बङ्गलादेशले भारतसँगको सीमा नाका जुन १४ सम्म नखोल्ने

एजेन्सी । बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म बिस्तार गर्ने निर्णय गरेको छ ।
छिमेकी मुलुक भारतमा कोभिड–१९ बृद्धि भएको समय बङ्गलादेशको भारतसँगको स्थल सीमालाई अप्रिल २६ देखि बन्द गरिएको थियो भने सीमा क्षेत्रमा यात्रा प्रतिबन्धको अन्तिम मिति मे ३१ सम्मका लागि जारी गरिएको थियो।
शनिबार बङ्गलादेशका परराष्ट्र सचिवको अध्यक्षतामा बसेको बैठकले भारतसँगको सीमा बन्द गर्ने निर्णयलाई बिस्तार गर्ने भएको बताइएको छ ।
सरकारले भाइरसको फैलावट रोक्न भारतसँग जोडिएका अन्य दुई सीमाविन्दु मार्फत् हुने दुई थप स्थल मार्गलाई पनि यात्रा बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बन्द गरिएका सीमा बजारहरूमा चोदङ्गाको दर्शना र चपेनावाबगंजको सोना मस्जिद रहेका बताइएको छ। सरकारको निर्णय अनुसार दर्शन पोर्ट एक हप्ताको र सोना मस्जिद दुई हप्ताका लागि बन्द रहनेछन् ।
यद्यपि; ती नाकाबाट सामान ओसारपसारका लागि भने कुनै अवरोध हुने छैन । नाका क्षेत्रमा सङ्क्रमण दर अझै नियन्त्रणउन्मुख नरहेको भन्दै अतिआवश्यक बाहेकका काममा सीमाना मार्फत् यात्रुलाई आवतजावत गराउन निषेध गरिएको हो ।






