जुम्लामा संयुक्त रूपमा महोत्सव हुने

गाेल्डेन बुढा

जुम्ला,१४ साउन।
साउन ८ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्यसमिति जुम्लाले होटल दौंतरीमा पत्रकार भेटघाट आयोजना गर्दै ‘दोस्रो बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८३’ को तयारी सार्वजनिक गर्‍यो। पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले महोत्सवका लागि आवश्यक अधिकांश प्रशासनिक प्रक्रिया, कानुनी तयारी र कागजी काम पूरा भइसकेको जानकारी दिए।उनका अनुसार महोत्सव जुम्लाको मौलिक कला, संस्कृति, कृषि, पर्यटन र स्थानीय व्यापारलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने साझा अभियान हो। प्रतिष्ठानले चन्दननाथ नगरपालिका–५ बाट सिफारिस प्राप्त गरिसकेको, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक प्रक्रिया अघि बढाइसकेको तथा जिल्ला प्रहरी कार्यालयमा सुरक्षा व्यवस्थाका लागि पत्राचार गरिसकेको जानकारी दिँदै यस वर्ष महोत्सव सञ्चालनका लागि सम्बन्धित सबै पक्षको सहयोग अपेक्षा गरेको थियो।प्रतिष्ठानले जुम्लाको सदरमुकाम खलंगास्थित राजासिममा आगामी भदौ ७ देखि १६ गतेसम्म महोत्सव सञ्चालन गर्ने घोषणा गर्‍यो।

प्रवेश शुल्क प्रतिव्यक्ति १ सय ५० रुपैयाँ निर्धारण गरिएको जानकारी पनि सार्वजनिक गरियो।तर, दुई दिन नबित्दै साउन १० गते उद्योग वाणिज्य संघ जुम्लाले पनि पत्रकार सम्मेलन गर्दै ‘कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव–२०८३’ आयोजना गर्ने घोषणा गर्‍यो। संघका अध्यक्ष दिलबहादुर रोकायाले साउन २२ देखि भदौ ५ गतेसम्म महोत्सव सञ्चालन गर्ने मिति सार्वजनिक गरे।त्यहीँबाट जुम्लामा महोत्सवभन्दा ठूलो बहस सुरु भयो।दुवै संस्थाले महोत्सव सञ्चालन गर्ने स्थान एउटै रोजे।जुम्लाको चन्दननाथ नगरपालिका–५ को राजासिम मैदान,नाम फरक भए पनि उद्देश्य उस्तै थियो। एउटा ‘कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव’, अर्को ‘कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव’। समय फरक भए पनि महिना एउटै, स्थान एउटै, प्रकृति एउटै। त्यसपछि प्रश्न उठ्न थाल्यो,एउटै जिल्लामा एउटै प्रकृतिका दुई महोत्सवलाई प्रशासनले कसरी व्यवस्थापन गर्ने ?यसैबीच उद्योग वाणिज्य संघले सार्वजनिक गरेको कलाकारहरूको सूचीमा जुम्लाका स्थानीय कलाकार समावेश नगरिएको भन्दै सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म व्यापक आलोचना भयो। महोत्सव स्थानीय प्रतिभालाई प्राथमिकता दिने कि बाहिरी कलाकार केन्द्रित हुने भन्ने बहसले पनि थप चर्चा पायो।बढ्दो विवादबीच साउन ११ गते बिहान राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र उद्योग वाणिज्य संघका पदाधिकारीबीच छलफल भयो। तर, बैठक निष्कर्षविहीन बन्यो। दुवै पक्ष आफ्नै अडानमा देखिए।त्यसपछि स्थानीय नागरिक, बुद्धिजीवी, व्यवसायी र सरोकारवालाले छुट्टाछुट्टै महोत्सवले जिल्लाभित्र अनावश्यक प्रतिस्पर्धा, आर्थिक भार र व्यवस्थापनमा जटिलता निम्त्याउने भन्दै एउटै महोत्सव सञ्चालन गर्न सार्वजनिक रूपमा सुझाव दिन थाले।चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष विर्खबहादुर कार्कीले दुवै संस्थाले वडाबाट सिफारिस लिएको पुष्टि गर्दै भने, “सेवाग्राही आएपछि वडाले सिफारिस नदिने कुरा हुँदैन। तर आयोजक आफैंले दुईवटा महोत्सव सञ्चालन गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने विषयमा विचार गर्नुपर्ने हो। समन्वय गरेर एउटै महोत्सव गर्नु नै जिल्लाको हितमा हुन्छ।”स्थानीय तहबाट आएको यही सन्देश र जनस्तरबाट बढेको दबाब अन्ततः निर्णायक बन्यो।श्रावण १३ गते दुवै संस्थाबीच भएको छलफलले सहआयोजनाको बाटो खोल्यो। त्यसको भोलिपल्ट अर्थात् साउन १४ गते बिहीबार विहान उद्योग वाणिज्य संघ जुम्ला र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जुम्ला शाखाले संयुक्त पत्रकार सम्मेलन गर्दै एउटै महोत्सव सञ्चालन गर्ने सहमति सार्वजनिक गरे।प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले संयुक्त आयोजनाले जिल्लामा सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै कला, संस्कृति, कृषि, पर्यटन र व्यापार प्रवर्द्धनमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे।सहमतिअनुसार महोत्सवमा खुलातर्फ प्रतिव्यक्ति २ सय रुपैयाँ तथा बालबालिका र ज्येष्ठ नागरिकका लागि १ सय ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। महोत्सव आयोजना हुने अन्तिम मिति भने दुवै संस्थाको संयुक्त निर्णयपछि सार्वजनिक गरिने उद्योग वाणिज्य संघका अध्यक्ष दिलबहादुर रोकायाले जानकारी दिए।

जुम्लामा संयुक्त रूपमा महोत्सव हुने

डुडुवामा भूमिहीनको लगत अद्यावधिक अभियान सुरु, वडा–वडाबाट

जुम्लामा संयुक्त रूपमा महोत्सव हुने

सिंजाको कोटेसाँघुमा नयाँ पुल निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *