असुरक्षा बढेपछि राउटे बस्ती सिल

सुर्खेत । फिरन्ते जाति राउटे समुदायको बस्ती सिल गरिएको छ। असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राउटे बस्ती सिल गरेको हो ।

‘बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले भने, ‘घटना राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको हो।’ राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो । बस्तीमा अन्य समुदायका नागरिकले घटना अन्त पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल गर्नुपरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएको खण्डमा पीडित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको बताइएको छ । यही कारण आज (सोमबार) बिहानदेखि राउटे बस्ती कसैलाई प्रवेश गर्न नदिने प्रहरी खटिएको हो ।

आइतबार मात्रै राउटे मुखिया सूर्यनारायण शाहीले सुरक्षा माग गरेका थिए। उनले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए। हिजोआज भाइरल हुने उद्देश्यले युट्युब, टिकटक फेसबुकलगायतका सामाजिक सञ्चालमा राउटेसँग तस्बिर र भिडियो लिनेहरुको भीडसमेत लाग्ने गरेको छ ।

यसैबीच, सुर्खेतका युवाले राउटे समुदायका लागि सहयोगको अपिल गर्दै अभियान चलाएका छन् । कर्णाली सरकारले राउटे बस्ती पूर्ण रुपमा सिल गरेका कारण उनीहरु खाद्यान्न जोहो गर्न बाहिर निस्कन नपाउने भएकाले सहयोग संकलन अभियान चलाइएको सुर्खेतका रमेशविक्रम हमालले बताए ।

‘बस्ती सिल भएका कारण उनीहरु शिकार खेल्न पनि जान पाउने अवस्था छैन। आफूले बनाएको काठको सामान बेच्न हिँड्ने काम पनि बन्द भएको छ। पर्याप्त खाद्यान्न पुर्याउन सके उनीहरु पनि आफ्नो समुदायबाट बाहिर निस्कनु पर्ने थिएन,’ हमालले भने।

असुरक्षा बढेपछि राउटे बस्ती सिल

प्रधानपञ्च हुँदै मन्त्री सम्म : यज्ञबहादुर बुढा

Leave a comment

Your email address will not be published. Required fields are marked *