रसुवा बाढीपीडितका लागि नरैनापुरका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले तलब दिने

बाँके ,१२ भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाँकेको नरैनापुर गाउँपालिकाले बाढीपीडितको उद्धार तथा राहतका लागि करिब २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकले आफ्नो पारिश्रमिकबाट निश्चित दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। विपद्को समयमा स्थानीय सरकार पीडित नागरिकको साथमा रहेको सन्देश दिन तथा राष्ट्रिय विपद् व्यवस्थापनमा स्थानीय तहको ऐक्यबद्धता जनाउन सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार जनप्रतिनिधि तथा अधिकृतस्तरका कर्मचारी र सोभन्दा माथिका कर्मचारीले सात दिन बराबरको तलब सहयोग गर्नेछन्। सहायकस्तरका कर्मचारी तथा सोभन्दा मुनिका कर्मचारीले भने पाँच दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको छ।
त्यस्तै, अधिकृतस्तरका शिक्षक तथा सोभन्दा माथिका शिक्षकले पाँच दिन र सहायकस्तरका शिक्षक तथा सोभन्दा मुनिका शिक्षकले तीन दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको वलीले जानकारी दिनुभयो।
उहाँले विपद् जुनसुकै स्थानमा भए पनि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा राज्यका सबै तह र समुदायको साझा दायित्व रहने बताउनुभयो। मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै गाउँपालिकाले आफ्नो सामर्थ्यअनुसार सहयोग गर्ने निर्णय गरेको उहाँको भनाइ छ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताउनुभयो। विपद्को पीडामा स्थानीय सरकार पनि पीडित परिवारको साथमा रहेको अनुभूति गराउन जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट पारिश्रमिक योगदान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो।
“विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी हो,” अध्यक्ष शाहले भन्नुभयो, “हाम्रो सानो सहयोगले पनि विपद्मा परेका परिवारको राहत र उद्धारमा योगदान पुग्ने विश्वास लिएका छौँ।”
गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत भरत बस्नेतले निर्णयअनुसार सम्बन्धित जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको पारिश्रमिकबाट रकम कट्टा गरी एकीकृत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताउनुभयो। सहयोग रकम सङ्कलन र कोषमा जम्मा गर्ने कार्य प्रचलित कानुन तथा आर्थिक अनुशासनअनुसार पारदर्शी रूपमा अघि बढाइने उहाँले जानकारी दिनुभयो।
सहायक लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार निर्णयअनुसार तलबबाट तोकिएको दिन बराबरको रकम कट्टा गरी कोषमा जम्मा गर्ने प्रक्रिया अघि बढाइनेछ।
नरैनापुर गाउँपालिकाले विपद्का बेला सहयोग र सहकार्यको संस्कारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। गाउँपालिकाले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार विपद् प्रभावित नागरिकका लागि सहयोग, समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।






