सम्पादकीयः विद्युतमा सुधारको संकेत
कर्णालीका अधिकांश बस्तीहरु अहिले पनि अन्धकारमा छन् । त्यसमा पनि साविक कर्णालीका जिल्लामा हालसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइन पुग्न सकेको छैन । प्रदेशका बाँकी पाँच जिल्लामा विद्युत लाइन विस्तार भए पनि सदरमुकाममा मात्र केन्द्रीत छ । सदरमुकाममा विस्तार भएको लाइन पनि भरपर्दो छैन । कर्णालीका जिल्लामा आउने विजुलीको लाइन कोहलपुरबाट सुर्खेतसम्मको प्रशारण लाइन हो । यो लाइन विस्तार भएको धेरै बर्ष भयो । जंगल क्षेत्रबाट लाइन विस्तार भएकाले अधिकांश समयमा अवरुद्ध हुने समस्या छ । हावा र पानीका कारण लाइन अवरुद्ध हुने समस्या छ । त्यतिमात्र होइन, कम भोल्टेजका कारण यहाँका जिल्लामा सुविधा भन्दा सास्ती नै बढी छ । प्रशारण लाइन काम चलाउ भएकाले पनि सर्वसाधारणले समस्या भोग्नु परेको हो । बारम्बार लाइन अवरुद्ध हुने, कम भोल्टेज र ढुक्कसँग विजुली बाल्न नपाउने समस्या पुरानो हो । यही समस्या समाधानका लागि बर्षौं भयो, कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभीए प्रशारण लाइन विस्तार गर्ने योजनाबारे चर्चा हुन थालेको छ ।

यही विषयलाई धेरै दल र नेताले चुनावी नारा नै बनाए । कर्णालीमा आउने देशका उच्च अधिकारी र प्रधानमन्त्रीसम्मलाई यही समस्या समाधानको माग राखियो । तर समयमा यसको सुनुवाइ हुन सकेन । तर पछिल्लो समय कर्णालीमा विद्युतको समस्या समाधानका लागि केही सुधारका संकेत देखिएका छन् । कोहलपुरदेखी सुर्खेत जोड्ने १३२ केभीए प्रशारण लाइन विस्तारको काम अगाडि बढेको छ । यसको सम्भाव्यता अध्ययन र डिटेल सर्भेको काम सुरु भएको छ । आयोजनाले काम थालेसँगै केही आशा पनि पलाएको छ । यो आयोजना कार्यान्वयन भएर सम्पन्न भएमा कर्णालीमा विद्युतको भरपर्दो व्यवस्थापन हुने अपेक्षा गरिएको छ । यो लाइन विस्तार भएको खण्डमा सामान्य हावा चल्दा र पानी पर्दा जाने विद्युतको समस्या समाधान हुने अपेक्षा गरिएको छ । त्यतिमात्र होइन, कम भोल्टेज र हाइभोल्टेजका कारण निम्तिने समस्याहरु पनि समाधान हुनेछन् । सुर्खेतसम्म विस्तार हुने लाइन कर्णालीका अन्य जिल्लामा पनि विस्तार गर्न सहज हुनेछ ।
आयोजना सुरु हुनु आफैमा सुखद् हो । तर यसको कार्यान्वयन मुख्य विषय हो । अहिले पनि देशमा धेरै यस्ता आयोजना छन्, जुन समयमै पूरा नहुने रोग छ । सुरुमा निकै चर्चा हुने र विस्तारै काममा सेलाउने रोग नेपालका आयोजनाहरुमा छ । यस्तै समस्या यो आयोजनामा दोहोरिन दिनु हुँदैन । उज्यालो विना अन्धकारमा नागरिकहरुलाई राख्नु हुँदैन । यसर्थ राज्यका सबै निकायले यसतर्फ विशेष निगरानी राख्नु पर्दछ । अझ् १३२ केभीए लाइन विस्तार जस्तो उज्यालो आयोजनाको सही कार्यान्वयन र तोकिएकै अवधिमा सम्पन्न गर्नेतर्फ प्रदेश सरकार र स्थानीय सरकारले विशेष चासो दिनु पर्दछ । यस्तै यहाँको राजनीतिक तथा प्रशासनिक नेतृत्वले पनि यो आयोजनाको प्रभावकारीता र समयमै काम सम्पन्न गराउनेतर्फ सकारात्मक दबाव दिनु पर्दछ । यसो भएमा कर्णालीमा विद्युतको दिर्घकालिन समाधान हुन सक्छ ।





