पाक्नुअघि नै बजारमा जुम्ली स्याउ

गाेल्डेन बुढा

जुम्ला,१४ साउन ।

जुम्लामा पाक्न बाँकी स्याउ बगैंचाबाट बजारतर्फ जान थालेपछि पहिचान बनेको जुम्ली स्याउको ब्रान्ड नै जोखिममा परेको छ। सामान्यतया भदौको पहिलो सातापछि मात्रै टिप्नुपर्ने स्याउ यस वर्ष करिब एक महिना अगावै बजार पठाउन थालिएको हो। कृषि प्राविधिकहरूले यसलाई गुणस्तरमाथिको गम्भीर चुनौती भनेका छन् भने स्थानीय प्रशासनले पनि समयअघि स्याउ निर्यात नगर्न आग्रह गरेको छ।हरेक वर्ष वर्षायाम लाग्नासाथ कर्णाली राजमार्ग पहिरोले अवरुद्ध हुन्छ। स्याउ पाक्ने समय र सडक बन्द हुने समय लगभग एउटै पर्छ। बजारसम्म पुग्ने निश्चितता हुँदैन।

जुम्लामा उत्पादन भण्डारण गर्न पर्याप्त कोल्डस्टोर छैन। मूल्य स्थिर राख्ने सरकारी संयन्त्र छैन। यही अनिश्चितताले किसानलाई पाक्न बाँकी स्याउ नै टिपेर बजार पठाउन बाध्य बनाएको हो।जुम्लाको चन्दननाथ नगरपालिका–८ र ९ का बगैंचामा अहिले काँचो स्याउ टिप्ने र प्याकिङ गर्ने काम भइरहेको छ। नगरपालिकाको कृषि शाखाले अनुगमनका क्रममा उपकरणबाट गुणस्तर परीक्षण गर्दा स्याउमा आवश्यक रङ, स्वाद र परिपक्वता नआएको पाइएको छ। टोलीले किसानलाई तत्काल काँचो स्याउ बजार नपठाउन आग्रह गरेको छ। हिमा गाउँपालिका–३ माेफ्ला गाउँका किसान गोपाल रोकाया भन्छन्, “अहिले स्याउ टिप्ने बेला नै भएको छैन। स्वाद अझै टर्रो छ, आकार सानो छ र रङ पनि हरियो नै छ। यस्तो स्याउ बजारमा पुग्दा जुम्ली स्याउको गुणस्तर खस्किन्छ। पूर्ण रूपमा पाकेपछि मात्रै निर्यात हुनुपर्छ।”तर किसान र व्यापारीको तर्क फरक छ। उनीहरू भन्छन्, ढिलो गर्दा भारत र चीनबाट आयात हुने स्याउले बजार ओगट्छ। त्यसमाथि कर्णाली राजमार्ग बन्द भयो भने उत्पादन बगैंचामै थन्किन्छ। त्यसैले जोखिम मोलेरै भए पनि सिजन सुरु नहुँदै बजार समाउनुपर्ने अवस्था आएको हो। यता चन्दननाथ नगरपालिका –९ का वडाध्यक्ष भीमबहादुर रावलले काँचो स्याउको निकासी रोक्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय सुरु भएको जानकारी दिए। उनका अनुसार स्थानीय सरकार, कृषि कार्यालय, व्यापारी र सरोकारवालासँग संयुक्त छलफलको तयारी भइरहेको छ। कर्णाली राजमार्गका लाम्रा, कुडारी, रारालिही र नाग्म प्रहरी चौकीलाई पनि काँचो स्याउ ढुवानी रोक्न अनुरोध गरिएको छ।यस्तै प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जुम्लाभर एउटै नीति लागू हुनुपर्ने बताए।

“अहिले स्याउ निर्यात गर्नु उपयुक्त होइन। वडाले मनपरी सिफारिस दिनु हुँदैन। कलिलो स्याउ बजारमा जाँदा जुम्ली स्याउको ब्रान्ड नै बिग्रन्छ,” उनले भने।जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले भदौको पहिलो सातापछि मात्रै स्याउ टिप्न उपयुक्त हुने बताए। उनका अनुसार न्यूनतम मूल्य निर्धारणको प्रक्रिया चलिरहेको छ। “जुम्ली स्याउको आफ्नै पहिचान छ। त्यो जोगाउन पूर्ण रूपमा पाकेको स्याउ मात्रै बजारमा जानुपर्छ,” उनले भने।जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा करिब ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। हजारौँ परिवारको आयको आधार बनेको यही स्याउ अहिले आफ्नै उत्पादन प्रणालीको कमजोरीसँग जुधिरहेको छ। अब किसानले काँचो स्याउ किन टिपे भन्ने मात्र होइन। वर्षौँ लगाएर बनाएको जुम्ली स्याउको ब्रान्ड जोगाउने जिम्मेवारी कसको हो भन्ने पनि हो। यदि सडक, भण्डारण, बजार र मूल्य व्यवस्थापनमा राज्यले समयमै हस्तक्षेप गर्न सकेन भने जुम्ली स्याउको पहिचानलाई सबैभन्दा ठूलो क्षति किसानले होइन, नीतिगत कमजोरीले पुर्‍याउनेछ।

पाक्नुअघि नै बजारमा जुम्ली स्याउ

पाक्नुअघि नै बजारमा जुम्ली स्याउ

Leave a comment

Your email address will not be published. Required fields are marked *