिहासिक महत्व बोकेको काँक्रेविहार पर्यटन विकासका लागि कोशेढुंगा बन्ने विश्वास गरिएको छ । काँक्रेविहारमा बुद्ध, शिव, पार्वती लगायतका मूर्तिहरु कुँदिएका छन् । यता वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले काँक्रेविहारको गुरुयोजना बनाउन सबैले पहल गर्नुपर्ने बताए । प्रदेश नम्बर ५ को लुम्बिनी र चीनको कैलाश मानसरोवर पुग्ने धार्मिक पर्यटकलाई काँक्रेविहारसम्म जोड्न सकिने उनको धारणा छ ।

ठेकेदार नै वेपत्ता

शिखर शैलीमा काँक्रेविहारमा मन्दिरको पुनर्निर्माण सकिए छ । यद्यपी यसलाई अन्तिम रुप दिन भने अझै केही समय लाग्ने भएको छ । निर्माण कम्पनीले शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरलाई रंगरोगन, वाटरप्रुफ रंग, कम्पाउण्डिङ र चक्रपथ निर्माण लगायतका कामहरु गर्न बाँकी नै छन् ।

तर निर्माण कम्पनी भने मन्दिरमा गजुर राखेर वेपत्ता भएको विभागले जनाएको छ । पुरातत्व विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठका अनुसार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पुनर्निर्माणको काम सम्पन्न गर्न चासो दिएको छैन । चालु आर्थिक वर्षभित्र निर्माण सक्ने विभागले भनाइ छ । तर रंङरोगन र कम्पाउण्डिङ लगायतका बाँकी काम गर्न ठेकेदार कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि वेवास्ता गरेको इन्जिनियर श्रेष्ठले जनाए ।विभागले निर्माणको जिम्मा सिद्धबाबा कन्ट्रक्शनलाई सुम्पेको थियो ।

तर यो कम्पनीले बिचमै बाँकी काम गर्ने जिम्मेवारी अर्को निर्माण कम्पनीलाई सुम्पेको छ । निर्माण कम्पनीबाट जिम्मेवारी लिएका तिर्थराम काश्यवले आफूले बजेट नपाएका कारण काम नगरेको बताए । विभागले बजेट निर्माण कम्पनीको खातामा हाल्ने र निर्माण कम्पनीले आफूलाई रकम नदिएका कारण काम गर्न नसकेको उनको भनाइ छ । बजेट नदिएका कारण आफूले पनि बिचमै काम छाडेको उनको दाबी छ ।

आधुनिक शौचालय बन्दै

अहिले पनि काँक्रेविहारमा घुम्न आउने पर्यटकको संख्या धेरै छ । नाम अनुसार विकास नभए पनि यहाँ अवलोकनका लागि जिल्ला बाहिरबाटसमेत पर्यटकहरु आउने गरेका छन् । तिनै पर्यटकको सहजताका लागि काँक्रेविहारमा आधुनिक शौचालय निर्माणको काम सुरु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका, युएनडीपी र वडा नम्बर ९ को संयुक्त पहलमा आधुनिक शौचालय निर्माणको काम थालिएको हो । वडा नम्बर ९ का वडाध्यक्ष सुरेश मानन्धरका अनुसार पर्यटकको सहजताका लागि २४ लाख रुपैयाँमा आधुनिक शौचालय निर्माणको काम सुरु गरिएको हो । चैत्रभित्रै शौचालय निर्माणको काम सकिने उनको भनाइ छ । हाल काँक्रेविहारमा आउने पर्यटकले शौचालय र खानेपानीको अभाव झेल्दै आएका छन् ।

तपाईको प्रतिक्रिया