ठगीको आरोपमा चार लाख नगदसहित चार जना पक्राउ

सुर्खेत–ठगीको आरोपमा जाजरकोटमा चार जना पक्राउ परेका छन्।
उनीहरुको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाका सोलार र आधुनिक चुलो दिन्छु भन्दै नागरिकबाट रकम संकलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। उनीहरुले ७ हजार थान सौर्य उर्जा (सोलार सेट) र सुधारिएको फलामे चुलो वितरण गर्ने भन्दै नागरिकबाट रकम असुल्दै आएको प्रहरीले जनाएको छ।
नागरिकबाट संकलन गरेको नगद चार लाख ४० हजार ४४५ रुपैयाँ, ग्रामीण विकास तथा क्लीन इन्भारोमेन्ट नेपाल लेखिएको लेटरप्याड, अमन ईन्ट्रेरियर एण्ड डेकरेशन विजनेश ग्रुप लेखिएको खाली लेटर प्याड, छाप, रकम संकलन गरेको रजिष्टर, रकम बुझाएको ठेलीको अर्धकट्टी, ६ वटा नेपाली नागरिकताको प्रमाण–पत्र, ३ वटा मतदाता परिचय–पत्र, कृषि विकास बैंक लिमिटेडको चेक बुक लगायतका कागजात समेत भेटिएको डीएसपी थापाले बताए।
नक्कली कागज बनाएर ठगीधन्दा गर्दै आएको आशंकामा प्रहरीले ४ जनालाई आइतबार पक्राउ गरेको थियो।
पक्राउ परेका चार जनालाई सोमबार सार्वजनिक गरेको हो। प्रहरीले चार जनाविरुद्धमा जिल्ला अदालतमा ठगी सम्वन्धी कसूरमा मुद्दा दर्ता गरेर आवश्यक छानविन गरिरहेको छ।






