भारतीय दूतावास तथा काठमाडौं विश्वविद्यालयले मनाए अम्बेडकर जयन्ती

काठमाडौं । भारतीय स्वतन्त्रताको ७५औं वर्षमा सञ्चालन भइरहेको ‘India@75’ नामक कार्यक्रमकै एक भागको रुपमा काठमाडौंस्थित भारतीय दूतावास तथा काठमाडौं विश्वविद्यालयले सोमबार अम्बेडकर जयन्ती मनाएका छन् । सो अवसरमा आजको वैश्विक परिवेशमा बाबा साहेब भीम राव अम्बेडकरको सान्दर्भिकता बारे छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले आधुनिक भारतको निर्माणमा बाबा साहेब भीम राव अम्बेडकरको भूमिका तथा समाजका सीमान्तकृत वर्गको सामाजिक उत्थानमा उहाँको योगदान बारे प्रकाश पारेका थिए । भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले विद्यार्थीहरुलाई ‘बाबा साहेब’का विचारधारालाई अनुशरण गर्न प्रेरित गरेका थिए ।

त्यसैगरी, डा.ऋषिकेश वाग्लले आधुनिक भारतको निर्माणमा र भारतको राजनीतिक तथा सामाजिक—आर्थिक रुपान्तरणमा भारतको संविधानको भूमिका बारे चर्चा गर्दै डा.अम्बेडकरको विशेष भूमिका बारे जानकारी गराएका थिए ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा.केदारनाथ शर्मा र स्कुल अफ आर्ट्सका डिन प्राध्यापक डा.सागरराज शर्माले पनि भारतीय समाजको रुपान्तरणमा डा.अम्बेडकरको भूमिका बारे चर्चा गरेका थिए । सो अवसरमा बाबा साहेब अम्बेडकरको जीवनीमा आधारित ‘मूक नायक’ नामक वृत्तचित्रसमेत देखाइएको थियो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा.भोला थापा, स्कुल अफ लका डिन डा.ऋषिकेश वाग्ले, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.उद्घव प्याकुरेल, भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमार तथा प्राध्यापक डा.केदारनाथ शर्माको उपस्थिति थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया