निर्माण व्यवसायलाई प्रतिष्ठाको पेशा बनाउँछौँ : अध्यक्ष पाण्डे

सुर्खेत, १९ साउन ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसायलाई प्रतिष्ठाको पेशाका रूपमा स्थापित गर्ने घोषणा गरेका छन् । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको ७ औँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले निर्माण उद्योगको गुम्दै गएको साख जोगाउन महासंघ सक्रिय रहेको बताए । कुनै पनि विकास आयोजना अलपत्र नपर्ने र नछाड्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिँदै उनले कर्णालीका धेरै विकास आयोजना अझै अलपत्र अवस्थामा रहेको उल्लेख गरे ।
उनले सार्वजनिक खरिद ऐन संशोधनमार्फत व्यवसायीका माग सम्बोधन भएको भन्दै अब निर्माण व्यवसायीले पनि इमान्दारीपूर्वक काम गरेर पेशाको गरिमा बढाउनुपर्ने बताए । ‘कर्णालीमा पनि धेरै विकास आयोजनाहरु अलपत्र अवस्थामा छन् । सरकारले सार्वजनिक खरिद ऐन पनि संशोधन गरेर व्यवसायीको मागहरुलाई सम्बोधन गरेको छ । यो अवस्थामा निर्माण व्यवसायीहरुले पनि इमान्दार रुपमा काम गरी यो पेशालाई नै प्रतिष्ठाको पेशा बनाउनुपर्छ ।’
अध्यक्ष पाण्डेले निर्माण उद्योगलाई पुस्तान्तरण हुने पेशाका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राखे। विगतमा अभिभावकले गरेको निर्माण व्यवसाय सन्तानमा हस्तान्तरण हुने परम्परा कमजोर रहेको उल्लेख गर्दै उनले यसलाई परिवर्तन गर्नुपर्ने बताए। उनले भने, निर्माण व्यवसाय बदनाम हुँदा आफ्ना माग लिएर सडकमा जाँदा समेत कसैले साथ नदिने अवस्था आएको उल्लेख गर्दै उनले अब व्यवसायको गरिमा कामबाटै स्थापित गर्नुपर्ने बताए ।
अध्यक्ष पाण्डेले आफ्नो नेतृत्वको सय दिने कार्यकालमा निर्वाचनका क्रममा गरेका प्रतिबद्धतामध्ये ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । आगामी तीन वर्ष पेशाको गरिमा, राष्ट्रको विकास र समृद्धिका लागि केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सार्वजनिक खरिद ऐन र नियमावली संशोधन भइसकेको तथा अब निर्माण ऐन संशोधनको प्रक्रिया अघि बढिरहेको बताए ।
‘सार्वजनिक खरिद ऐन र नियमावली संशोधन भयो । अब निर्माण ऐन संशोधनका लागि पहल भइरहेको छ । हामीले सरकारसँग सकारात्मक रुपमा पहल गरेर व्यवसायीक हित र देशको विकासलाई अगाडी बढाउनुपर्छ । हाम्रो नेतृत्व त्यसैका लागि क्रियाशील छ । हाम्रो कार्यकालमा कुनै पनि व्यवसायीले शीर निहुराउनुपर्ने अवस्था आउने छैन् । तर सबै व्यवसायीहरुलाई यो छातामा समेट्न सरकार र व्यवसायीसँग समन्वय गर्नु आवश्यक छ,’ उनले भने ।
उनले निर्माण व्यवसायीलाई राज्यको विकास साझेदारका रूपमा हेर्नुपर्ने आवश्यकता पनि औँल्याए । समयमै भुक्तानी नहुने, नीतिगत अन्योल, सार्वजनिक खरिद ऐनका जटिल व्यवस्था तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण व्यवसायी समस्यामा परेको उल्लेख गर्दै संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
कर्णालीमा सडक, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य पूर्वाधार निर्माणमा स्थानीय निर्माण व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उनले क्षमता अभिवृद्धि, प्रविधिको प्रयोग र गुणस्तरीय निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । सोमबारदेखि सुर्खेतस्थित शुभ होटलमा सुरु भएको महासंघको ७औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा अन्य वक्ताले वर्तमान नेतृत्वले सय दिनमा गरेका कामको प्रशंसा गरेका थिए ।
कार्यक्रममा कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव मानव बमले वर्तमान सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेपछि कर्णालीको विकास निर्माणले गति लिएको बताए । महासंघको वर्तमान नेतृत्व र सरकारको सकारात्मक पहलका कारण मुलुकभर रुग्ण अवस्थामा रहेका विकास आयोजना अघि बढिरहेको उनको भनाइ थियो ।






